News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २१ जेठमा आफ्ना सदस्यहरूका निम्ति छुट्टै आचारसंहिता लागू गरेको छ ।
- नयाँ आचारसंहिता अनुसार स्वार्थ बाझिएका विषयमा समिति सदस्यहरूले छलफल वा निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
- समितिमा छलफल भएका संवेदनशील र गोपनीय विषयहरू आधिकारिक निर्णय नभएसम्म सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ ।
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूका निम्ति छुट्टै आचारसंहिता लागु गरिएको छ ।
प्रतिनिधिसभा नियमावलीमा समेत आचरणका विषय छन् । यसबाहेक समितिलाई थप व्यवस्थित बनाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नै आचारसंहिता बनाएको हो ।
जस अन्तर्गत समितिका सभापति तथा सदस्यहरूले आफ्नो कार्य निष्पक्ष, पारदर्शी र जिम्मेवारीपूर्ण ढंगले कार्य सम्पादन गर्नुपर्नेछ ।
समितिको कुनै पनि कार्य वा निर्णय व्यक्तिगत स्वार्थ वा अनुचित प्रभावबाट प्रभावित हुन दिनु हुँदैन । सबै निर्णय र सिफारिसहरू राष्ट्रिय हित तथा जनहितलाई केन्द्रमा राखेर गर्नुपर्ने हुन्छ ।
नागरिकको सेवा प्रवाह सुधार र सार्वजनिक कल्याणलाई प्राथमिकता दिने विषय पनि आचारसंहितामा छ ।
पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखिएको छ । जहाँ भनिएको छ, ‘समितिका गतिविधि र निर्णयहरू सम्भव भएसम्म पारदर्शी र उत्तरदायी बनाइनेछ । समितिका निर्णय, सिफारिस तथा प्रतिवेदन स्पष्ट र तथ्यमा आधारित हुनेछन् ।’
स्वार्थको द्वन्द्वको विषयलाई समेत समेटिएको छ ।

‘कुनै सदस्यको व्यक्तिगत, आर्थिक, व्यवसायिक वा पारिवारिक हित समितिमा छलफल हुने विषयसँग सम्बन्धित भएमा उक्त सदस्यले सो विषयमा आफ्नो हितको घोषणा गर्नुपर्नेछ,’ आचारसंहितामा उल्लेख छ ।
यस्तो अवस्थामा सम्बन्धित सदस्यले स्वार्थ बाझिएको विषयको छलफल वा निर्णय प्रक्रियामा सहभागी हुने छैनन् ।
समितिका सबै सदस्यहरूले आफ्नो भूमिकामा निष्पक्षता र विश्वास कायम राखुपर्ने विषय पनि आचारसंहितामा छ ।
अनुशासन र सम्मानको विषयलाई पनि प्राथमिकताका साथ राखिएको छ । जसअनुसार समितिका सदस्यहरूले एकअर्काप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्नुपर्नेछ । बैठकमा शिष्टता, मर्यादा र संसदीय आचरण कायम गरिनेछ ।
सभापतिले तोकेको समयसीमा पालना गर्नु सबै सदस्यहरूको कर्तव्य हुने, समितिका बैठक तथा छलफलका क्रममा सदस्यहरूले निर्धारित समयसीमा भित्रै आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने लगायतका विषय समेत समेटिएको छ ।

गोपनीयता अन्तर्गत रहेर समितिमा छलफल भएका संवेदनशील वा गोपनीय विषयहरू आधिकारिक निर्णय नभएसम्म सार्वजनिक गर्न नपाउने प्रावधान राखिएको छ ।
समितिको कामकारबाहीका सक्रिय सहभागिताको विषय आचारसंसिहतामा छ ।
‘सदस्यहरूले नियमित रूपमा बैठकमा उपस्थित भई सक्रियताका साथ र जिम्मेवार महसुस गरी सहभागिता जनाउनुपर्नेछ,’ आचारसंहितामा भनिएको छ, ‘बैठकमा अनिवार्य उपस्थित हुनु पर्ने र कुनै परिस्तिथका कारण उपस्थित हुन असम्भव भएमा सभापतिलाई पूर्व जानकारी दिनु पर्नेछ ।’
सदस्यले समितिका कार्यक्षेत्रका विषयमा अध्ययन, अनुसन्धानमा आधारित भई छलफलमा योगदान गर्नुपर्ने, तथ्यमा आधारित निर्णय गर्नुपर्ने विषय पनि समेटिएको छ ।
आचारसंहिताको पालना गर्नु सबै सदस्यको कर्तव्य हुनेछ र कुनै सदस्यले आचारसंहिता उल्लंघन गरे समितिले आवश्यक छलफल गरी उपयुक्त सुधारात्मक कदम चाल्न सक्नेछ ।
प्रतिक्रिया 4