+
+
Shares
कर्पाेरेट वार्ता :

विश्वभरिका युनियन पे ग्राहकले फोन पेमार्फत नेपालमा भुक्तानी गर्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोन पे र युनियन पेबीचको सहकार्यले विश्वका १८३ मुलुकका नागरिकलाई नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सहज बनाएको छ ।
  • यस साझेदारीले नेपाल आउने विदेशी पर्यटकलाई देशभित्रका २० लाखभन्दा बढी फोन पे क्यूआर मर्चेन्टमा डिजिटल भुक्तानी गर्न सजिलो हुनेछ ।
  • चिनियाँ र अन्य विदेशी पर्यटकको भुक्तानी प्रक्रिया सरल बनाउँदै नेपालको पर्यटन र अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्य राखिएको छ ।

भुक्तानी प्रणाली सञ्चालक फोन पे र युनियन पे बीचको सहकार्यले १८३ मुलुकका नागरिकले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । यी दुई कम्पनीबीचको व्यावसायिक साझेदारीले नेपाल आउने विदेशी (युनियन पे प्रयोगकर्ता)ले डिजिटल रूपमै भुक्तानी गर्न सक्ने भएका छन् । यो सहकार्यले हङकङ, मकाउ, सिङ्गापुर लगायत विश्वभरका युनियन पे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोन पे क्यूआर मर्चेन्टमा सहज रूपमा क्यूआरमार्फत  भुक्तानी गर्न सक्छन् । डिजिटल भुक्तानीबारे फोन पे र युनियन पे बीचको सहकार्यका चुनौती, अवसर तथा भावी योजनाका विषयमा अनलाइनखबरले फोन पेका प्रमुख सञ्चालक अधिकृत पारस कुँवर र युनियन पेका वरिष्ठ बजार प्रबन्धक राकेश श्रेष्ठसँग संयुक्त कुराकानी गरेको छ ।

केही दिनअघि मात्र व्यावसायिक सहकार्यको सम्झौता गर्नुभएको छ, सम्झौता अनुसार क्रस बोर्डर भुक्तानी सेवा लाइभ पनि भएको छ, फेन पेले युनियन पे र युनियन पेले फोन पे नै छनोट गर्नु पछाडिको कारण के छ ?

राजेश श्रेष्ठ : अन्तर्राष्ट्रिय स्तरमा युनियन पे कार्डहरूको संख्या र बजारको आकारमा ठूलो कम्पनी हो । युनियन पेले विश्वका १८४ भन्दा बढी देशमा कार्ड सेवा दिँदै आएको छ । यो अन्तर्राष्ट्रिय सञ्जालमा नेपाललाई पनि आवद्ध गर्ने सोचसहित फोन पेसँग क्यूआर भुक्तानीको सहकार्य गरिएको हो ।

नेपालमा आउने चाइनिज पर्यटकको संख्या पनि दैनिक बढ्दो छ । उनीहरूले वस्तु तथा सेवा उपभोग गर्दा नगदमा भुक्तानी दिनुपर्ने बाध्यता छ । त्यसको सहजीकरण गर्न आवश्यक थियो । साथै उपयुक्त पार्टनर छनोट गरेर नेपाल आउने चाइनिज पर्यटकका लागि भुक्तानीको प्रक्रिया सहज बनाउने योजनामा नेपाल भित्रको बलियो कम्पनी छनोट गर्दा फोन पे परेको हो ।

हाम्रो अध्ययनले फोन पेको नेटवर्क तुलनात्मक रुपमा बलियो र हामीले चाहेअनुसारको भुक्तानी सेवा दिन सक्षम पाएपछि सहमति गरिएको हो । अहिले विद्युतीय भुक्तानीमा सहज विकल्प भनेको क्यूआर कोड स्थापित भएको छ । युनियन पेले नेपालमा अन्य भुक्तानी प्रणाली चालकहरूसँग पनि सहकार्य गर्छ । फोन पेको क्यूआर भुक्तानी सञ्जाल तुलनात्मक रुपमा बलियो भएकाले पनि रोजाइमा परेको हो।

