२१ जेठ. विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले धारासायी बन्दै गएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादनको प्रचार गरेपछि बजारमा माग बढेको छ ।
माग बढेसँगै डीडीसीले अत्याधिक खपत हुने केही उत्पादनको मूल्य सुटुक्क बढाएको छ । डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्य वृद्धि गरेका हो । विक्रेताहरूका अनुसार डीडीसीका उत्पादनको भाउ २ रुपैयाँदेखि १०० रुपैयाँसम्म बढाइएको छ ।
दूधको मूल्य भने बुधबारबाट बढाइएको हो । पनिर, घिउ र दहीको मुल्य केहीदिनअघि बढाइएको थियो ।
विक्रेताहरूका अनुसार १५० रुपैयाँ प्रतिलिटरमा बिक्री हुने दहीको मूल्य १६० रुपैयाँ पुगेको छ । ४० रुपैयाँमा पाइने २०० ग्राम दहीको मुल्य ४५ रुपैयाँ पुगेको छ । आधा लिटर दहीको (बट्टावाला) मूल्य पहिले ८० रुपैयाँ थियो । अहिले बढेर ८५ रुपैयाँ पुगेको छ ।
दूधको प्रतिपोका आधा लिटरमा १ रुपैयाँ बढाइएको छ । कम फ्याट भएको स्ट्यान्डर्ड दूध आधा लिटरको ४९ रुपैयाँ थियो । वृद्धि गरेर ५० रुपैयाँ पुर्याइएको हो । फ्याट भएको दूधको मूल्य भने यथावत छ ।
विराटनगरको बजारमा खुला दूध ८० रुपैयाँ प्रतिलिटर बिक्री हुन्छ । डीडीसीले भने कम क्रिम भएको स्ट्यान्डर्ड दूध लिटरको एक सय रुपैयाँमा बिक्री गर्दै आएको छ । डीडीसीले क्रिम भएको दूध १२० रुपैयाँ लिटर बिक्री गर्छ ।
घिउको मूल्य १०० रुपैयाँ बढाइएको छ । प्रतिलिटर ११५० रुपैयाँ पर्ने घिउको मूल्यमा १०० रुपैयाँ वृद्धि गरी १२५० रुपैयाँ पुर्याइएको छ । पनिरको मूल्यमा प्रति किलो ५० रुपैयाँ बढाइएको छ । पहिले किलोको ८२५ रुपैयाँ पर्ने पनिरको मूल्य अहिले ८७५ रुपैयाँ पुगेको छ । विराटनगरका किराना पसल सञ्चालक अनिल बरालका अनुसार डीडीसीको पनिरको दुई सय ग्रामको १ पिसमा १० रुपैयाँ बढेको छ ।
माग पुर्याउन गाह्रो
प्रधानमन्त्री बालेनले केहीदिनअघि फेसबुकमार्फत डीडीसीका उत्पादनको प्रचार गरेका थिए । त्यसपछि यसप्रति आकर्षण बढेर माग पनि बढेको डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेको दाबी छ । उनकाअनुसार संस्थानका दुग्धजन्य पदार्थको माग ५० प्रतिशतको हाराहारीमा बढेको छ ।
माग बढ्दा संस्थानलाई सामग्रीको मौज्दात राख्नसमेत धौ–धौ परिरहेको उनले बताए । ‘प्रधानमन्त्री ज्युले डीडीसीका उत्पादन प्रयोग गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ । अहिले माग यति धेरै छ कि हामी उत्पादन क्षमता बढाउनु पर्ने दबाबमा छौं,’ महाप्रबन्धक पाण्डेले भने ।
उनका अनुसार लेकाली र हिमाली क्षेत्रबाट आउने घिउ र चिजको माग अत्याधिक छ । डीडीसीका अन्य उत्पादनको माग पनि बढेको उनले बताए । ‘अहिले हाम्रो ध्यान उत्पादन क्षमता वृद्धि र संकलन केन्द्रहरूको सुदृढीकरणमा केन्द्रित गरेका छौं,’ उनले भने, ‘बजारमा माग अनुसारको आपूर्ति सुनिश्चित गर्न उत्पादन प्लान्टहरूको क्षमता बढाउने काम भइरहेको छ ।’
उनले मूल्यवृद्धि नभई केही उत्पादनमा मूल्य समायोजन मात्रै गरिएको दाबी गरे । निजी क्षेत्रका उत्पादनको तुलनामा डीडीसीको मूल्य अझै पनि सुलभ रहेको उनको भनाइ छ
अहिले किसानको बक्यौता रकम भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढाइएको महाप्रबन्धक पाण्डेले बताए ।
प्रतिक्रिया 4