0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

फेरियो वैदेशिक रोजगार विभागको मुहार, घटेन श्रमिकका पीडा (भिडियो)

व्यवस्थापनमा सुधार भयो, श्रमिकका पीडा उस्तै

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ जेठ २५ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागमा बिचौलिया र भीडभाड कम भए पनि वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिकहरूको पीडा र न्यायका लागि दौडधुप कायमै छ ।
  • विभागमा दैनिक ४० देखि ५० वटासम्म ठगीका जाहेरी पर्ने गरेका छन् भने पछिल्लो समय संस्थागतभन्दा व्यक्तिगत ठगी बढेको पाइएको छ ।
  • विभागले पुराना उजुरी तथा मुद्दा व्यवस्थापनलाई सहज बनाउन असार मसान्तभित्र नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

२५ जेठ, काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभागको परिसर छिर्दा अचेल विगतको जस्तो ‘कोलाहल’ सुनिँदैन । न झ्याल–झ्यालमा ठेलमठेल गर्ने सेवाग्राहीको ताँती नै छ, न त ‘सेटिङ’ मिलाइदिने भन्दै कानमा सुनाउने बिचौलियाको बिगबिगी ।

कुनै समय श्रमिकका आँशु र आक्रोशले भरिने यो कार्यालय विस्तारै एउटा शान्त प्रशासनिक अड्डाको स्वरूपमा रूपान्तरण हुँदैछ । विभाग परिसरमा बिहानैदेखि बेलुका कार्यालय बन्द नहुँदासम्म हुने भीड अचेल देख्न पाइँदैन ।

विभागका हरेक झ्याल तथा अड्डाहरूमा उजुरी गर्न आउनेहरूको चाङ हुन्थ्यो । हरेकको गुनासो उस्तै उस्तै हुन्थ्यो,– वैदेशिक रोजगारीमा पठाउँछु भनेर मलाई ठग्यो ।

तर, अचेल त्यो ताँती कम हुन्छ । विगतको तुलनामा त्यसरी उजुरी गर्न आउनेहरूको संख्या घटेको देखिन्छ ।
विगतमा दैनिक २ देखि ५ सयको हाराहारीमा विभाग परिसरमा समस्या लिएर सर्वसाधारण पुग्ने गरेका थिए । अनलाइनखबरको टोली बिहीबार विभाग पुग्दा, फाँट तथा कर्मचारीका झ्यालमा भिड थिएन ।

श्रमिकका पीडा कम भएर भीड घटेको होइन । रौतहटका धर्मेन्द्र कुशवाहा बिहीबार काठमाडौं आएको तीन दिन भइसकेको थियो । वैदेशिक रोजगारीका लागि जापान पठाउने भनेर २१ लाख रूपैयाँ भन्दा बढी लिएर एजेन्ट फरार भएपछि उनी रौतहटबाट काठमाडौं आइपुगेका थिए ।

जापान जानका लागि उनले तलास पाण्डे (रौतहत) को खातामा ८ लाख रूपैयाँ, सिमा सुशान्तको खातामा १३ लाख ५० हजार रूपैयाँ हालेका थिए । यसबारे २०८१ भदौ ११ गते विभागमा जाहेरी दर्ता भएको मुद्दा अहिलेसम्म टुंगो लाग्न सकेको छैन् । जसले गर्दा उनी बेला बेला रौतहटबाट काठमाडौं आउन बाध्य छन् ।

चिनजानका आधारमा सिमा र तलासले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै पैसा लिएका थिए । उनको करियर एण्ड इम्प्लोयमेन्ट ओरियन्टेसन (सीईओ) पनि भइसकेको थियो । जब उनी जापान जान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगे । विमानस्थलस्थित अध्यागमन अधिकृतले ‘सीईओ’ म्याद सकिएको भन्दै उनलाई फिर्ता पठाइदियो ।

६ महिनापछि उनले पुनः आवेदन दिए तर त्यसपछि पनि अस्वीकृत भयो । अस्वीकृत भएपछि उनले पैसा फिर्ता लिनका लागि दौडधुप गर्दागर्दै झण्डै २ वर्ष विताइसकेका छन्।

‘जापान पठाउँछु भन्दै तलास र सीमा सुशान्तले साढे २१ लाख रुपैयाँ खाए,’ धर्मेन्द्र मलिन स्वरमा भन्छन्, ‘अहिले पैसा फिर्ता माग्दा उल्टै धम्की दिन्छन् । ‘मुद्दा हालेर केही पाउँदैनस्, म धरौटीमा छुटिहाल्छु भनेर धम्की दिन्छन्’ उनले भने । धर्मेन्द्र अहिले न्यायको खोजीमा विभाग धाइरहेका छन् ।

प्रहरीले अहिले तलासलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, उनले पीडितलाई धरौटीमा छुट्ने भन्दै उल्टै धम्की दिइरहेका छन् । मुद्दा मामिला गर्नु धर्मेन्द्रको चाहना होइन । आफूले दिएको पैसा फिर्ता गरिदिएमा कुनै मुद्दामामलामा पर्न नचाहेको उनले बताए । तर, पैसा फिर्ता पनि नदिने, अदालतबाट धरौटीमा रिहा हुने भन्दै पीडकले धम्क्याउने गरेका छन् । जसले धर्मेन्द्रलाई थप पीडा दिइरहेको छ । उनले दुई वर्षदेखि ऋणको ब्याज तिरिरहेका छन् ।