पारस कुँवर : फोन पेले नेपालको भुक्तानी प्रक्रियालाई सहज बनाउन खेलेको भूमिका लुकाएर लुक्ने खालको छैन । नेपालीमाझ कारोबार सहज बनाइसकेपछि नेपाली र विदेशी बीचको वित्तीय कारोबारलाई पनि सहज बनाउने क्रममा युनियन पेसँग सहकार्य अघि बढेको छ ।

नेपालमा धेरै आउने–जाने विदेशी नागरिक भनेको भारत र चीनका छन् । भारतसँग सहकार्य भइसकेको छ । त्यसले गर्दा भारतीय नागरिक नेपाल आउने तथा खर्च गर्ने क्रम पनि बढेको छ । चीन लगायत अन्य मुलुका नागरिकका लागि समेत भुक्तानी प्रक्रिया सहज गराउन उपयुक्त पक्षको खोजी हुँदा युनियन पेसँग सहकार्य भएको हो । युनियन पेका विश्वभरिका सञ्जालले पनि हामीलाई अकर्षण गरेको हो ।

भारतीय नागरिकलाई नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएपछि उनीहरूले यहाँ गर्ने खर्च पनि बढेको देखिन्छ । डिजिटल भुक्तानी कुनै एक कम्पनीभन्दा पनि समग्र देशको विषय बनेको अवस्थामा नेपाल आउने पर्यटलाई भुक्तानी प्रक्रिया सरल र सहज बनाउने उद्देश्यले युनियन पेसँग सहकार्य गरिएको हो ।

भारतसँग सहकार्यपछिको अवस्था हेर्दा यो एक वर्ष मात्र ६ अर्ब रुपैयाँको कारोबार भारतीय नागरिकबाट भएको छ । त्यसपछि नेपाल बढी आउनेमा चीन तथा एसोसिएट राष्ट्रका नागरिक छन् । ती सबै मुलुकमा युनियन पेको सेवा पुगेकाले पनि प्रविधि, पूर्वाधार र ग्राहक आधारलाई हेरेर युनियन पेसँग सहकार्य गरिएको हो ।

विश्वमै धेरै कार्ड जारी गर्ने पहिलो कम्पनी युनियन पे इन्टरनेसनल हो । १८३ देशमा कार्ड जारी भएको छ । विश्वकै ठूलो कार्ड नेटवर्क भएको युनियन पेसँग सहकार्य गर्दा विश्वभरी नै सेवा विस्तार गर्न सहज हुने सम्भावनाले पनि अकर्षित गरेको हो । अरु नेटवर्कले मोबाइललाई क्यूआरमा जोड्छन भने युनियन पेले कार्डलाई क्यूआरमा जोडेर सेवा प्रदान गर्ने हो ।

सहकार्य गर्ने क्रममा नियामकीय तथा प्राविधिक चुनौती पनि आएका थिए होला नि ?

कुँवर : चीनको पक्षबाट धेरै नियामकीय सीमितता हुँदैन । चीनबाट नेपालमा डिजिटल भुक्तानी सेवा प्रयोग गर्न छेकबार पनि हुने भएन । साथै चीनले आफ्ना नागरिकलाई खर्च गर्ने सीमा पनि तोकेको छैन । कार्डको भुक्तानीको सन्दर्भमा भने सीमा रहेको छ । संसारमा सबैभन्दा धेरै खर्च गर्ने पर्यटकमा चिनियाँ पर्छन् ।

चीनको हकमा नेपालमा सेवा विस्तार गर्न सरकारी संयन्त्रबाट अनुमति त लिनुपर्छ । तर, नेपालको सन्दर्भमा विभिन्न चरणका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सहकार्यको सँग गर्नेदेखि काम सुरु गर्दासम्ममा नियामकसँगको अनुमति लिएपछि मात्र सम्भव छ । नेपालको सन्दर्भमा पनि गाह्रो छैन, तर प्रक्रिया लामो छ । नेपाल राष्ट्र बैंकले यस्तो भुक्तानी सेवालाई प्रवद्र्धन नै गरेको अवस्था छ ।

