+

आईपीएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

२०८३ वैशाख  २३ गते १४:०९ २०८३ वैशाख २३ गते १४:०९
आईपीएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ।
  • प्लेअफ अन्तर्गत क्वालिफायर १ मे २६ धर्मशालामा, इलिमिनेटर मे २७ चण्डीगढमा हुनेछ।
  • फाइनल मे ३१ अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ।

२३ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ ।

आईपीएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेल मात्र बाँकी छन् । यसअघि लिग चरणसम्मको तालिका सार्वजनिक भएकामा अब प्लेअफको तालिका पनि सार्वजनिक भएको हो ।

प्लेअफ अन्तर्गत शीर्ष दुई टोलीबीचको क्वालिफायर १ मे २६ मा हिमाचल प्रदेश क्रिकेट स्टेडियम धर्मशालामा हुनेछ, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।

त्यसपछि तेस्रो र चौथो स्थानमा रहेका टोलीबीचको एलिमिनेटर मे २७ मा चण्डीगढस्थित न्यु पीसीए अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

यही मैदानमा मे २९ मा क्वालिफायर २ खेलाइनेछ, जहाँ क्वालिफायर १ को पराजित टोली र एलिमिनेटरको विजेता टोलीबीच फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल भने मे ३१ मा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ । धर्मशाला र चण्डीगढ दुवै पन्जाब किङ्सको घरेलु मैदान हो भने नरेन्द्र मोदी स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो ।

यस सिजन विशेष परिस्थितिका कारण प्लेअफ खेलहरू तीन फरक मैदानमा सञ्चालन गरिने जनाइएको छ । यसअघि फाइनल बेंगलुरुमा हुने तय भए पनि स्थानीय निकाय र व्यवस्थापनसम्बन्धी कारणले स्थान परिवर्तन गरी अहमदाबाद सारिएको बीसीसीआईले जनाएको छ ।

प्लेअफ तालिका

पहिलो क्‍वालिफायर : मे २६ (धर्मशाला)
इलिमिनेटर : मे २७ (चण्डीगढ)
दोस्रो क्‍वालिफायर : मे २९ (चण्डीगढ)
फाइनल : मे ३१ (अहमदाबाद)

आईपीएल २०२६ नरेन्द्र मोदी स्टेडियम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय