+
+
Shares

युवालाई रेमिट्यान्स मेसिन मात्रै बनाउने कि समृद्धिको इन्जिन ?

खाडीको ४० डिग्रीभन्दा बढी तातो घाममा बगाएको पसिनाबाट आउने १७ खर्बको रेमिट्यान्स होस्, स्वदेशमै स्टार्टअप र प्रविधिको लहर ल्याउने युवा उद्यमीको आँट होस् वा करोडौं डलरको सफ्टवेयर निर्यात गर्ने आईटी फ्रिल्यान्सरहरूको कौशल- नेपाली युवा विना देशको आर्थिक अस्तित्वको परिकल्पना गर्न समेत गाह्रो छ।

सरोज बानियाँ सरोज बानियाँ
२०८३ जेठ २१ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको कुल युवा जनसङ्ख्याको ६० प्रतिशत वैदेशिक रोजगारीमा छन्, जसले वार्षिक १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएर अर्थतन्त्र धानेका छन् ।
  • स्वदेशमै उद्यम गर्ने युवाले कुल घरेलु तथा साना उद्योगमध्ये ६० प्रतिशतभन्दा बढीको नेतृत्व गर्दै देशको आन्तरिक उत्पादन र रोजगारी बढाएका छन् ।
  • सक्रिय युवा जनशक्तिको नेतृत्वमा रहेको सूचनाप्रविधि क्षेत्रले सफ्टवेयर निर्यात र डिजिटल फ्रिल्यान्सिङ मार्फत देशमा करोडौं डलर विदेशी मुद्रा भित्र्याएको छ ।

नेपाल जस्तो जनसाङ्ख्यिक लाभांश भएको देशका लागि युवा शक्ति आर्थिक रूपान्तरणको सबैभन्दा बलियो इन्जिन हो। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको छ। यो सक्रिय र ऊर्जावान् जनशक्तिले देशको आन्तरिक उत्पादन, सेवा क्षेत्र, प्रविधि र वैदेशिक रोजगारी मार्फत राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाएको छ। वर्तमान परिप्रेक्ष्यमा नेपालको अर्थतन्त्र सङ्कटबाट जोगिनु र आर्थिक गतिविधि अगाडि बढ्नुमा युवाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका अतुलनीय छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन र अर्थशास्त्रीहरूका अनुसार नेपाल अहिले जनसाङ्ख्यिक लाभांशको स्वर्णिम युगबाट गुज्रिरहेको छ। यसको अर्थ देशमा आश्रित जनसङ्ख्या (बालबालिका र वृद्धवृद्धा) को तुलनामा कमाउने र उत्पादन गर्न सक्ने युवाहरूको सङ्ख्या उच्च छ। तर, विडम्बना के छ भने यो ऊर्जावान् जनशक्तिलाई राज्यले नीतिगत कमजोरीका कारण स्वदेशमै पर्याप्त रोजगारी र उद्यमशीलताको वातावरण दिन सकेको छैन।

नतिजास्वरूप, नेपाली युवाहरूको योगदान केवल आन्तरिक उत्पादनमा मात्र सीमित नभएर वैदेशिक श्रम बजार र विश्वव्यापी डिजिटल अर्थतन्त्रसम्म फैलिएको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएका युवा, नेपालमै बसी उद्यम गरेका युवा र अन्य क्षेत्रका युवाले नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो प्रभाव पारेका छन्।

रेमिट्यान्सको अर्थशास्त्र

नेपालको बाह्य अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउने सबैभन्दा ठूलो खम्बा वैदेशिक रोजगारीमा गएका युवा हुन्। राष्ट्रिय युवा परिषद् र वैदेशिक रोजगार विभागको संयुक्त प्रतिवेदन अनुसार, नेपालको कुल युवा जनसङ्ख्याको करिब ६० प्रतिशत हिस्सा कुनै न कुनै रूपमा वैदेशिक रोजगारी वा श्रमका लागि विदेशमा कार्यरत छ।

रोजगारीका लागि विदेशिने युवामध्ये अधिकांश खाडी मुलुकहरू (जस्तै– संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, कुवेत) र मलेसियामा केन्द्रित छन् भने दक्ष तथा अर्धदक्ष युवाहरूको एउटा हिस्सा जापान, दक्षिण कोरिया, युरोप र अमेरिका जस्ता विकसित मुलुकमा श्रम गरिरहेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको समष्टिगत आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार नेपालको विप्रेषण आप्रवाहले हरेक वर्ष नयाँ रेकर्ड कायम गरिरहेको छ। पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार वार्षिक रेमिट्यान्स आप्रवाह १७ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ, जसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३० प्रतिशतको हाराहारीमा योगदान दिन्छ। यो अनुपात विश्वकै उच्चमध्ये एक हो र यसले के प्रमाणित गर्छ भने नेपालको अर्थतन्त्र ठूलो मात्रामा युवाले विदेशमा बगाएको पसिनामा आश्रित छ।

