२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राजीनामा मागेका छन् उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर र करका दर लिक गरेको आरोप लागेको छ । यो विषय सोमबार प्रतिनिधिसभाको बैठकमा समेत उठेको थियो ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका थिए ।
‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीको प्रश्न छ ।
नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले समेत यो विषय उठाइन् । अर्यालले भनेकी छन्, ‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ ।’
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् ।
संसद्मा टेबल भएको आर्थिक विधेयक र अर्थमन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको भन्दै उनले यस्तो बताएका हुन् ।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।
उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।
अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।
संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।
संसद्का जानकारहरूका अनुसार संसद्मा पेश भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।
यस्तो पृष्ठभूमिमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।
प्रतिक्रिया 4