+
+
Shares
ब्लग :

साँच्ची, म सुकुमवासी कि हुकुमवासी रे ?

सामाजिक सञ्जालले मलाई सुकुमवासी मात्र बनाएन, ‘हुकुमवासी’ बनाउँदै थप कथाहरू पनि बुन्यो ।

सृजा गौतम सृजा गौतम
२०८३ जेठ ४ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एउटालाई न्याय दिँदै गर्दा अर्को व्यक्ति अन्यायमा नपरोस् ।
  • सुकुमवासी बस्तीमा बस्नेले अंग्रेजी बोल्नै हुन्न भन्ने कस्तो मानसिकता हो, हाम्रो समाजको !
  • पशुपति क्षेत्र व्यवस्थित गर्ने भनेर जति पनि निर्णय गरिए ती सबै कागजमै सीमित रहे । पटकपटक सरकारसँगै मन्त्री फेरिए, हामीले आश्वासन पाउँदै गयौँ तर समस्या जहाँको त्यहीँ रह्यो ।

गत वैशाख २० गते तिलगंगा क्षेत्रमा बिहानै डोजर चल्यो । त्यस दिन त्यहाँ डोजर चल्नु र घर भत्काइनु अप्रत्यासित थिएन । त्यसअघि नै सुकुमवासी बस्ती हटाउने नाममा काठमाडौँका कैयौँ ठाउँमा पनि डोजर चलिसकेको थियो ।

पशुपति क्षेत्रलाई थप व्यवस्थित गर्न तिलगंगाका स्थानीय बासिन्दाको बस्ती स्थानान्तरण गरिने कुरा पशुपति क्षेत्र विकास कोषकै गुरुयोजनामा समावेश छ ।

सो गुरुयोजनाअनुसार नै घर भत्काइएको हो तर मुअब्जा वितरण नगरीकन, स्थानीयको बस्ती स्थानान्तरण नगरीकन । तर, त्यस दिन तिलगंगा क्षेत्रमा घरमात्र भत्किएनन् । त्यहाँका स्थानीय बासिन्दा अर्थात् हामी सबैको मन पनि भत्कियो ।

घर भत्किँदा सिर्फ इँटा, ढुंगा मात्र भत्किँदैन, घरसँगै अनगन्ती सम्झना, बाल्यकाल, सुख, दु:ख र सपनाहरू पनि एकैपटक भत्किन्छन् ।

सो क्षेत्र मेरा लागि केवल एउटा सामान्य ठाउँ मात्र थिएन, त्यो मेरो बाल्यकालको संसार थियो, मैले आफ्नो सुन्दर भविष्यको कल्पना गरेको धरातल थियो ।

त्यही धरातल नै धूलीसात् भएपछि, इँटा, ढुंगा र माटोमात्र बाँकी रहेको घर हेर्न भोलिपल्ट बिहानै म तिलगंगा पुगेँ । थाहा छैन किन, त्यहाँ पुग्नेबित्तिकै मेरा आँखाहरू रसाए ।

सायद मेरो मस्तिष्कले त्यतिवेला मेरो बाल्यकाल सम्झियो कि ! सायद बाल्यकालमा साथीहरूसँग खेलेको, हजुरबा, हजुरआमा, बाबा, आमाको काखमा लडिबुडी गरेको सारा सम्झनाहरू एकसाथ आँखाबाट पोखिए कि !

आँखाअगाडि हुँदा वास्ता नहुनु, तर नभएपछि त्यही कुरा सबभन्दा प्यारो लाग्नु यो मानवीय स्वभाव नै हो । मलाई पनि त्यही भयो । म विवाहिता छोरी हुँ । छोरी मान्छेलाई माइतीको कुकुर पनि प्यारो लाग्छ भन्छन्, यहाँ मेरो त माइतीको घरकै नामोनिसान थिएन । त्यसमा मन नभत्किनु त कसरी सम्भव थियो र ?

बाँकी रहेका इँटा, ढुंगालाई देखाएर सम्झनाका लागि मैले मोबाइलबाट एउटा सानो भिडियो खिचेँ । म सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा थोरै सक्रिय छु, र त्यो भिडियो मैले त्यहीँ अपलोड गरेँ । छोटो समयमै भिडियो धेरै जनासमक्ष पुग्यो ।

भिडियोमा आएका कमेन्टहरू सम्झियो भने आज पनि मन आक्रोशित हुन्छ, मन रुन्छ, भिडियो किन पोस्ट गरेँ भनेर होइन, मान्छेहरूको मानसिकता देखेर । कताकता दु:ख पनि लाग्छ, हामी कस्तो मानसिकता बोकेर बाँचिरहेका रहेछौँ भनेर ।

भिडियोमा मैले म सुकुमवासी हुँ भनेर एक शब्द पनि बोलेकी थिइनँ, त्यही भिडियोमा कमेन्ट गर्ने मान्छेहरू स्वयंले मलाई ‘सुकुमवासी’ बनाइदिए । ‘सुकुमवासीको हातमा आइफोन’, ‘सुकुमवासीको यस्तो विलासी जीवन’, ‘आइफोन बोक्ने सुकुमवासी’, ‘अंग्रेजी बोल्ने सुकुमवासी’ यस्तै यस्तै सयौँ कमेन्टले भरिएको थियो मेरो पोस्ट ।

