News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी राजमार्गले बीचबाट चिरेको तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित चित्रे बजार प्रशासनिक रूपमा दुई भागमा विभाजित छ।
- एउटै बजारका बासिन्दाको घर र जग्गा फरक फरक जिल्लामा पर्दा सरकारी सेवा लिन र विकास समन्वय गर्न सास्ती भएको छ।
- राज्य पुनःसंरचनाका क्रममा बजारलाई एउटै स्थानीय तहमा समेट्न गरिएको माग जिल्लाको सीमा नचलाउने नीतिका कारण पूरा हुन सकेन।
१९ जेठ,तेह्रथुम । बिहानको घामसँगै चित्रे बजारका घर तथा होटलहरु खुल्छन् । चियापसलहरूमा मानिसहरुको चहलपहल सुरु हुन्छ ।, यात्रुहरूको आवतजावत बढ्न थाल्छ र स्थानीयहरू दैनिक काममा व्यस्त हुन्छन् । पहिलो नजरमा हेर्दा यो एउटा सामान्य पहाडी बजारजस्तो लाग्छ । तर यो बजारको एउटा यस्तो कथा छ, जुन नेपालका धेरै बस्तीहरूभन्दा फरक छ ।
तेह्रथुम र धनकुटाको सिमानामा रहेको चित्रे बजारलाई बीचबाट चिरेर कोशी राजमार्ग गुज्रिएको छ । यही सडकले बजारलाई मात्र होइन, प्रशासनिक रूपमा यहाँका नागरिकको जीवनलाई पनि दुई भागमा विभाजन गरेको छ । सडकको एकातर्फ धनकुटाको महालक्ष्मी नगरपालिका छ भने अर्कोतर्फ तेह्रथुमको लालीगुराँस नगरपालिका । एउटै बजार, एउटै समाज र एउटै समुदायका मानिसहरू दुई फरक जिल्लाको नागरिक बनेका छन् ।
चित्रे बजारका बासिन्दाहरूका लागि यो विभाजन नक्सामा कोरिएको सीमारेखा मात्र होइन, दैनिक जीवनमा भोग्नुपर्ने वास्तविक समस्या हो । बजारका एक सयभन्दा बढी घरधुरीले वर्षौंदेखि यही अवस्थाको सामना गरिरहेका छन् । सामाजिक र व्यवहारिक रूपमा एउटै ठाउँमा बसोबास गरे पनि प्रशासनिक काम पर्दा उनीहरू फरक–फरक जिल्लाको कार्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
चित्रे बजारकी बिमला लिम्बुको सबै जग्गा–जमिन र त्यससम्बन्धी कागजात तेह्रथुम जिल्लामा छन् । तर उनी बस्ने घर भने धनकुटाको क्षेत्रभित्र पर्छ । एउटै परिवारको दैनिक जीवन दुई जिल्लाको सीमारेखाबीच बाँडिएको छ । कुनै कागजी काम परे तेह्रथुम पुग्नुपर्छ, घरसम्बन्धी विषय आए धनकुटाको कार्यालय धाउनुपर्छ । स्थानीय तहबाट पाइने सेवा–सुविधा लिनेदेखि विकास निर्माणका योजनामा सहभागी हुनसम्म दोहोरो प्रक्रियाको सामना गर्नुपर्दा समय, श्रम र खर्च सबै बढेको लिम्बु बताउछिन् ।
चित्रे बजार केवल एउटा सीमावर्ती बजार मात्र होइन । यो पूर्वी नेपालको प्रसिद्ध तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार पनि हो । प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाका कारण पछि:ला वर्षहरूमा बजार विस्तार हुँदै गएको छ । नयाँ घरहरू थपिएका छन, । व्यापारिक गतिविधि बढेका छन् र जनसंख्या पनि विस्तारै बढिरहेको छ । तर विकासको यो यात्रासँगै पुरानो प्रशासनिक समस्या भने अझै ज्यूँका त्यूँ छ ।
स्थानीय पोष्टराज रायमाझीका अनुसार बजार विस्तार भए पनि सेवा प्रवाह र विकास व्यवस्थापनमा कठिनाइ कायमै छ । ‘हामी सबै एउटै समाजका मानिस हौं । विकास निर्माणका काम गर्दा पनि एउटै आवश्यकता हुन्छ । तर, दुई पालिकामा पर्दा समन्वय गर्न गाह्रो हुन्छ’, उनी भन्छन् । चित्रेको अर्को अनौठो पक्ष के छ भने कतिपय घरका सदस्य नै फरक–फरक वडाका मतदाता छन् । एउटै छानामुनि बस्ने परिवारका सदस्यले फरक वडा कार्यालयबाट सेवा लिनुपर्ने अवस्था छ । जन्मदर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा भत्ता, सिफारिस तथा अन्य प्रशासनिक सेवामा यसले थप झन्झट सिर्जना गरेको छ ।
संघीयता लागू भएपछि स्थानीय सरकार नागरिकको नजिक पुग्ने अपेक्षा गरिएको थियो । तर चित्रे बजारका नागरिकले भने संघीयताको अर्को पाटो अनुभव गरिरहेका छन् । राज्य पुन:संरचनाका क्रममा स्थानीयहरूले आफूहरूलाई एउटै स्थानीय तहमा समेट्न माग गरेका थिए । सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा एकीकृत रहेको बजारलाई एउटै प्रशासनिक इकाइभित्र राख्नुपर्ने उनीहरूको धारणा थियो । तर जिल्लाको सीमा नचलाउने नीतिका कारण त्यो माग पूरा हुन सकेन । फलस्वरूप आज पनि चित्रे बजार दुई जिल्लाको सिमानामा उभिएको छ ।
विकास निर्माणका योजना सञ्चालन गर्दा दुई पालिकाको समन्वय आवश्यक पर्छ । सडक, खानेपानी, ढल व्यवस्थापन, बजार सौन्दर्यीकरण जस्ता साझा विषयमा एउटै सोच र योजनाको आवश्यकता हुन्छ । तर, प्रशासनिक विभाजनले कहिलेकाहीँ कामलाई जटिल बनाइदिन्छ । चित्रेको कथा केवल एउटा बजारको कथा मात्र होइन । यो नेपालको संघीय संरचनाभित्र रहेका सीमावर्ती बस्तीहरूले भोगिरहेका चुनौतीहरूको प्रतिनिधि कथा पनि हो । जहाँ सामाजिक सम्बन्ध, सांस्कृतिक एकता र दैनिक जीवनका आवश्यकता एकातिर छन् भने प्रशासनिक सीमारेखा अर्कोतिर ।
आज पनि चित्रेका बासिन्दाहरूका लागि धनकुटा र तेह्रथुम दुई जिल्ला हुन सक्छन, तर समाज एउटै छ, सम्बन्ध एउटै छ र सपना पनि एउटै छ । उनीहरूको चाहना कुनै ठूलो राजनीतिक मुद्दा होइन-सेवा सहज होस, विकास समन्वित होस् र प्रशासनिक झन्झट कम होस् । कोशी राजमार्गले चित्रे बजारलाई भौगोलिक रूपमा दुई भागमा बाँडेको छ । तर यहाँका मानिसहरूको जीवन, सम्बन्ध र साझा पहिचान भने आज पनि एउटै धागोले गाँसिएको छ ।
प्रतिक्रिया 4