News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डमा वस्तु तथा सेवा कर (भ्याट)लाई फराकिलो आधारमा एकल दर १५ प्रतिशतमा लागु गरिएको छ र करदाताको दर्ता सीमा न्युजिल्यान्ड डलर ६० हजार कायम गरिएको छ।
- नेपालले प्रारम्भमा न्युजिल्यान्डको भ्याट प्रणालीलाई आधार मानेर १० प्रतिशत एकल दर र २० लाख रुपैयाँ दर्ता सीमा सहित भ्याट लागु गरेको थियो।
- नेपालमा भ्याट सुधारका लागि छुटहरू हटाउने, एउटै दर्ता सीमा कायम गर्ने, कर कट्टी र फिर्ता प्रणाली प्रभावकारी बनाउने र विद्युतीय बिजक प्रणाली विस्तार गर्ने आवश्यक छ।
कुनै देशमा मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्दा वा विद्यमान भ्याट प्रणालीमा सुधार गर्दा न्युजिल्यान्डमा वस्तु तथा सेवा करको नाममा लागु गरिएको भ्याटको अध्ययन गर्नु उपयोगी हुन्छ । सुरुदेखि नै न्युजिल्यान्डमा भ्याटलाई फराकिलो आधारमा एकल दरमा लागु गरिएको छ, वस्तु तथा सेवा दुवैका लागि समान दर्ता सीमा कायम गरिएको छ ।
हाल कर छुट केवल वित्तीय सेवाहरू, आवासीय भाडा, परोपकारी संस्थाद्वारा दान गरिएका वस्तुहरू तथा बहुमूल्य धातुहरू जस्ता पाँचवटा वस्तु तथा सेवामा मात्र दिइएको छ भने दर्ता सीमा न्युजिल्यान्ड डलर ६० हजार (नेपाली रुपैयाँ ५३ लाख) कायम गरिएको छ र करको दर १५ प्रतिशत छ ।
न्यूनतम् छुट, फराकिलो आधार, एकल दर तथा वस्तु र सेवा दुवैका लागि समान दर्ता सीमा भएका कारण यो कर प्रशासन गर्न अत्यन्त सजिलो भएको छ । यो आर्थिक दृष्टिले सक्षम (तटस्थ) छ, अनुपालन उच्च छ, चुहावट न्यून छ र राजस्व सङ्कलन प्रभावकारी छ । यस करबाट न्युजिल्यान्डको कुल कर राजस्वको करिब एकतिहाइ र कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत जति राजस्व सङ्कलन हुन्छ, जुन विकसित देशको सन्दर्भमा निकै उत्साहजनक हो ।
यी कारणहरूले गर्दा यस करलाई केवल सैद्धान्तिक नमुना मात्र नभई व्यावहारिक रूपमा पनि उत्कृष्ट अभ्यासको उदाहरण मानिन्छ । प्रत्येक वर्ष विश्वभरका कर प्रशासक, नीतिनिर्माता तथा प्राज्ञहरू यस प्रणालीको अध्ययन गर्न न्युजिल्यान्ड जाने गर्दछन् । नेपालको अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागका पदाधिकारीहरूले पनि यस उद्देश्यका लागि न्युजिल्यान्ड भ्रमण गरेका थिए ।
नेपालले पनि प्रारम्भमा आफ्नो भ्याट प्रणालीको तर्जुमा गर्दा न्युजिल्यान्डको दृष्टिकोण पछ्याउने प्रयास गरेको थियो । १० प्रतिशतको एकल दर अपनाइएको थियो, वस्तु तथा सेवा दुवैका लागि २० लाख रुपैयाँको समान दर्ता सीमा कायम गरिएको थियो र कर छुटहरू सीमित राखी तिनीहरूलाई क्रमशः घटाउँदै करको आधार विस्तार गर्ने नीति अपनाइएको थियो । साथै भ्याटको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको कर फिर्ता प्रणालीको संरचना पनि अब्बल थियो ।