श्रेष्ठ : फोन पेसँग सहकार्य गर्ने सन्दर्भमा केही प्राविधिक जटिलता नदेखिएका होइनन् । तर, दुवै पक्ष छलफलमा रहेर सहज समाधान गरियो । नियामकीय दृष्टिकोणमा कुनै अप्ठेरा थिएनन् । अहिलेको अवस्थामा नियामकले नै प्रवद्र्धन गर्ने भएकाले सहज नै भयो । पछिल्लो समयमा नेपाल राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाइनाका गभर्नरबीच भेट भएपछि ‘इनबाउण्ड–आउटबाउण्ड’ क्रस बोर्डर भुक्तानीको काम गर्न निकै सहज भएको छ । यसमा सेवा प्रदायकले पहल गर्नुपर्नेमा राष्ट्र बैंकले नै पहल गरेको अवस्था छ ।

फोन पे र युनियन पेको सहकार्यले नेपाल र चीनलाई के कस्ता फाइदा पुग्ने देख्नुहुन्छ ?

श्रेष्ठ : यो सहकार्य दुई संस्थाबीचको व्यावसायिक सहकार्य मात्र नभई दुई देशको सम्बन्धसँग समेत जोडिएको छ । यसले नेपाल चीन सम्बन्ध अझै बलियो बनाउने विश्वास छ । नेपाल चीनको सम्बन्ध फिनटेक पार्टमा पनि सुरु भयो । यसले दुई देशबीचको सम्बन्ध बलियो बनाउन थप मद्दत गर्ने अपेक्षा छ । यो सहकार्यले नेपाल चाइना व्यापारमा सहजीकरण त ल्याउँछ नै त्यसका साथै शैक्षिक तथा स्वास्थ्य उपचारमा समेत सहज हुने देखिन्छ । साथै पर्यटकको आवागमन पनि बढ्ने भएकाले समग्र अर्थतन्त्रलाई नै यागदान गर्नेछ ।

कुँवर : फोन पे र युनियन पेको सहकार्यले नेपालमा प्रविधिको स्तर अन्य देशको तुलनामा कमजोर छैन भन्ने स्थापित भएको छ । भारत र चीन दुवैसँग डिजिटल सहकार्य गरेका छौँ । चाइना युनियन पे भनेको विश्वकै प्रतिष्ठितमध्येको एक भुक्तानी प्रणाली हो । त्यस्तो संस्थासँग काम गर्न सक्ने स्तरमा हाम्रो प्रविधि रहेछ भन्ने सन्देश पनि हो ।

अर्को भनेको दुई देशका जनता जोडिनु, सम्पर्क स्थापना हुनु हो । चीन वा अन्य मुलुकमा एप चलाइरहेकाहरू नेपाल आएमा पनि सोही मार्फत भुक्तानी हुने भएकाले कारोबारमा अर्को मुलुक भन्ने महसुस गर्नु नपर्ने भयो । देश फरक भए पनि भुक्तानीको माध्यम परिवर्तन गर्न नपर्नु भनेको धेरै ठूलो फड्को हो । यो सहकार्यले मुख्यतः चाइनिज पर्यटकलाई आकर्षण गर्न थप मद्दत पुग्ने देखिन्छ । हालसम्म कार्डका आधारमा गरिने भुक्तानी रिटेल मार्केटमा नभएकाले चिनियाँले चाहेर पनि खर्च नगरेको अवस्था थियो ।

तर, क्यूआरले अब समान्यभन्दा सामान्य पसलमा समेत भुक्तानी गर्न सकिन्छ । त्यसले साना तथा मझौला उद्यमलाई पनि सहयोग पुग्नेछ । यो सहकार्यपछि अन्य धेरै विषय खोजी गरेर सहज भुक्तानी मार्फत फाइदा लिन सकिन्छ । यो सहकार्यपछि नेपालको फिनटेकले चाइना युनियन पेले गरेको प्रगति वा एआईमा गरेका कामबाट धेरै सिक्न सक्छ । यो सहकार्य क्यूआरमा मात्र सीमित नभई अन्य क्षेत्रमा पनि विस्तार हुनेछ ।

फोन पेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर ।

डिजिटल पेमेन्टमा बढ्दो ठगीका जोखिम छन् । डिजिटल कारोबामा जनविश्वास कमजोर हुन नदिन के कस्ता उपाय अपनाउनु भएको छ ?

