News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन शाह पुनः सदनमा जवाफ दिन तयार रहेको बताएका छन् ।
- नेपालले पनि भारतको भूमि मिचेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भइरहेका बेला प्रवक्ता पोखरेलले सो कुरा बताएका हुन् ।
- नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवाद तथा स्थापित संयन्त्रमार्फत समाधान गरिने प्रवक्ता पोखरेलले स्पष्ट पारे ।
१९ जेठ, काठमाडौं । सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिने बताएका हुन् ।
आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’
१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।
कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको प्रवक्ता पोखरेलले बताए ।
यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको उनको भनाइ छ ।
सरकारका प्रवक्ता पोखरेलले सीमा विवाद दुई देशबीचको कूटनीतिक संवाद र स्थापित संयन्त्रमार्फत समाधान गरिने बताए ।
उनले भने, ‘दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु छन् । पहिलादेखि नै बनेको संयन्त्र हो । सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्री जीले भन्नु भएको छ । यो विषयमा नेपालले पनि डिप्लोमेटिक नोट पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देश बसेर जति पनि सीमा विवाद छ, त्यो मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको छ ।’
यो विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट पारिसकेको उनले बताए ।
प्रतिक्रिया 4