सुरुमा भ्याटको कार्यान्वयन पनि राम्रो थियो । भ्याट राजस्वको वार्षिक औसत वृद्धिदर १८ प्रतिशतको हाराहारीमा थियो भने भ्याट राजस्व कुल कर राजस्वको एकतिहाइ जति र कुल गार्हस्थ्य उत्पादनको सात प्रतिशत जति पुगेको थियो ।
यसरी करको राम्रो संरचना र प्रभावकारी कार्यान्वयनका कारण बङ्गलादेश, जान्जिबार र जाम्बियालगायतका देशका कर प्रशासकहरू नेपालको भ्याट प्रणाली अध्ययन गर्न आएका थिए । भारतका सिक्किम र पश्चिम बङ्गाल राज्यका कर प्रशासकहरूले पनि नेपालको भ्याटको अध्ययन गर्न नेपाल भ्रमण गर्ने योजना बनाएका थिए तर त्यस समयमा भारतले लगाएको नाकाबन्दीका कारण ती भ्रमणहरू हुन सकेनन् ।
तर, नेपालमा भ्याट लागु भएको केही वर्षपछि विभिन्न विचलनहरू देखा परे । विभिन्न बहानामा कर छुट दिइने वस्तु तथा सेवाको सूची उल्लेखनीय रूपमा बढाइयो, विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा कर छुट दिने प्रचलन सुरु भयो र वस्तु तथा सेवाका लागि छुट्टाछुट्टै दर्ता सीमा कायम गरियो । साथै, भ्याटको प्रभावकारी कार्यान्वयनको मेरुदण्ड मानिने कर बिजक जारी गर्ने र लिने प्रचलनलाई सुदृढ बनाउने पर्याप्त प्रयास गरिएन । कर फिर्ता प्रणालीलाई पनि प्रभावकारी बनाइएन । फलस्वरूप भ्याट कार्यान्वयनको प्रभावकारिता कमजोर हुँदै गयो ।
भ्याट सुधारको आवश्यकता
भ्याट नेपालको राजस्वको मूल स्रोत हो । भविष्यमा न्यून आर्थिक लागतमा बढी राजस्व सङ्कलन गर्ने सम्भावना भएको कर पनि यही भएकाले हाम्रो राजस्व बढाउनका लागि यस करमा सुधार गर्न अपरिहार्य भएको छ ।
भ्याट एक स्वनियन्त्रित कर हो, जसमा वस्तु तथा सेवाको न्यून वा अधिक बिजकीकरण गरेर कर छल्न गाह्रो हुन्छ । किनकि- कर छल्ने उद्देश्यले बिक्रेताले वस्तुको वास्तविक बिक्री मूल्यभन्दा कम मूल्यको बिल जारी गरेमा खरिदकर्ताको कर कट्टी गर्न पाउने रकम कम हुने भएकाले त्यस्तो बिजक खरिदकर्ताको लागि स्वीकार्य हुँदैन । अर्कोतर्फ, खरिदकर्ताले वस्तु वा सेवाको वास्तविक बिक्री मूल्यभन्दा बढी मूल्यको बिल मागेमा बिक्रेताले अनावश्यक रूपमा बढी कर तिर्नुपर्ने हुँदा बिक्रेताले त्यस्तो बिजक जारी गर्ने कुरा आउँदैन । यसरी वस्तु वा सेवाको वास्तविकभन्दा कम मूल्य देखाएमा खरिदकर्ताको हितविपरीत हुने र बढी मूल्य देखाएमा बिक्रेताको हितविपरीत हुने भएकाले भ्याटअन्तर्गत वस्तु तथा सेवाको मूल्य हेरफेर गरेर कर छल्न गाह्रो हुन्छ भन्ने मान्यता छ ।
