News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले भौतिकवादी, हिंसात्मक तथा यौनिक रूपमा उत्तेजक सामग्री उत्पादन गर्ने माइक्रो ड्रामाहरूविरुद्ध कडा निगरानी र कारबाही गर्न निर्देशन दिएको छ ।
- चिनियाँ नियामक निकायले स्वस्थ सामग्रीको पारिस्थितिकी प्रणाली निर्माण गर्न माइक्रो ड्रामा उद्योगमा आकस्मिक अनुगमन गर्ने जनाएको छ ।
- चीनको साइबरस्पेस प्रशासनले जीवनप्रति वितृष्णा जगाउने र कडा मेहनतलाई निरर्थक ठान्ने निराशावादी अनलाइन सामग्रीविरुद्ध २ महिनाको विशेष अभियान चलाएको छ ।
बेइजिङ । चीनले स्थानीय रूपमा निर्माण हुने माइक्रो ड्रामाहरूमा भौतिकवादी, हिंसात्मक तथा यौनिक रूपमा उत्तेजक सामग्रीविरुद्ध कडा निगरानी र कारबाही गर्न प्रान्तीय निकायलाई निर्देशन दिएको छ ।
चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासन (एनआरटीए) का अनुसार यो अभियान विशेषगरी हल्का अश्लीलता (सफ्ट पोर्नोग्राफी), ‘विवाह र सम्बन्धबारे विकृत दृष्टिकोण’ तथा ‘धनसम्पत्तिको भड्किलो प्रदर्शन’ गर्ने सामग्रीलाई लक्षित गरिएको छ ।
यो कदम चिनियाँ सरकारले सामाजिक मान्यता र व्यवहारलाई मार्गदर्शन गर्ने आफ्नो व्यापक प्रयासअन्तर्गत आएको हो । यसअन्तर्गत सरकारले विवाहलाई प्रोत्साहन गर्ने तथा अनलाइन माध्यमबाट हानिकारक विचारधाराको फैलावट रोक्ने प्रयास गरिरहेको छ।
मोबाइल फोनका लागि बनाइने छोटा धारावाहिक भिडियो सामग्री अर्थात् माइक्रो ड्रामाहरू पछिल्ला वर्षहरूमा विश्वभर अत्यन्त लोकप्रिय बनेका छन् । तर यिनमा प्रायः सनसनीपूर्ण सामग्री समावेश हुने गरेको भन्दै आलोचना पनि हुँदै आएको छ ।
धेरैजसो कार्यक्रममा गोप्य अर्बपति पति, निषेधित प्रेम सम्बन्धजस्ता विषयमा आधारित तीव्र गतिका र अप्रत्याशित कथावस्तु प्रस्तुत गरिन्छ, जसले दर्शकलाई लामो समयसम्म स्क्रिनमा बाँधेर राख्ने उद्देश्य राख्छ ।
यस्ता कार्यक्रममा अत्यधिक हिंसा तथा यौनिक रूपमा प्रस्तुत गरिएका पात्रहरूको पनि कमी छैन ।
चीनको सञ्चार नियामक निकायले यस साता जारी गरेको विज्ञप्तिमा यो अभियानलाई माइक्रो ड्रामा उद्योगका लागि ‘स्वस्थ सामग्रीको पारिस्थितिकी तन्त्र निर्माण गर्न अत्यन्त महत्वपूर्ण’ कदमको रूपमा वर्णन गरेको छ ।
अभियानअन्तर्गत हल्का अश्लीलता, ‘भौतिकवाद र धनसम्पत्तिको भड्किलो प्रदर्शन’ तथा ‘विवाह र सम्बन्धबारे विकृत दृष्टिकोण’ जस्ता विषयमा विशेष निगरानी गरिने बताइएको छ । विज्ञप्तिअनुसार ‘सामन्तवादी विषयवस्तु, हिंसात्मक बदला केन्द्रित सामग्री, अश्लील वा भद्दा शीर्षक तथा प्रतिलिपि अधिकार (कपिराइट) उल्लंघन’ विरुद्ध पनि कारबाही गरिनेछ ।
