१७ वैशाख, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
गाउँपालिकाले तेस्रो पटकमा बिहीबार एकैदिन ११६ जनालाई कोषमा आबद्ध गराएको पालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आबद्धता भएका स्वयंसेविका र श्रमिकलाई परिचय पत्र वितरण गरेका छन् ।
मुख्यमन्त्री बानियाँले गरिखाने मेहनती वर्गको सुरक्षाका लागि कोषमा आबद्ध गराउने प्रदेशका पालिकालाई ५० प्रतिशत सहयोग पुग्ने गरी आगामी नीति र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
स्वयंसेविका र श्रमिकलाई कोषमा आबद्ध गराउन पालिकाले यो वर्ष ३० लाख बजेट बिनियोजन गरेको थियो । गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा १३ लाख बजेट विनियोजन गरेको थियो ।

श्रमिकको हक संरक्षणका लागि गाउँपालिकाले दायित्व लिएको अध्यक्ष हिदम लामाले बताए । उनका अनुसार पालिकाले हालसम्म ३ सय ११ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ ।
कोषका अनुसार ९ वटा पालिकाबाट हालसम्म आबद्ध भएका ९९५ अनौपचारिक श्रमिकमध्ये भीमफेदीका सबैभन्दा धेरै हुन् । भीमफेदीसहित फेदीखोला गाउँपालिका, बाँसगढी नगरपालिका, बिरुवा गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका, माग्दे गाउँपालिका, प्युठान नगरपालिका, ताराखोला गाउँपालिका र बेलबारी नगरपालिकाले आफ्ना अनौपचारिक श्रमिकलाई कोषमा आबद्ध गराएको जनाइएको छ ।
भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो स्थानीय तह हो ।
यो पालिकाले २०८० र ०८१ मा गरेर यहाँ कार्यरत एकसय ९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । कोषमा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् ।
औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक आधारभूत पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९.३७ प्रतिशत थप गरी कुल २० दशमलव ३७ प्रतिशत अर्थात मासिक दुई हजार ४७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको अध्यक्ष लामाले जनाए ।
श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सेवा सुविधा प्राप्त गर्नेछन् ।
पहिले उपचारमा करिब १० हजार रुपैयाँसम्म खर्च हुने अवस्था रहे पनि अहिले कोषमा आवद्ध भएपछि करिब २ हजार रुपैयाँमै उपचार सम्भव भएको सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुरको अनुभव छ ।
भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।
प्रतिक्रिया 4