News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुगेको छ।
- यस अवधिमा ७२८ कम्पनीमार्फत एफडीआई स्वीकृत भएको छ, जसमा १९५ अप्रुभल रुट र ५३३ अटोमेटिक रुटबाट दर्ता भएका छन्।
- सूचना प्रविधिमा सबैभन्दा धेरै कम्पनी दर्ता भएका छन्, कुल ५८ प्रतिशत उद्योग सो क्षेत्रमा दर्ता भएका छन्।
३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ४५ अर्ब माथि आएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो ।
यस अवधिमा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ५५ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । वैशाख २०८३ मा मात्र ३ अर्ब ५२ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको देखिन्छ ।
१० महिनामा सो लगानी प्रतिवद्धता कुल ७२८ कम्पनीमार्फत आएको हो । १९५ कम्पनी अप्रुभल रुट र ५३३ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका थिए । वैशाखमा मात्र ११३ कम्पनी दर्ता भएको उद्योग विभागले जनाएको छ ।
यस वर्ष ९ वटा मात्र ठूला कम्पनी दर्ता भएका छन् । ८ मझौला र ७११ कम्पनी साना प्रकृतिका छन् । वैशाखमा एउटा मात्र ठूलो र बाँकी ११२ कम्पनी साना प्रकृतिका दर्ता भएका छन् । यस वर्ष दर्ता भएका यी कम्पनीबाट कुल २३ हजार ५३० रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ ।
उद्योग विभागका अनुसार यस वर्ष सूचना प्रविधिमा सबैभन्दा धेरै कम्पनी दर्ता भएका छन् । कुल ५८ प्रतिशत उद्योग सो क्षेत्रमा दर्ता भएका छन् । जुन संख्याका हिसावले ४२१ हो । पर्यटनमा १८९, उत्पादनमा ४२, सेवामा ५५ वटा उद्योग दर्ता भएका छन् ।
कृषिमा १६, खानीमा पूर्वाधारमा एक उद्योग दर्ता भएको देखिन्छ । यस वर्ष साउनमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको थियो । भदौको जेनजी आन्दोलनपछि ह्वात्तै ओरालो लागेको लगानी प्रतिवद्धता आउने क्रम आम निर्वाचन र नयाँ सरकार गठनपछि भने केही बढ्दो क्रममा रहेको देखिन्छ ।
प्रतिक्रिया 4