स्थानीय प्रशासनले आफ्नो क्षेत्रभित्र रहेका निर्माण कम्पनीको कामको आकस्मिक अनुगमन गर्नेछन् । अनुगमनका क्रममा देखिएका समस्या सम्बन्धित कम्पनीले तत्काल सुधार गर्नुपर्ने नियामक निकायले जनाएको छ ।
प्रशासनले अभियानबाट प्राप्त निष्कर्षका आधारमा आफ्नै निरीक्षण प्रक्रिया सञ्चालन गर्ने र आवश्यक परे नियमहरूलाई थप परिमार्जन गर्ने पनि जनाएको छ। माइक्रो ड्रामा चीनका लागि बहु-अर्ब डलरको उद्योगका रूपमा विकसित भइसकेको छ । यसले एशियाका अन्य मुलुकदेखि अफ्रिकासम्म ठूलो दर्शक वर्ग आकर्षित गरेको छ ।
दक्षिण कोरिया र अमेरिकाजस्ता देशका निर्माता कम्पनीले पनि यस तीव्र रूपमा विस्तार भइरहेको क्षेत्रमा अवसर खोज्दै आफ्नै माइक्रो ड्रामा स्टुडियो स्थापना गर्न लगानी गरेका छन् । गत वर्ष यस क्षेत्रको तीव्र विस्तारपछि चिनियाँ सरकारले चर्चित तथा संवेदनशील प्रकृतिका माइक्रो ड्रामाहरू निर्माण गर्नुअघि सरकारी स्वीकृति अनिवार्य गरेको थियो ।
चीनका प्रमुख डिजिटल प्लेटफर्म वीच्याट र डोउयिन (टिकटकको चिनियाँ संस्करण) ले पनि यौनिक संकेतयुक्त सामग्री हटाउने अभियान सञ्चालन गरेका थिए । साथै किशोरकिशोरीको दुव्र्यवहार, कानुन आफ्नै हातमा लिने प्रवृत्ति तथा भौतिकवादलाई प्रोत्साहन गर्ने माइक्रो ड्रामाहरूविरुद्ध पनि कदम चालेका थिए ।
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले सामाजिक दृष्टिकोण र व्यवहारमा प्रभाव पार्ने विभिन्न नीति अघि बढाएको छ । यसअन्तर्गत स्वस्थ सम्बन्धलाई प्रोत्साहन गर्ने र आर्थिक चुनौतीबीच धनसम्पत्तिको प्रदर्शनलाई निरुत्साहित गर्ने प्रयास भइरहेको छ ।
सीले लामो समयदेखि ‘साझा समृद्धि’ नीतिको वकालत गर्दै आएका छन् । यो नीतिको उद्देश्य चीनमा बढ्दो आर्थिक असमानता कम गर्नु हो, जुन त्यहाँको संवेदनशील राजनीतिक विषयमध्ये एक मानिन्छ । यसैबीच, चीनको साइबरस्पेस प्रशासनले अर्को छुट्टै अभियान पनि सञ्चालन गरेको छ । दुई महिनासम्म चल्ने उक्त अभियानले अत्यधिक निराशावादी भावना फैलाउने अनलाइन सामग्रीलाई लक्षित गरेको छ ।
प्रशासनका अनुसार उक्त अभियानले जीवनप्रति वितृष्णा जगाउने वा कडा मेहनत गर्नु ‘निरर्थक’ भएको सन्देश दिने सामग्रीलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ । यसको उद्देश्य “सभ्य र विवेकपूर्ण अनलाइन वातावरण” निर्माण गर्नु रहेको बताइएको छ ।
हालका वर्षहरूमा चीनले बेरोजगारी र रोजगारीका लागि तीव्र प्रतिस्पर्धाजस्ता आर्थिक चुनौतीको सामना गरिरहेको छ । यी समस्याका कारण विशेषगरी युवापुस्तामाझ चिन्ता र असुरक्षाको भावना बढ्दै गएको देखिएको छ ।
बीबीसीबाट ।
प्रतिक्रिया 4