अर्कोतर्फ, भ्याटअन्तर्गत पहिलो तहमा कर कम तिरेमा पछिल्लो तहमा कट्टी गर्न पाउने कर कम हुने भएकाले करदाताले बढी कर तिर्नुपर्ने हुँदा राजस्व सङ्कलन कम हुँदैन । यसलाई भ्याटको ‘क्याच-अप-प्रभाव’ भनिन्छ, जसले यस करअन्तर्गत कर छल्ने प्रवृत्ति कम गर्छ ।
यसैगरी भ्याट उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न चरणहरूमा सङ्कलन गरिने हुँदा यसले न्यून बिजकीकरण र तस्करीलाई कम आकर्षक र बढी गाह्रो बनाउँछ । साथै भ्याटले अडिट ट्रेल प्रदान गर्ने हुँदा यसले कर कार्यान्वयनलाई प्रभावकारी बनाउँछ ।
भ्याटका यी विभिन्न विशेषताले गर्दा यस करको कार्यान्वयनले भ्याट राजस्व मात्र नभई भन्सार महसुल, अन्तःशुल्क तथा आयकरबाट पनि बढी राजस्व सङ्कलन गर्न सहयोग पुग्दछ ।
यसैगरी अनौपचारिक क्षेत्रका करको दायरामा नआएका साना बिक्रेताको खरिदमा पनि भ्याट लाग्ने भएकाले त्यसबाट पनि राजस्व सङ्कलन हुन्छ । आर्थिक विकासको क्रममा उनीहरूको कारोबार वृद्धि भएपछि कर कट्टीको सुविधा लिनसमेत उनीहरू करको दायराभित्र आउँदै जाने हुँदा करको दायरा विस्तार भई राजस्व स्वतः बढ्दै जाने हुन्छ र त्यसबाट व्यापक आर्थिक स्थायित्व कायम गर्न मद्दत पुग्दछ ।
भ्याट राजस्व सङ्कलनको हिसाबले मात्र नभई आर्थिक वृद्धि तथा निकासी प्रवर्द्धनका हिसाबले पनि महत्त्वपूर्ण छ । भ्याटका कर कट्टी तथा कर फिर्ता व्यवस्थाले गर्दा करमाथि कर नलाग्ने हुँदा यस करअन्तर्गत करमाथि कर लागेर ‘क्यासकेडिङ’ हुने समस्या हुँदैन । यसैगरी भ्याटको कर कट्टी तथा कर फिर्ता व्यवस्थाले गर्दा करदाताले तिरेको भ्याट वस्तु वा सेवाको लागतका रूपमा रहँदैन र त्यसमा विभिन्न तहका बिक्रेताले मुनाफा प्रतिशत लगाउनु पर्दैन ।
यसले गर्दा भ्याटमा ‘पिरामिडिङ’ समस्या उत्पन्न नहुने हुँदा करको कारणले अनावश्यक रूपमा उपभोक्ता मूल्य बढ्दैन । साथै भ्याटले लगानी र निकासीलाई करमुक्त गर्ने हुँदा यसले अर्थतन्त्रको लागत बढाउँदैन र स्वदेशी उत्पादनको विदेशी बजारमा प्रतिस्पर्धात्मक क्षमतालाई क्षीण गर्दैन ।
यो कर सक्षम र तटस्थ किसिमले आन्तरिक राजस्व परिचालन गर्न राजस्वका विभिन्न स्रोतहरूमध्ये सबभन्दा बढी सफल करका रूपमा साबित भएको छ । त्यसो हुँदा यसलाई बिसौँ शताब्दीमा वित्तशास्त्रमा भएको सबभन्दा ठूलो अन्वेषणका रूपमा लिइन्छ । यस्तो अवस्था सिर्जना गर्नका लागि भ्याटलाई न्युजिल्यान्डमा जस्तै सही ढङ्गले तर्जुमा गर्नु आवश्यक हुन्छ । भ्याटलाई सही किसिमले तर्जुमा गरिएन भने सफलता नमिल्ने कुरा भारतको अनुभवले देखाउँछ । सन् १९९० को दशकमा भारतका राज्यहरूमध्ये केहीले सीमित वस्तुहरूमा मात्र भ्याट लगाए, केहीले उच्च दर्ता सीमा कायम गरे, केहीले व्यापक छुटहरू प्रदान गरे र केहीले बहुदर लगाए; जसका कारण भ्याटको कार्यान्वयन समस्याग्रस्त भयो ।
