२२ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर र स्रोत भएको बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा शुक्रबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकाले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताएका हुन् ।
उद्योग, यातायात तथा ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन न्यूनीकरणका लागि विश्वभर ग्रीन हाइड्रोजनको प्रयोग बढ्दै गएको मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक बढाउन तथा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
मन्त्री श्रेष्ठले हरित अर्थतन्त्र निर्माणका लागि विकसित तथा विकासशील मुलुकहरूले ग्रीन हाइड्रोजनमा लगानी बढाइरहेको सन्दर्भमा नेपालले पनि यस अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
स्वच्छ ऊर्जाको उपयोगमार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सृजना गर्न सकिने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले सरकारले ग्रीन हाइड्रोजन नीति–२०८० कार्यान्वयनमा ल्याइसकेको बताउँदै आगामी आर्थिक वर्षको बजेटमार्फत व्यावसायिक उत्पादनका लागि पाइलट परियोजना सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिए । –रासस
प्रतिक्रिया 4