News Summary
Generated by OK AI. Editorially reviewed.- थापागाउँस्थित एक थिएटरमा मञ्चित नाटकमा निर्देशकले बालेनजस्तै देखिने नयाँ पात्र थपेपछि असहमति जनाउँदै कलाकार मिलन बहादुर खड्काले अभिनय गर्न अस्वीकार गरे ।
- निर्देशक सहलेसले राजनीतिक धम्कीका कारण नाटक मञ्चन रोकिएको दाबी गरे पनि कलाकार खड्काले आफूलाई कतैबाट धम्की नआएको स्पष्ट पारे ।
- नाट्य समूह मझुवा बगरले विज्ञप्ति जारी गर्दै नाटक प्रदर्शन रोक्न कुनै सरकारी निकाय वा राजनीतिक दलले दबाब नदिएको स्पष्ट पारेको छ ।
थापागाउँमा अवस्थित एक थिएटर नेपालमा गत शनिबार साँझ ५:१५ मा नियमित शो मञ्चन हुँदै थियो । नाटक हेर्न हलभित्र २०–२५ जना दर्शक उपस्थित थिए ।
नाटकको अन्त्यतिर त्यहाँ बालेनजस्तै देखिने पात्र आए । ती पात्रले कालो चस्मा लगाएका थिए । कालो टिसर्ट लगाएका थिए । नाटकमा संलग्न एक कलाकारका अनुसार ती पात्रको भूमिका निभाउने व्यक्ति निर्देशक सहलेस स्वयं थिए ।
नाटक सकिएपछि आकस्मिक रूपमा थपिएको त्यो नयाँ पात्रबारे नाटकमा गेडे पात्र निभाएका मिलन बहादुर खड्काले आपत्ति जनाए । दर्शकहरू भएकै बखत ‘थपिएको पात्रमाथि म असहमत छु । यदि त्यो पात्र नाटकमा राखिन्छ भने भोलिदेखि खेल्दिनँ’ भने उनले भनेका थिए ।
यी कुराको प्रत्यक्ष साक्षी बनेका र सो दिन नाटक हेर्न पुगेका वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलका अनुसार संलग्न कलाकारहरूमा उक्त पात्रलाई लिएर मतभेद प्रष्ट देखिन्थ्यो ।
‘त्यो पात्रले कसलाई इंगित गर्न खोजेको हो, मलाई थाहा भएन’ अनलाइनखबरसँग पोखरेलले भने, ‘उहाँहरूले बालेन भनेर नै भन्नुभएन । तर, नाटकको अन्त्यमा एउटा पात्र आउँछ । उसको अघिअघि गन लिएर उभिने अर्को पात्र पनि हुन्छ । तर, त्यो पात्र बालेन हो/होइन मलाई थाहा भएन । ’
त्यस्तै, सुनिलले त्यो दिन मिलनसँग पनि प्रत्यक्ष कुराकानी गरेका थिए । आफूसँगको कुराकानीमा मिलनले अन्तिम दृश्य देखाउने हो भने आफू नाटक नखेल्ने भनेको सुनिलले अनलाइखबरलाई बताए ।
मिलनले पनि अनलाइनखबरसँगको कुराकानीमा सोही कुरा दोहोर्याए ।
मिलनका अनुसार रिहर्सल र फाइनल स्क्रिप्टमा भन्दा निर्देशक सहलेसले पछिल्ला शो हरूमा धेरै परिवर्तन ल्याउन खोजिरहेका थिए । कलाकरको रूपमा मिलन ती कुराहरूसँग सहमत थिएनन् । सबै टिमसँग सल्लाह गरेर मात्र गर्नुपर्ने उनको अडान थियो । त्यसमा सहलेस केही लचक पनि भए । तर, शनिबार आकस्मिक रूपमा नाटकमा नयाँ पात्र थपियो । मिलनलाई त्यो कुरा चित्त बुझेन ।
‘निर्देशकले नाटकमा त्यो परिवर्तन चाहिन्छ भनेर भन्नुभयो । तर, व्यक्तिगत रूपमा म त्यो कुरामा सहमत थिइनँ’ मिलन भन्छन्, ‘यदि त्यसो गर्नुहुन्छ भने म चाहिँ नाटकमा आबद्ध हुदिनँ भनेर निस्केको थिएँ । कलाकारका रूपमा मलाई त्यो परिवर्तन ठीक लागेन ।’
शनिबार साँझ ८ बजेतिर निर्देशक सहलेसले अनलाइनखबरलाई सम्पर्क गरेर नाटकलाई लिएर राजनैतिक धम्की आएको र त्यसले कलाकारहरूलाई मानसिक रूपमा तनाव भएको सुनाएका थिए । मानसिक रूपमा आघात हुनेमा मिलन पनि रहेको र उनले यसैकारण नाटक छाड्नुपरेको सहलेसको दावी थियो ।
त्यसबारे मिलनलाई सोध्दा अहिलेसम्म आफूलाई कतैबाट पनि केही धम्कीहरू नआएको सुनाए । ‘आजसम्म मलाई कतैबाट पनि धम्कीहरू आएको छैन । नाटकलाई लिएर निर्देशकसँग असहमत भएपछि मैले शनिबार बेलुका फेसबुक र इन्स्टाग्रामबाट नाटकमा आबद्ध छैन भनेर भनेको थिएँ’ उनले भने ।
गत ३ जेठमा नाटक हेर्दा राजनीतिक देखिएको थिएन । त्यसबेला ‘लुसिफर’को शाब्दिक अर्थलाई बिम्बात्मक तरिकाले देखाउन मात्र खोजिएको थियो । त्यसमै रहेर अनलाइखबरले समीक्षा पनि प्रकाशन गरेको थियो ।
तर, १० जेठ आइतबार साँझ यो नाटक प्रस्तुत गरेको नाट्य समूह मझुवा बगरले अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको सूचना निकाल्यो । जसमा आधारमा भएर निर्देशक सहलेसको भनाइ उद्धृत गर्दै अनलाइनखबरले समाचार तयार पारेको थियो ।
आधिकारिकताका लागि धम्की आएको नम्बर, मेसेज अनलाइनखबरले मागेको थियो । तर, सहलेसले आलटाल गरेर दिन मानिरहेका थिएनन् ।
एक थिएटर के भन्छन् ?