कुँवर : विदेशीबाट पैसा लिनेवित्तिकै सम्पत्ति शुद्धीकरणको जोखिम तथा आशंका जहिले पनि रहन्छ । त्यसका साथै आपराधिक गतिविधिको पैसा नेपाल भित्रिने पो हो कि भन्ने जोखिम पनि हुन्छ । यो सवाल नेपाली अन्य मुलुकमा गएर भुक्तानी गर्दा होस् वा विदेशी नेपाल आएर भुक्तानी गर्दा दुवै पक्षमा रहन्छ ।

त्यसैले कस्तो खालको कारोबार भइरहेको छ भनेर गहन निगरानी भइरहेको हुन्छ । निगरानीका लागि सबै पक्षको उत्तिकै भूमिका रहन्छ । क्यूआर राख्ने फोन पेले होइन, मर्चेन्ट (व्यापारी)ले बैंकमा खाता खोल्छन् । त्यसैले बैंकको भूमिका ‘मर्चेन्ट ड्यू डिलिजेन्स’ हुनुपर्छ । त्यो काम भइरहेकै छ र हुन्छ भन्ने विश्वास रहन्छ । कुनै पनि कारोबार शंकास्पद देखिनेवित्तिकै मर्चेन्ट खाता भएको बैंकमा जानकारी गराइदिने गरेका छाैँ । युनियन पेले शंकास्पद कारोबार नियन्त्रणका लागि स्वचालित प्रणाली विकास गरेर ट्रयाक गर्छ ।

तपाईहरूले सुरु गरेको क्रस बोर्डर पेमेन्ट मार्फत रेमिट्यान्स कारोबार गर्न सकिन्छ कि सकिँदैन ?

श्रेष्ठ : यसमा रेमिट्यान्सको कारोबार पनि गर्न सकिन्छ । रेमिट्यान्सको कारोबार गर्न पाउँदैनौ भनेर रोकेको छैन । नेपाल राष्ट्र बैंकले पनि गर्न सक्छौ भनेको छ । त्यसका लागि रेमिट्यान्स कारोबारको लाइसेन्स हुनुपर्छ अर्थात् भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायक मिलेर गर्छु भन्न पाइँदैन । रेमिट्यान्स कम्पनी मार्फत कारोबार हुनुपर्छ ।

युनियन पेका वरिष्ठ बजार प्रबन्धक राकेश श्रेष्ठ ।

युनियन पेले नेपालको मार्केटलाई लक्षित गर्नुको मुख्य उद्देश्य के हो ?

श्रेष्ठ : नेपाल चीनको छिमेकी मुलक हो । त्यसले गर्दा पनि नेपाल आउने चिनियाँ नागरिकको संख्या धेरै हुने गरेको छ । त्यसका साथै नेपाल चीनबीच प्रत्यक्ष व्यापार सम्बन्ध पनि छ ।

त्यसैले युनियन पेले आफ्नो कार्ड भएका व्यक्तिले संसारभर भुक्तानी झन्झट ब्यहोर्न नपरोस् भन्ने उद्देश्यसहित सेवा विस्तार गर्दै आएको हो । विश्वभर नै युनियन पेको उपस्थिति भएको खण्डमा भुक्तानी गर्न चिनियाँ नागरिकलाई मात्र होइन दोहोरो कारोबार (क्रसबोर्डर) अनुमति भएका सबै देशका नागरिकलाई एकअर्काको वस्तु तथा सेवा उपभोग गरेवापत भुक्तानी सहज हुने भयो । फोन पे र युनियन पेको सहकार्य नेपाल र चीनको अर्थतन्त्रबीच कनेक्सन स्थापित गराउने उद्देश्य पनि हो ।

तपाईहरूले संयुक्त सेवा सुरु गरेको पनि केही दिन वितिसकेको छ, उक्त सेवामा प्रयोगकर्ताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

श्रेष्ठ : सेवा सुरु भएको धेरै दिन नभएपनि प्रयोगकर्ताको प्रतिक्रिया निकै सकारात्मक छ । चीनबाट नेपाल आएको व्यक्तिले नेपालमा पनि चीनमा जस्तै खर्च गरेको पाइयो । कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सोच्नुपर्ने अवस्था नभएको प्रयोगकर्ताको भनाइ छ ।

