+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीले भन्यो- प्रधानमन्त्री बालेनको अभिव्यक्ति ‘राष्ट्रघाती’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतको जग्गा मिचेको भनी प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिष्ट पार्टीले विरोध जनाएको छ।
  • नेकपाका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रघाती भएको भन्दै निन्दा गर्नुभएको छ।
  • सीमा क्षेत्रको जमिन भोगचलन हुनुलाई कब्जा भन्न नमिल्ने उल्लेख गर्दै नेकपाले सीमा विवाद कूटनीतिक माध्यमबाट हल गर्न माग गरेको छ।

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जग्गा मिचेको भनेर संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टीले विरोध जनाएको छ ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको सो पार्टीको ठहर छ ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए ।

आज नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै निन्दा गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रुपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो ।’

नेकपाले भनेको छ, ‘सुगौली सन्धि तथा प्राचीन समिा स्तम्भहरुको आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई ‘कब्जा’ भनिँदैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसलाई जग्गाको भोगचलन को अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसदको राष्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ ।’

नेकपाले नेपाल र भारतबीच सीमा विवादलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?