त्यस सन्दर्भमा भारतको राज्य सरकारका अर्थसचिवहरूलाई भ्याटका सिद्धान्तहरू र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासबारे स्पष्ट बुझाउन भारतको सङ्घीय अर्थ मन्त्रालयको अनुरोध र विश्व बैङ्कको वित्तीय सहयोगमा हार्वर्ड विश्वविद्यालयले सन् १९९८ को अप्रिल २७ देखि मे १५ सम्म भ्याटका विविध पक्षका बारेमा दुईहप्ते प्रशिक्षण र तेस्रो हप्ता क्यानडाको भ्याटको अध्ययन भ्रमण आयोजना गरेको थियो । त्यस कार्यक्रममा प्रशिक्षकका रूपमा म पनि आमन्त्रित थिएँ र प्रशिक्षणपश्चात् सो कार्यक्रमका सहभागीहरूलाई क्यानडाको भ्याटको अध्ययन भ्रमण गराउने कार्यको संयोजन पनि मैले नै गरेको थिएँ ।
सो कार्यक्रमपश्चात् भारतका प्रदेश सरकारका पदाधिकारी विभिन्न प्रदेशले लगाएको नाम मात्रको भ्याटको सट्टा सही किसिमको भ्याट समन्वित रूपमा लागु गर्न सहमत भए । यस सन्दर्भमा प्रदेशहरूका लागि नमुना भ्याट ऐन तथा नियम तर्जुमा गरियो र प्रदेशहरूले सुधारिएको भ्याट लागु गरे । यसरी हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको भ्याटसम्बन्धी प्रशिक्षण र क्यानडाको भ्याटको अध्ययन भ्रमण भारतमा भ्याट सही किसिमले लगाउन कोसेढुङ्गा साबित भयो ।
त्यसको केही वर्षपछि भारतीय वस्तुगत कर प्रणालीलाई सुधार गर्न सङ्घ र प्रदेशमा छुट्टाछुट्टै भ्याट लगाउनुको सट्टा एउटै भ्याट लगाउने सहमति भयो । त्यसपछि साबिकमा केन्द्र, प्रदेश तथा स्थानीय तहमा लागु गरिएका विभिन्न १७ वस्तुगत करहरू र २३ ‘सेस’ हरूको सट्टा १ जुलाई २०१७ देखि ‘वस्तु तथा सेवा कर’ (जीएसटी) को नामले एउटै भ्याट लगाइयो; जसलाई भारत स्वतन्त्र भएपछिको सबभन्दा ठूलो आर्थिक सुधार कार्यक्रम मानियो ।
तर सङ्घ सरकारले विस्तृत आधारमा एकल दरले भ्याट लगाउन गरेको गृहकार्यअनुरूपको कर विभिन्न कारणले व्यवहारमा लगाउन सकिएन र विभिन्न छुट र बहुदरको भ्याट लागु भयो; जुन आर्थिक दृष्टिकोणले असक्षम र प्रशासनिक हिसाबले जटिल भएकाले व्यवहारमा अनेक समस्या सिर्जना गर्यो । यस क्रममा २२ सेप्टेम्बर २०२५ मा ‘जीएसटी’ का दुई दर मात्र कायम गरी प्रक्रियालाई सरल र सहज बनाइयो । त्यसबाट कर प्रणाली बढी सरल, सहज तथा सक्षम हुन गयो, जसले भारतको अर्थतन्त्रमा ठूलो सकारात्मक असर पार्यो । अर्को सुधार गरेर अन्त्यमा यो कर एकल दरले लागु हुने अपेक्षा गरिएको छ ।
भ्याट सुधारका क्षेत्रहरू
न्युजिल्यान्ड तथा भारतको अनुभवलाई मध्यनजर गर्दै नेपालमा विस्तृत आधारमा एकल दरको भ्याट प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निम्न कदमहरू चाल्नुपर्दछ :