कुँवर : चिनियाँको हकमा नयाँ भएकाले राम्ररी विश्लेषण गर्ने समय भएको छैन । भारतको हकमा भन्न सक्छु कि नेपाल आउने भारतीयले सहज भुक्तानी गर्न सक्ने भएपछि धेरै खर्च गरेका छन् । नेपाल आउने भारतीय नागरिकको संख्या बढ्दो छ । विगतमा कार्ड वा सीमित नगद मात्र ल्याउन पाउने व्यवस्थाले उनीहरूको योजना पनि सीमित हुने गरेको थियो ।

डिजिटल भुक्तानी गर्न सकिने भएपछि उनीहरूको बसाइ लम्बिनेदेखि खर्च बढ्ने गरेको स्पष्ट देखिन्छ । यूपीआई र फोन पेको सहकार्यले यस्तो सम्भव भएको हो । क्यूआर मार्फत भारतीयले सबैभन्दा धेरै रेस्टुरेन्टमा खर्च गर्ने गरेका छन्, त्यो पनि ग्रामीण भेगसम्म नै खर्च गरेका छन् । आँखा उपचारका लागि नेपाल आउने भारतीयले पनि खर्च गरेका छन् ।

यो सहकार्यपछि आगामी दिनमा के कस्ता योजना छन् ?

कुँवर : युनियन पे र फोन पेबीचको यो सहकार्य क्रस बोर्डर भुक्तानीको सुरुवात मात्र हो । आगामी दिन पनि सहकार्यका असीमित अवसर छन् । पछिल्लो समयमा चीनको प्रगतिको मेरुदण्डका रुपमा प्रविधि रहेको छ । त्यसमा नेपालले सिक्ने अवसर धेरै छ । नेपाल आउने मात्र नभई नेपालबाट जाने नेपालीले पनि भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने विषयलाई व्यवस्थित गर्नुपर्ने छ । राजनीतिक रुपमा नआए पनि आर्थिक रणनीतिका दृष्टिकोणबाट यसलाई जोड्न सकिन्छ । त्यसका साथै डिजिटल पूर्वाधार निर्माण गर्न पनि आगामी दिनमा दुई देशबीच सहकार्य जरुरत छ ।

श्रेष्ठ : आगामी दिन नेपाल आउने चिनियाँ लगायत १८३ देशका नागरिकले डिजिटल रुपमै यहाँ भुक्तानी गर्न सक्ने भए । यो सुरुवात मात्र हो । आगामी दिनमा नेपाली बाहिर जाँदा पनि नेपालमै जस्तोगरी सहज रुपमा भुक्तानी गर्न पाउने व्यवस्था गर्नुपर्नेछ । साथै नेपाल र चीनबीच प्राविधिक पक्षमा निरन्तर सहकार्य हुनेछ ।

प्रविधिका क्षेत्रमा विविध सहकार्य गर्न सकिन्छ । नेपालमा क्रस बोर्डर क्यूआर पेमेन्ट सम्भव बनाउन यूनियनपेलाई साथ दिएको फोन पेलाई विषेश धन्यबाद । भुक्तानी प्रणालीमा हरेक दिन नयाँ इनोभेसन भएको अवस्था छ । त्यसैले एकाअर्कालाई सहयोगको भावना राखेर नै अघि बढ्ने हो ।

युनियन पे पछि अब कुन देशको भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गर्ने योजनामा हुनुहुन्छ ?

कुँवर : नेपालको आन्तरिक भुक्तानी प्रणालीमा धेरै काम गरिसकेका छौँ । छिमेकी मुलुकहरुको हकमा भारतसँग सहकार्य भइसकेको छ । चाइनामा भने युनियन पेको अलावा अन्य कम्पनी पनि छन् । युनियन पेले कार्डको क्षेत्रमा धेरै काम गरेको छ । अब फोन पेले हेर्ने भनेको व्यापार भएको स्थानमा सेवा उपलब्ध गराउने हो । यसमा नियमित खर्च लाग्ने भएकाले व्यवसायको सम्भाव्यता नहेरी सेवा विस्तार गर्नु उपयुक्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?