यो नाटक एक थिएटरको हलमा मञ्चन भइरहेको हो । एक थिएटरका अध्यक्ष अनिल सुब्बासँग कुरा गर्दा उनले पूरा विषय बुझ्न बाँकी रहेको बताए ।
तर, मञ्चन हुन अघिदेखि नै नाटकको नामलाई लिएर कतैकतै असन्तुष्टि भने भएको उनले सुनाए । नाटकका निर्देशक सहलेसले आधिकारिक कुरा नभनेसम्म यथार्थ थाहा नहुने उनको भनाइ छ । हाल अहिले उनी उपत्यका बाहिर छन् ।
विवादबारे अन्य कलाकार के भन्छन् ?
यो नाटकबारे अन्य कलाकारहरू खुलेर बोल्न मानेनन् । अधिकांशले निर्देशकलाई सोध्न भनेर भनिरहेका छन् । तर, निर्देशक अहिले सम्पर्कमा छैनन्।
कलाकारहरूको ह्वाट्सएप ग्रुपमा भने स्टेज म्यानेजर प्रकृतिले नाटक बिहीबारदेखि मञ्चन हुने जानकारी गराएकी छिन् । उनले सबै कलाकारहरूलाई त्यसका लागि तयारी हुन समेत निर्देशन दिएकी छिन् । ‘सबै ठीक भएको र तनाव लिनुपर्ने अवस्था छैन’ उनले भनेकी छिन् ।
अनलाइनखबरको सम्पर्कमा आएकी उनले निर्देशकसँगको कुराकानी पश्चात उक्त मेसेज ग्रुपमा पठाएको जानकारी दिइन् ।
को हुन् सहलेस ?
सहलेसको यो नाम छद्म नाम हो । गत साता अनलाइनखबरको कुराकानीमा उनले आफ्नो वास्तविक नाम अर्कै भएको र ‘सहलेस’ नाम छद्य भएको बताएका थिए ।
आजको दिनसम्म उनले ‘देउराली डाँडी’ र ‘कि कुमार जेलमा, कि कुमार रेलमा’, ‘माइला कामी मान्धम’ नामक नाटक लेखेका छन् । यी मध्ये ‘कि कुमार जेलमा, कि कुमार रेलमा’ भन्ने नाटक वयस्कले मात्रै हेर्न मिल्ने रहेको भएको बताएका थिए । ‘लुसिफर राइजिङ’ पनि १६+ नाटक हो ।
यो नाटकको पोस्टरमा हालै भत्काइएको सुकुमवासी बस्तीको फोटो फिचर छ । नाटक यही विषयमा हुनु पर्ने होइन र ? भन्ने प्रश्नमा सहलेसले त्यसबेला ‘सुरुमा त्यो विषय भएको तर पछि हटाइएको बताएका थिए ।
अनलाइनखबरलाई त्यसबेला उनले आफू कुनै पनि राजनीतिक झुकाव नराख्ने बताएका थिए । २४ भदौमा के भएको थियो ? त्यो कुरालाई मञ्चमा देखाउन मात्र नाटक बनाएको उनको भनाइ थियो । यो नाटकमा संंलग्न अधिकांश कलाकारहरूसँग उनले पहिलो पटक सहकार्य गरिरहेका हुन् ।
यो सामग्री तयारी पारिरहँदा मझुवा बगरले विज्ञप्ति निकालेको छ । जसमा निर्देशक सहलेसले भनेका भनाइ भनी इंगित गरिएको छ । धम्की कोबाट आइरहेको भन्ने प्रश्नमा ‘लुसिफर राइजींगको प्रदर्शन रोक्ने कुनै आधिकारिक सरकारी निकाय होइन, कुनै अमुक राजनीति दल पनि होइन, अध्यारो भित्र बस्ने शैतान हो, जो सुरुमा मष्तिस्क र बिस्तारै शरीरमा प्रवेश गर्दछ’ लेखिएको छ । भीडको सामु लेखकले आत्मसमर्पण गरेको र नाटक सकिसक्यो भनेर समेत लेखेका छन् ।

प्रतिक्रिया 4