भ्याटका मूल सिद्धान्तहरू र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार यस करलाई सकेसम्म फराकिलो आधारमा एकल दरमा लागु गर्नुपर्छ । प्रारम्भमा मध्यमस्तरको एकल दरमा भ्याट लागु गरिएको भए पनि समयक्रममा विभिन्न बहानामा धेरै वस्तु तथा सेवाहरूलाई छुट दिइएको छ । कर सुधारको क्रममा यस्ता छुटहरू हटाएर करको आधार विस्तार गरिनु आवश्यक छ ।
यसैगरी विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा कर छुट दिने प्रचलनले अनावश्यक रूपमा करदाताको अनुपालन लागत र सरकारको सङ्कलन लागत बढाउने, साथै मिलेमतो र भ्रष्टाचारको सम्भावना बढाउने गर्दछ । त्यसैले राष्ट्रिय दृष्टिकोणले कुनै वस्तु वा सेवामा छुट दिनैपर्ने भएमा त्यस्तो छुटलाई स्पष्ट रूपमा छुट सूचीमा समावेश गरी स्वतः लागु हुने व्यवस्था गर्नुपर्छ र सरकारी निकायको सिफारिसका आधारमा छुट दिने प्रचलन अन्त्य गर्नुपर्छ ।
भ्याटका मूल आधारहरूका रूपमा रहेको कर कट्टी र कर फिर्ता व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । यसको अर्थ करदाताले कर लाग्ने कारोबारसँग सम्बन्धित सम्पूर्ण ‘इनपुट’ हरूमा तिरेको कर समयमै पूर्ण रूपमा कटाउन पाउनुपर्छ । हाल निकासीकर्ताबाहेक अन्य करदाताहरूका लागि आन्तरिक खरिद वा पैठारीमा तिरेको कर बिक्रीमा उठाएको करभन्दा बढी भएमा उक्त रकम पछिल्ला महिनाहरूमा सारिन्छ र चार महिनासम्म मिलान गर्न नसके मात्र फिर्ता माग गर्न पाइन्छ । यसले करदाताको नगद प्रवाहमा नकारात्मक असर पार्ने भएकाले र अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने भएकाले निकासीकर्ता र गैरनिकासीकर्ता दुवैले इनपुट कर आउटपुट करभन्दा बढी भएमा तुरुन्त फिर्ता पाउने व्यवस्था गर्नुपर्छ ।
भ्याट कानुनअनुसार शून्य दर सुविधा पाउन नेपालमा कुनै व्यावसायिक कारोबार, व्यावसायिक प्रतिनिधि वा कानुनी रूपमा मान्यता प्राप्त एजेन्ट नभएको हुनुपर्ने सर्त भ्याटका मूल सिद्धान्तसँग मेल खाँदैन । भ्याट नेपालमा उपभोग भएका वस्तु तथा सेवामा लाग्ने कर हो र नेपालमा एजेन्ट, प्रतिनिधि वा सम्पर्क कार्यालय हुनु मात्रले सेवा नेपालमै उपभोग भएको मानिँदैन । विश्वव्यापी रूपमा स्वीकृत ‘गन्तव्य सिद्धान्त’ सँग मेल नखाने भएकाले यस प्रावधानलाई हटाई “नेपालबाहिर आपूर्ति हुने सेवाहरूमा शून्य दर लागु हुने” भन्ने स्पष्ट व्यवस्था गर्नुपर्छ ।
कर फिर्ता व्यवस्था अत्यन्त सरल, सहज, छिटो र प्रभावकारी हुनुपर्छ । इमानदार करदाताले पाउनुपर्ने फिर्ता रकमभन्दा एक रुपैयाँ पनि कम पाउनु हुँदैन र बेइमान करदाताले पाउनुपर्ने भन्दा एक रुपैयाँ पनि बढी पाउनु हुँदैन ।
