0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रतिनिधि विवादपछि रास्वपा उदयपुरमा पुनः उम्मेदवारी दर्ता

प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवादका कारण स्थगित भएको रास्वपा उदयपुरको  जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया फेरि सुरु भएको छ । 

अभिमन्यु लामिछाने अभिमन्यु लामिछाने
२०८३ जेठ २५ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि छनोट विवादका कारण स्थगित रास्वपा उदयपुरको जिल्ला अधिवेशनमा नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया पुनः शुरू भएको छ।
  • उदयपुर जिल्ला सभापति पदका लागि चित्रकुमार कार्की र जनक बस्नेत चुनावी मैदानमा उत्रिएका छन्।
  • मतदान अधिकारसम्बन्धी विवाद समाधानपछि प्रतिनिधि संख्या घटाएर २५० कायम गरी सोमबार साँझबाट मतदान शुरू गर्ने तय भएको छ।

२५ जेठ, उदयपुर । प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवादका कारण स्थगित भएको रास्वपा उदयपुरको  जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया फेरि सुरु भएको छ ।

निर्वाचन कार्यतालिका रद्द भएपछि सोमबार नयाँ कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गरिएको हो।

निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार जिल्ला सभापति पदका लागि चित्रकुमार कार्की, जनक बस्नेत र ध्रुवप्रसाद पोखरेलले उम्मेदवारी दिएका थिए।

तर पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि सभापतिका लागि कार्की र बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ।

उपसभापति पदमा किरण राउत र कृष्णकुमारी घिमिरे श्रेष्ठ चुनावी मैदानमा छन् भने सचिव पदका लागि जनार्दनकुमार कार्की, भुवन खतिवडा र सूर्यबहादुर तामाङबीच प्रतिस्पर्धा हुने भएको छ। सहसचिव पदमा सूर्यकुमार राई र हुकुममणि पाण्डेले उम्मेदवारी दिएका छन्।

त्यस्तै पाँच सदस्यीय जिल्ला सदस्य पदका लागि अमरबहादुर तामाङ, कौशिला कार्की, गुरुदेव कार्की, तेजमान विश्वकर्मा, पवित्र भट्टराई, बब्लुकुमार गुप्ता, शुशीला थापा, सुनिताकुमारी चौधरी र हेमकुमारी चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यसअघि आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला प्रतिनिधि छनोट र मतदान अधिकारको विषयमा विवाद उत्पन्न भएको थियो।

विवाद चर्किएपछि अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो। केही प्रतिनिधिहरूले नेतृत्व चयन प्रक्रियामा हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरेका थिए।

विवाद समाधानका लागि निर्वाचन समितिले आइतबारको सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गर्दै पुनः उम्मेदवारी मनोनयनबाट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। यससँगै यसअघि दर्ता भएका सबै उम्मेदवारी स्वतः खारेज भएका थिए।

निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार विवाद समाधानपछि प्रतिनिधिको संख्या पुनः व्यवस्थापन गरिएको छ। उनका अनुसार अहिले २५० जना प्रतिनिधि मात्र मतदान प्रक्रियामा सहभागी हुनेछन्। यसअघि करिब ४०० प्रतिनिधि तथा मतदाता रहेकाले विवाद सिर्जना भएको बताइएको छ।

रास्वपाले उदयपुरमा पहिलोपटक जिल्ला अधिवेशनमार्फत निर्वाचित नेतृत्व चयन गर्न लागेको हो। विवादका कारण केही समय प्रभावित बनेको अधिवेशन पुनः निर्वाचन प्रक्रियामा फर्किएसँगै जिल्लामा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ।

निर्वाचन समितिले सोमबार साँझ ७ बजेदेखि मतदान सुरु गर्ने तयारी पूरा भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?