यो योगदान केवल राष्ट्रिय तथ्याङ्कमा मात्र सीमित छैन। युवाले पठाएको पैसाले नेपालको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाएको छ। नेपाल राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदन अनुसार देशको कुल विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेर करिब १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त बनेको छ। नेपाल जस्तो पेट्रोलियम पदार्थ, गाडी, औषधि र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुमा पूर्ण रूपमा आयातमुखी देशका लागि भुक्तानी सन्तुलन बचतमा राख्न यिनै युवाले पठाएको डलरले काम गरेको छ।

यसबाहेक, रेमिट्यान्सले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार देशमा गरिबीको दर घटाउन, ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको स्तर सुधार्न र बजारमा उपभोग्य वस्तुको माग बढाएर सरकारलाई भन्सार तथा मूल्य अभिवृद्धि कर मार्फत राजस्व सङ्कलन गर्न प्रत्यक्ष सघाउ पुर्‍याएको छ।

स्वदेशमा युवा उद्यमीको योगदान

वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको सङ्ख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्छ, जसको नेतृत्व र नवप्रवर्तन (इनोभेसन) युवा उद्यमीको हातमा छ। उद्योग विभाग र घरेलु तथा साना उद्योग कार्यालयको दर्ता अभिलेख अनुसार, नेपालमा सञ्चालित कुल घरेलु, साना तथा मझौला उद्योगमध्ये ६० प्रतिशतभन्दा बढीको स्वामित्व वा व्यवस्थापकीय नेतृत्व ४० वर्षमुनिका युवाले सम्हालेका छन्।

युवा उद्यमीले विशेषगरी कृषि तथा पशुपालनको क्षेत्रमा परम्परागत प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि भित्र्याएका छन्। व्यावसायिक तरकारी खेती, हाइटेक नर्सरी, ठूला पोल्ट्री फार्म, बङ्गुरपालन, डेरी उद्योग र निर्यातयोग्य कफी तथा चिया खेतीमा युवाले अर्बौंको लगानी गरेका छन्। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नेपालको कृषि आयात प्रतिस्थापनमा टेवा पुर्‍याएको छ। त्यसैगरी, हस्पिटालिटी र पर्यटन क्षेत्रमा युवाहरूले डिजिटल मार्केटिङ र नयाँ अवधारणा (जस्तै– एग्रो–टुरिजम र एड्भेन्चर स्पोर्ट्स) मार्फत विदेशी र आन्तरिक पर्यटक आकर्षित गरिरहेका छन्।

पछिल्लो समय नेपालमा मौलाएको स्टार्टअप संस्कृति र डिजिटल इकोसिस्टम पूर्ण रूपमा युवा उद्यमीकै देन हो। ई–कमर्स प्लेटफर्महरू, अनलाइन फुड डेलिभरी सेवा र पठाओ वा इनड्राइभ जस्ता राइड सेयरिङ एपहरूले शहरी क्षेत्रको यातायात र व्यापारको स्वरूप बदलिदिएका छन्, जसले गर्दा हजारौं युवाले स्वरोजगारी पाएका छन्।

फिनटेकको क्षेत्रमा ईसेवा, खल्ती र आईएमई पे जस्ता डिजिटल वालेटहरूको विकास गरेर युवाले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ डोर्‍याएका छन् र वित्तीय साक्षरता बढाएका छन्। यी युवा उद्यमीले बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर आर्थिक गतिविधि तीव्र बनाउँछन्, जसले बजारमा पूँजीको चक्र बढाउँछ र सरकारलाई संस्थागत आयकर बुझाएर देशको विकास बजेटमा योगदान पुर्‍याउँछ। 