फिर्ता पाउने भ्याटलाई अन्य कर दायित्वसँग मिलान गर्न सक्ने व्यवस्था पनि हुनुपर्छ । कानुनले तोकेको अवधिभित्र फिर्ता नदिइएमा करदातालाई वार्षिक १५ प्रतिशतका दरले ब्याज प्रदान गर्नुपर्छ ।
कर फिर्ता प्रणाली पूर्ण रूपमा स्वचालित बनाइनुपर्छ । यस्तो प्रणालीमा करदाताले राजस्व कार्यालय जानुपर्ने आवश्यकता नपर्ने, आफ्नो फिर्ता दाबीको अवस्था अनलाइनमार्फत जाँच गर्न सक्ने र फिर्ता रकम सिधै बैङ्क खातामा जम्मा हुने व्यवस्था हुनुपर्छ ।
भ्याट गन्तव्य सिद्धान्तमा आधारित भएकोले विदेशी पर्यटकहरूले खरिद गरी नेपालबाहिर लग्ने सामानमा लागेको कर फिर्ता गर्ने प्रभावकारी व्यवस्था लागु गर्नुपर्छ । साथै, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वैदेशिक सहायताअन्तर्गत सञ्चालित आयोजनाहरूले पाउनुपर्ने भ्याट फिर्ता पनि सरल, सहज र छिटो रूपमा उपलब्ध गराउनुपर्छ ।
अर्कोतर्फ, सरकारी निकाय तथा संस्थाहरूले ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा भ्याटको ३० प्रतिशत रकम सिधै राजस्व खातामा जम्मा गर्ने व्यवस्था भ्याटको मूल सिद्धान्त र अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल नखाने भएकाले यसलाई खारेज गर्नुपर्छ ।
यसका साथै, वस्तु तथा सेवा दुवैका लागि एउटै दर्ता सीमा कायम गर्ने अन्तर्राष्ट्रिय अभ्यास नेपालका लागि पनि सान्दर्भिक भएकाले त्यसलाई अपनाउनुपर्दछ र मुद्रास्फीतिका आधारमा समय-समयमा उक्त सीमा समायोजन गर्नुपर्छ ।
विश्वव्यापी रूपमा सन् १९७० को दशकदेखि विभिन्न नाममा लाग्दै आएका धेरै वस्तुगत करहरूको सट्टा एउटै भ्याट लागु गर्ने अभ्यास रहेको छ । तर पछिल्ला वर्षहरूमा नेपालमा विलासी कर, प्रदूषण नियन्त्रण शुल्क, हरित कर, पूर्वाधार विकास कर, वैदेशिक पर्यटन शुल्क, सडक निर्माण दस्तुर र सडक मर्मत तथा सुधार दस्तुरजस्ता धेरै साना-साना करहरू लगाइएका छन्, जुन अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाँदैनन् । त्यसैले यस्ता करहरू खारेज गरी भ्याटको आधार विस्तार गर्नुपर्छ ।
प्रभावकारी भ्याट कार्यान्वयनका लागि सही किसिमको बिल लिने-दिने प्रचलन अत्यन्त महत्त्वपूर्ण भए पनि नेपालमा भ्याट लागु भएको २८ वर्ष बितिसक्दा पनि यस्तो संस्कृति स्थापित हुन सकेको छैन । केही बिक्रेताले बिल दिँदैनन्, केहीले सही बिल दिँदैनन् र केहीले बिल माग्दा १३ प्रतिशत अतिरिक्त रकम तिर्नुपर्ने बताउँछन् ।
बिलसम्बन्धी समस्या अहिले भ्याट कार्यान्वयनको सबैभन्दा ठूलो चुनौती हो । त्यसैले प्रोत्साहनात्मक तथा दण्डात्मक उपायहरू अपनाई बजारमा कर प्रशासनको उपस्थिति बढाएर सही बिल लिने-दिने व्यवस्था कायम गर्नुपर्छ । नक्कली बिल जारी गर्ने, बिल नदिने, गलत बिल दिने वा बिल माग्दा बढी मूल्य लिनेलाई कडा कारबाही गर्नुका साथै यस्ता गतिविधिविरुद्ध सामाजिक दबाब सिर्जना गर्नुपर्छ ।
