News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दाह्रासहित प्रहरीले ५ जनालाई काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
- गत भदौको आन्दोलनका क्रममा शीतल निवास तोडफोड हुँदा भित्तामा सजाइएका हात्तीका दाह्रा चोरी भएको प्रहरीले जनाएको छ ।
- पक्राउ परेकाहरूमाथि वन्यजन्तु संरक्षण ऐन र लागु औषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
२० जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । मनमैजु एरियामा राजिव महर्जन समेत व्यक्तिहरुले वन्यजन्तु हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताए ।
तार्केश्वर–९ मनमैजुमा राजिव, आयुष र टेकले हात्तीको दाह्रा टुक्रा बनाएर राजिवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको पाइएको प्रहरीले बताएको छ । राजिवको घरबाट प्रहरीले हात्तीको दाह्रा दुई टुक्रा र लागु औषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको छ ।

उनीहरुलाई पक्राउ गरेर सोधपुछ गर्दा टोखा–२ सपनतिर्थ बस्ने पुरनको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरको हो । पुरनले हात्तीका दुई टुक्रा दाह्रा मनमैजु बस्ने सन्तले आफ्नो कोठाको झ्यालमा राखेको बताएका थिए ।
त्यसपछि प्रहरीले सन्तको कोठाबाट पनि दुई टुक्ता हात्तिको हाद्रा बरामद गरेको बताएको छ । अब उनीहरुमाथि लागु औषधसम्बन्धी कसुर र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिमको कसुरमा अनुसन्धान हुने भएको छ ।
बरामद हात्तीका दाह्रा भने राष्ट्रपति कार्यालयबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।
राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो ।
चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ५ जनालाई दाह्रासहित पक्राउ गरेको हो । हात्तीको दाह्रा चोरी गरेपछि टुक्रा पारेर उनीहरुले भाग लगाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4