६ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गरे ।
तर, स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले राज्यको अंकसँग जोडिएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्न सुझाव दिए ।
सञ्चारमाध्यमहरु जवाफदेही पनि हुनुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गरे ।
‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । संविधानले दिएको अधिकार हो । तर, सँगै बुझ्नु पर्ने कुरा के हो भने स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ’, उनले अघि भने, ‘राज्यको अंकको रुपमा स्वीकारेको क्षेत्रले आफ्नो ओजलाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन ।’
उनले सरकारले सञ्चार माध्यमलाई गौरव गर्न लायक बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिवद्धता पनि जाहेर गरे । यसका लागि काम थालिएको उनको भनाइ छ ।
आकस्मिक र शून्य समयमा केही सांसदहरुले सरकारले प्रेसमाथि प्रतिबन्ध लगाउन खोजेको भन्दै प्रश्न गरेका थिए । साथै, केही सांसदहरुले प्रेस काउन्सिललाई प्रभावकारी बनाउन माग गरेका थिए ।
प्रतिक्रिया 4