सही बिल दिने-लिने प्रणाली स्थापना गर्न रुवान्डालगायतका देशहरूमा ‘विद्युतीय बिजक प्रणाली’ प्रभावकारी सिद्ध भएको छ । यस प्रणालीबाट कर प्रशासनले करदाताको कारोबारसम्बन्धी सूचना वास्तविक समयमा प्राप्त गर्न सक्छ; जसले बिल जारी भए-नभएको अनुगमन गर्न सजिलो बनाउँछ र करदाता तथा कर प्रशासकबीचको प्रत्यक्ष सम्पर्क घटाई मिलेमतोको सम्भावना कम गर्छ ।
हाम्रो आन्तरिक राजस्व विभागले पनि विद्युतीय बिजक प्रणालीको प्रयोगलाई प्रवर्द्धन गरिरहेको छ । यसका लागि विभागले विद्युतीय बिलिङसम्बन्धी कार्यविधि तयार गरेको छ । करिब एक हजार सफ्टवेयर प्रदायकहरूले विद्युतीय बिलिङ सफ्टवेयर विकास गरी विभागमा दर्ता गराएका छन् । करदाताहरूले तीमध्ये कुनै एक सफ्टवेयर छनोट गरी विभागबाट स्वीकृति लिएर विद्युतीय बिजक जारी गर्न सक्छन् ।
हाल वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै करदाताहरू तथा ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने होटल, रेस्टुरेन्ट र सिनेमा हलहरूले अनिवार्य रूपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था छ । यिनीहरूमध्ये २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने करदाताहरू ‘केन्द्रीय बिजक अनुगमन प्रणाली’ मा आबद्ध हुनुपर्छ । हाल करिब ९ हजार करदाताहरू यस प्रणालीमा आबद्ध छन् र तिनीहरूको कारोबारसम्बन्धी विवरण आन्तरिक राजस्व विभागले वास्तविक समयमा प्राप्त गर्दछ । यस प्रणालीको प्रयोग विस्तार गर्दै बढीभन्दा बढी करदातालाई आबद्ध गरिएमा विभागले कार्यालयबाटै बिल जारी भए-नभएको, कति खरिद, कति बिक्री र कति मौज्दात छ भन्ने निगरानी गर्न सक्नेछ ।
निष्कर्ष
भ्याट नेपालमा सरकारको राजस्वको मुख्य स्रोत हो र आगामी वर्षहरूमा देशको विकासका लागि आवश्यक थप राजस्व परिचालन गर्ने ठूलो सम्भावना भएको कर पनि यही हो । आर्थिक गतिविधिहरू विस्तार हुँदै जाँदा भ्याटको आधार स्वाभाविक रूपमा फराकिलो बन्दै जान्छ, जसले राजस्व वृद्धि गर्छ । यसले बजेट घाटा घटाउन र सार्वजनिक ऋण नियन्त्रण गर्न मद्दत पुर्याउँछ, जसबाट सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ बनाउन सहयोग पुग्छ ।
त्यसैले भ्याटमा विद्यमान समस्याहरू समाधान गर्दै यसलाई व्यवहारमा सही र प्रभावकारी रूपमा कार्यान्वयन गरी कुल कर राजस्वको करिब ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको करिब ८ प्रतिशत राजस्व भ्याटबाट परिचालन गर्ने नीति अवलम्बन गर्नुपर्छ ।
(डा. खड्का करविज्ञ हुन् ।)
प्रतिक्रिया 4