२० वैशाख, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएर वर्षाैँसम्म थन्किएका पाँच वटा डायलसीस मेसिन मर्मतपछि सञ्चालनमा आएका छन् ।
ती मेसिन थन्किदा मिर्गौला रोगका बिरामीले लामो समयदेखि समस्या भोग्दैआएका थिए । कम मेसिनबाट सेवा लिनुपर्दा बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यता थिए ।
अहिले पोखराबाट हेमो डायलसीस सम्बन्धि प्राविधिक टोली बोलाएर मेसिन मर्मत गरिएको प्रतिष्ठानका प्रमुख डा. सुरेश रसाइलीले जानकारी दिए । मेसिन बनेपछि बिरामी थप लाभान्वित भएको उनले बताए ।
पाँच मेसिन बनेपछि इमरजेन्सीमा डायलसीस गराउँदै आएका २२ जना बिरामी घटेर तीन जनामा पुगेको डा. रसाइलीले जानकारी दिए । मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका बिरामीले सेवा प्राप्त गरिरहेका छन् ।
तीन सिफ्टमा चल्ने प्रतिष्ठानको डायलसीस सेवा दैनिक ३३ जना बिरामीले प्राप्त गर्दैआएका छन् ।
डायलसीस सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले नर्सिङ इञ्चार्जसहित १८ जनालाई तालिम दिएको छ ।
हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलसीस मेसिन सञ्चालनमा छन् ।
प्रतिक्रिया 4