News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा निर्माण गर्न लागेको नयाँ फिल्मको पटकथा लेखन र निर्देशन पत्रकार विजयकुमारले गर्ने भएका छन् ।
- लाइट वेन्डर्स प्रालिको ब्यानरमा बन्ने ३ देखि ४ करोड रुपैयाँ बजेटको यस फिल्ममा विपिन मुख्य भूमिकामा देखिनेछन् ।
- फिल्म प्रदर्शन भएपछि फाइनप्रिन्टले यसै कथामा आधारित आख्यान पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ ।
काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा कथानक फिल्म निर्माण गर्ने भएका छन् । यो फिल्मको पटकथा लेखन र निर्देशन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।
नाम सार्वजनिक नभैसकेको यो फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालबाट समेत जानकारी दिएका छन् । जहाँ, विपिन र विजयलाई देख्न सकिन्छ ।
विपिनले लेखेका छन्, ‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो । भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय काम गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।’
विपिन अघि लेख्छन्, ‘तपाईं जस्तो अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग सहकार्य गर्ने अवसरलाई म आफ्नो सौभाग्य ठान्छु । आगामी यात्राका लागि उत्साहित छु ,प्रिय विजय दाई ।’
विपिनको फिल्म कम्पनी लाइट वेन्डर्स प्रालिको ब्यानरमा बन्ने फिल्मको बजेट ३ देखि ४ करोड रुपैयाँ बताइएको छ । सेप्टेम्बर मध्यसम्म पटकथा लेखन सम्पन्न हुने विपिनले बताए ।
फिल्मको शीर्ष भूमिकामा विपिनले अभिनय गर्दैछन् । अन्य कलाकार तय हुन बाँकी छ । फिल्मबारे उनले भने, ‘यो फिल्म जिन्दगीको बारेमा हो । जीवनबारे दर्शनसहितको कथावस्तु हो । एकजना मान्छेको जीवन यात्राको कथा यसमा हुनेछ ।’
ड्रामा जनरामा बन्ने यो फिल्ममाथि पुस्तक पनि प्रकाशनको तयारी छ । फिल्म रिलिजपछि फाइनप्रिन्टले आख्यान पुस्तक संस्करण प्रकाशन गर्ने तयारी रहेको विपिनले बताए । यतिबेला विपिन फिल्म कम्पनीको व्यवस्थापनमा पनि ब्यस्त छन् । उनको कम्पनीले प्राविधिक उपकरण लगायतका व्यवस्थापन कार्य पनि गर्नेछ ।
प्रतिक्रिया 4