कोषका नाममा रहेको गोठाटारस्थित ५३४ रोपनी जग्गामध्ये केही जग्गा छुट्याई, भौतिक पूर्वाधार विकास गरी, प्रतिप्लट कम्तीमा ४ आनामा नघट्ने गरी आवासक्षेत्र विस्तार गर्ने र त्यहाँका प्रभावित घरपरिवारलाई गोठाटारमा पुनर्स्थापना गर्ने निर्णय भएको थियो । तर, त्यो निर्णय कार्यान्वयन नगरीकनै घर भत्काइयो र हामी अन्यायमा पर्‍यौँ ।

सुकुमवासी बस्तीमा बस्नेले अंग्रेजी बोल्नै हुन्न भन्ने कस्तो मानसिकता हो, हाम्रो समाजको !

सामाजिक सञ्जालले मलाई सुकुमवासी मात्र बनाएन, ‘हुकुमवासी’ बनाउदै थप कथाहरू पनि बुन्यो ।

सञ्जालले एकाएक मेरो दाइ अस्ट्रेलियामा हुनुहुन्छ भन्ने भाष्य निर्माण गरिदियो जब कि मेरा बुबाआमाको जेठो सन्तान नै म हुँ । त्यस्तै कलंकी, स्युचाटारमा मेरो घर र अमिलो पाउँवाला कम्पनी पनि भएको निष्कर्ष यो सञ्जालले नै निकालिदियो जब कि मेरो परिवार अहिले पनि गौरीघाटमा भाडाको कोठामा बस्दै छ ।

 परिवार पाल्न वैदेशिक रोजगारीमा बिदेसिनुभएका बुुबा अहिले पनि क्रोएसियामा पसिना बगाउँदै हुनुहुन्छ । यदि आफ्नै कम्पनी र घर हुन्थ्यो भने बुबाले किन विदेशी भूमिमा पसिना बगाउनु पर्थ्यो होला र ? यसरी मलाई सामाजिक सञ्जालले सुकुमवासी र हुकुमवासी एकैपटक बनाइदियो ।

सुकुमवासी होइन भने घर किन भत्कियो त ?

पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजनाअनुसार तिलगंगा आसपासका अधिग्रहण प्रभावित घरपरिवारहरूलाई कोषको पूर्व नीतिअनुसार घडेरी उपलब्ध गराउनुपर्ने व्यवस्था थियो ।

कोषका नाममा रहेको गोठाटारस्थित ५३४ रोपनी जग्गामध्ये केही जग्गा छुट्याई, भौतिक पूर्वाधार विकास गरी, प्रतिप्लट कम्तीमा ४ आनामा नघट्ने गरी आवासक्षेत्र विस्तार गर्ने र त्यहाँका प्रभावित घरपरिवारलाई गोठाटारमा पुनर्स्थापना गर्ने निर्णय भएको थियो । तर, त्यो निर्णय कार्यान्वयन नगरीकनै घर भत्काइयो र हामी अन्यायमा पर्‍यौँ ।

यो समस्या नयाँ होइन, पुरानै हो ।

विगत हेर्ने हो भने २०५१ साल वैशाख २३ गते तत्कालीन संस्कृतिमन्त्री बलबहादुर केसीको कार्यकालमा मन्दिरको गेटअगाडिको बस्तीका जग्गा अधिग्रहण गर्ने र गुरुयोजनाअनुसार ११९ घरलाई स्थानान्तरण गर्ने निर्णय भयो ।

२०७० साल जेठ ३० गते तत्कालीन संस्कृतिमन्त्री रामकुमार श्रेष्ठको कार्यकालमा तिलगंगा क्षेत्रका ७९ घरपरिवारको जग्गा अधिग्रहण गर्ने सूचना जारी भयो र कामकारबाही अघि बढ्यो ।

२०७१ साल असार १ गते तत्कालीन संस्कृतिमन्त्री भीम आचार्यको कार्यकालमा अधिग्रहण प्रभावित परिवारहरूलाई गोठाटारको ५३४ रोपनी जग्गाबाट कित्ताकाट गरी उपलब्ध गराउने निर्णय भयो । यति सबै भन्दै गर्दा हामीले घरको मुआब्जा रकम भने पाइसकेका छौँ । जग्गाको मात्र स्थानान्तरण बाँकी हो ।

पशुपति क्षेत्र व्यवस्थित गर्ने भनेर जति पनि निर्णय गरिए ती सबै कागजमै सीमित रहे । पटकपटक सरकारसँगै मन्त्री फेरिए, हामीले आश्वासन पाउँदै गयौँ तर समस्या जहाँको त्यहीँ रह्यो ।

सुकुमवासी बस्तीका नागरिकहरू वर्षौंदेखि भोटबैंक मात्र बनाइँदै आए । सरकारको कामकारबाहीमा सहयोग गर्दागर्दै आफैँलाई सुकुमवासी बनाइँदा भने मन पोल्नु स्वाभाविकै हो । त्यसमाथि सञ्जालले हुकुमवासी भनेर थप दाग लगाइदिएको छ ।

आशा छ, वर्तमान सरकारले यस समस्यालाई नजिकबाट हेर्नेछ । एउटालाई न्याय दिँदै गर्दा अर्को व्यक्ति अन्यायमा नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?