६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को गरिमालाई अक्षुण्ण राख्न प्रतिबद्ध रहेको बताएका छन् ।
‘हामी संसद्को गरिमालाई सधैँ अक्षुण्ण राख्न प्रतिबद्ध छौँ’, उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘हामी तर्कशील प्रश्नबाट भाग्दैनौं ।’
कतिपय विपक्षी दलका सांसदहरूले संसद्को मर्म, मर्यादा, सम्मान र यसको ऐतिहासिक विरासतविरूद्ध वर्तमान सरकार जान्छ कि भन्ने आशंका गरेको भन्दै उनले थपे, ‘जय सर्वोच्च जनप्रतिनिधि संस्था, जय संसद् ।’
लोकतान्त्रिक गणतन्त्रको अब्बल अभ्यासको एउटा विशिष्ट अवस्थामा आफूहरू रहेको उनले दाबी गरे । ‘लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ । यो संसद् नेपाली जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो, जनताको आस्थाको पवित्र मन्दिर हो भन्ने कुरामा दुई मत हुनै सक्दैन,’ उनले भने ।
यस सन्दर्भमा सरकार र प्रतिपक्षी दुवै प्रष्ट हुन आवश्यक रहेको सचेतक परियारको आग्रह छ ।
‘अस्तीलाई हिजोले प्रश्न गर्थ्यो, हिजोलाई आजले प्रश्न गर्छ र आजलाई भोलिले प्रश्न गर्नेछ’, उनले भने, ‘यो सरकारलाई भोलि प्रश्न गर्नै नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस्, नेपाली जनताले केवल जिन्दगीभर प्रश्न मात्रै गरिरहनुपर्ने अवस्थाको अन्त्य गर्न हातेमालो गरौं ।’
यो वर्तमान सरकार कुनै चानचुने एकथान सरकार मात्र नभएर दुई तिहाइको सन्निकट इतिहासकै अभूतपूर्व मतक्रान्तिले जन्माएको बलियो सरकार भएकाले काम गर्न कहीँकतैबाट रोक नहुने उनले बताए ।
रास्वपाले कर्णालीमा सार्वजनिक गरेको वाचापत्रकै जगमा सरकारले कोरेको समृद्धिको राजमार्ग साच्चै सामरिक महत्वको रहेको बताए । उनले भने, ‘सरकारको साझा संकल्पले भन्छ– नेपाललाई एक स्वाभिमानी, सम्मानजनक मध्य–आय भएको दक्षिण एसियाली राष्ट्र बनाउनु छ ।’
उनले आफूलाई एक दशक लामो वैकल्पिक राजनीतिको रचनात्मक खबरदारी, जेनजी बलिदान र निलोक्रान्तिको जगमा नेपाली जनताले दिएको अभूतपूर्व मतक्रान्तिले कोरेको नवपरिवर्तनको एकजना संवाहकको रुपमा समेत प्रस्तुत गरे । उनी भन्छन्, ‘म यहाँ कुनै दलीय आग्रह वा प्रतिशोधका लागि होइन, नवपरिवर्तन र आम नेपाली जनताको एक सच्चा जनप्रतिनिधिको साक्षी भएर बोलिरहेको छु ।’
जनताको काम गर्नका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको उनले बताए ।
प्रतिक्रिया 4