+
+
Shares

एक गाउँपालिका उपाध्यक्ष र नाै वडाध्यक्ष पदमुक्त गर्न नेकपा सप्तरीको सिफारिस

फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन लागेको आरोप

पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सहइन्चार्ज विश्वनाथ साह,  सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ २२ गते १८:५८

२२ जेठ, सप्तरी । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सप्तरीले एक गाउँपालिका उपाध्यक्षसहित सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

सप्तरी जिल्ला अन्तर्गतका पार्टी केन्द्रीय कमिटी सदस्यहरूको राजविराजमा बसेको बैठकले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध लागेको भन्दै उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

पदमुक्तको सिफारिस गरिएकामा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादव, सोही गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ललन यादव, ६ का वडाध्यक्ष कपलेश्वर साह, राजविराज नगरपालिका–७ का वडाध्यक्ष सुभाष यादव,  ८ का वडाध्यक्ष जयनारायण मण्डल र १० का वडाध्यक्ष गंगाराम खंग छन् ।

यस्तै विष्णुपुर गाउँपालिका– १ का वडाध्यक्ष बलराम यादव, रूपनी गाउँपालिका–२  का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका–४ का वडाध्यक्ष मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका– १ का वडाध्यक्ष छत्रबहादुर राउतलाई पनि पदमुक्त गर्न सिफारिस गरिएको छ ।

उनीहरूमाथि प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध लागेर हराउन भूमिका खेलेको आरोप छ । उक्त आरोप पुष्टि नै भएको नेकपा सप्तरीले दाबी गरेको छ ।

पार्टीविरुद्ध गतिविधि गरेकाले उनीहरूलाई कानुनअनुसार पदमुक्त गर्न निर्वाचन आयोगमा कारबाही प्रक्रिया अगाडि बढाउन पार्टी केन्द्रलाई सिफरिस गरेको केन्द्रीय सदस्य गोविन्द न्यौपानेले जानकारी दिए ।

पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सहइन्चार्ज विश्वनाथ साह,  सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

यस्तै बैठकले जिल्लाका १८ वटै पालिकामा असार १० गतेभित्र संगठन समायोजन प्रक्रिया टुंग्याउने निर्णय पनि गरेको केन्द्रीय सदस्य सूर्यनाथ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?