प्रत्यक्ष अप्रत्यक्ष अरू योगदान

औपचारिक व्यापार र वैदेशिक रोजगारी बाहेक पनि नेपाली युवाले अर्थतन्त्रका विभिन्न नवीन र ओझेलमा परेका क्षेत्रहरूमा महत्त्वपूर्ण प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिइरहेका छन्। यसमा सबैभन्दा उदाउँदो क्षेत्र सूचनाप्रविधि र डिजिटल फ्रिल्यान्सिङ हो। नेपालका शहरी र अर्धशहरी क्षेत्रका हजारौं आईटी इन्जिनियर र विकासकर्ताहरूले नेपालमै बसेर अमेरिका, युरोप र अस्ट्रेलियाका विभिन्न कम्पनीका लागि सफ्टवेयर विकास, कोडिङ, डेटा एनालिसिस र एआई विकास जस्ता कामहरू गरिरहेका छन्। यही कामबाट हरेक महिना राम्रो आम्दानी समेत गरी देशको अर्थतन्त्रलाई चलायमान बनाउन उनीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) को प्रतिवेदन अनुसार नेपालको आईटी क्षेत्रले वार्षिक करोडौं डलर बराबरको सेवा निर्यात गरिरहेको छ। यो क्षेत्र पूर्ण रूपमा युवाको नियन्त्रणमा छ र यसबाट आर्जित विदेशी मुद्रा सीधै नेपालका बैङ्क खाताहरूमा भित्रिन्छ, जसले देशको कमजोर वस्तु निर्यात व्यापारको खाडललाई टेवा दिने काम गरिरहेको छ। यसबाहेक नेपालका वाणिज्य बैङ्क, बीमा कम्पनी, दूरसञ्चार प्रदायक र बहुराष्ट्रिय कम्पनीहरूको कर्पोरेट संरचनामा ३५ वर्षमुनिका युवाको कार्यसम्पादन र श्रमको योगदान ८० प्रतिशतभन्दा बढी छ, जसले वित्तीय क्षेत्रको उत्पादकत्व र आधुनिकीकरणमा प्रत्यक्ष भूमिका खेलेको छ।

अप्रत्यक्ष रूपमा हेर्दा, युवा पुस्ताको खर्च गर्ने प्रवृत्ति र आधुनिक जीवनशैलीले आन्तरिक पर्यटन र उपभोग संस्कृतिलाई ठूलो बल दिएको छ। कोभिड–१९ को महामारी र त्यसपछिको आर्थिक मन्दीका बेला जब विदेशी पर्यटकको आगमन ठप्प थियो, तब नेपालको पर्यटन र हस्पिटालिटी उद्योगलाई नेपाली युवा घुमन्तेहरूले नै बचाएका थिए।

पोखरा, मुस्ताङ, रारा र इलाम जस्ता क्षेत्रमा युवाको आन्तरिक आवागमनले गर्दा अर्बौंको स्थानीय व्यवसाय टिकिरहेको छ। साथै, सामाजिक सञ्जाल र डिजिटल मिडिया (युट्युब, टिकटक) मार्फत कन्टेन्ट क्रिएटरका रूपमा काम गर्ने युवाहरूले नेपालको विज्ञापन बजारलाई विस्तार गरेका छन् र यसबाट आर्जित आम्दानीमा लाग्ने डिजिटल सेवा करमार्फत सरकारले राजस्व सङ्कलन गरिरहेको छ। 

समृद्धिको मार्गचित्र

समग्रमा, नेपाली युवाको श्रम र नवीन सोच नै नेपालको अर्थतन्त्र धान्ने मुख्य इन्जिन हो। चाहे त्यो खाडीको तातो बालुवामा बगाएको पसिनाबाट आउने रेमिट्यान्स होस् वा काठमाडौंका कार्यालयहरूमा गरिने सफ्टवेयर कोडिङ होस् वा गाउँका फाँटहरूमा गरिने आधुनिक कृषि होस्; युवाको योगदान विना नेपालको आर्थिक अस्तित्वको परिकल्पना गर्न समेत गाह्रो छ।

तर, युवाहरूको यो ठूलो जनसाङ्ख्यिक लाभांश सधैं रहिरहने छैन। अबको केही दशकमा यो जनसङ्ख्या वृद्धावस्थामा प्रवेश गर्नेछ। त्यसैले राज्यले बेलैमा रेमिट्यान्समा मात्र आधारित अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी अर्थतन्त्रमा बदल्न युवालक्षित नीतिहरू ल्याउनु आवश्यक छ।

युवा उद्यमीहरूका लागि सहज वित्तीय पहुँच, झन्झटरहित एकद्वार व्यवसाय दर्ता प्रणाली, विना धितो नवीन आइडियामा आधारित कर्जा प्रवाह र बजारको माग अनुसारको सीपमूलक शिक्षा नीति अवलम्बन गर्न सकेमा मात्र युवाको यो योगदानले देशलाई दिगो आर्थिक समृद्धिको मार्गमा डोर्‍याउन सक्नेछ।

(बानियाँ नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष हुन्।)

लेखक
सरोज बानियाँ

(युवा अभियन्ता बानियाँ नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?