वैदेशिक रोजगार विभागमा भेटिएका रौतहटका धर्मेन्द्र कुशवाहा ।

उनलाई यतिबेला नयाँ सरकार आएपछि न्याय पाउने आश पलाएको छ । ‘अहिले बालेर सरकार आएको छ, मेरो मुद्दा चाडो नै टुंगो लाग्छ भन्ने आशा बोकेर रौतहटबाट काठमाडौं आएको छु,’ उनले भने ।

वैदेशिक रोजगारीको सपना बोकेर लाखौं रुपैयाँ खर्च गरेका धर्मेन्द्र यतिबेला न्यायको खोजीमा वैदेशिक रोजगार विभाग धाइरहेका छन् । रौतहटका कुशवाहाले जापान पठाइदिने भन्दै रकम लिएका व्यक्तिविरुद्ध विभागमा मुद्दा दर्ता गरिसकेका छन् ।

विभाग परिसरमा भेटिएका उनी कर्मचारीसँग आफ्नो पीडा सुनाउँदै थिए । ‘एउटा मान्छे समातिएको छ, अर्को जापानमा छ । पासपोर्ट रोक्का गरिदिएको भए समातिन्थ्यो होला, तर विभागले नै रोक्का गर्न मानेको छैन,’ उनले भने ।

एउटा ठगी, जसले आमाको अन्तिम मुख हेर्न दिएन

सप्तरी बरमझरियाका बयोबृद्ध अशोक कुमार झा निकै थकित मुद्रामा थिए । अनुहार मलिन थियो । विभागको मुद्दा फाँटका झ्याल झ्याल चहरिरहेका उनको मनमा पीडा छ।

वैदेशिक रोजगारीका लागि छोरालाई रोमानिया पठाउँदा ठगिएका उनी न्यायको लागि भौतारिँदै काठमाडौं धाइरहेका छन् ।

छोरा सुरजलाई रोमानिया पठाउने आशमा उनले बलराम लामालाई १३ लाख २० हजार रुपैयाँ बुझाएका थिए । श्रीमती (सुरजकी आमा) धरानको हस्पिटलमा आईसीयूमा जीवन र मरणको दोसाँधमा रहेका बेला पनि उनले छोरा सुरजलाई विदेश पठाउन बाध्य भए ।

‘एजेन्टले आजै दिल्ली नगए भिसा क्यान्सिल हुन्छ भन्दै छोरालाई जबर्जस्ती पठाए । छोरा दिल्ली पुगेकै दिन श्रीमतीको मृत्यु भयो,’ अशोक भक्कानिन्छन् । न छोरा रोमानिया पुग्यो, न आमाको किरिया गर्न घरमै बस्न पायो । त्यो १३ लाखको ऋणले थिचिएपछि सुरज हार खाएर विगत १ वर्षदेखि कतारको मरुभूमिमा पसिना बगाउँदैछन् ।

झाका अनुसार लाखौं रुपैयाँ विभिन्न व्यक्तिलाई बुझाइएको भएपनि धेरै रकम नगदमा दिएकाले प्रमाण जुटाउन समस्या परेको छ ।

सप्तरी बरमझरियाका अशोक कुमार झा वैदेशिक रोजगार विभागमा ।

यी दुई प्रतिनिधि घटना मात्र हुन् । वैदेशिक रोजगार विभागका अनुसार दैनिक ४० देखि ५० वटासम्म ठगीसम्बन्धी जाहेरी दर्ता हुने गरेका छन् । नयाँ सरकार गठनपछि ठगीका उजुरी लिएर उल्लेख्य संख्यामा विभाग धाउने गरेका छन् ।

विभाग परिसरमा करिब ३ घण्टा अवलोकन गर्दा विगतको तुलनामा भीडभाड कम थियो । अर्कोतर्फ कर्मचारीहरूले सेवाग्राहीसँग गर्ने व्यवहार समेत राम्रो देखिएको थियो । विभागको काम गराईको तौरतरिका विगतको तुलनामा फरक पाइए पनि नीतिगत जटिलताका कारण पीडितहरूसँग मागिने अनेकन प्रमाणका कारण वर्षौसम्म उनीहरुले न्याय पाएका छैनन् ।

उजुरी, गुनासो र मुद्दालाई प्राथमिकतामा राखेका छौं : विभाग प्रवक्ता

विभागकी प्रवक्ता विन्दा आचार्यका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकमा न्याय पाउने अपेक्षा बढेसँगै केही महिनाअघि विभागमा अत्यधिक भीड देखिएको थियो ।

‘उजुरी, गुनासो र मुद्दालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नयाँ उजुरी दर्ता भएको दिन वा भोलिपल्टभित्र अनुसन्धान अधिकृत तोकिने व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

उनका अनुसार विभागले गुनासो व्यवस्थापनका लागि छुट्टै अधिकारी खटाएको छ भने वेबसाइटमा विभिन्न सेवाका लागि १७ वटा सम्पर्क नम्बर सार्वजनिक गरेको छ । उद्दार, श्रम स्वीकृति, सूचना तथा अन्य सेवाका लागि सेवाग्राहीले प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विभागले सेवा प्रवाह सुधारका लागि भौतिक व्यवस्थापनमा समेत परिवर्तन गरेको दाबी गरेको छ । विभाग परिसरमा अनधिकृत रूपमा बसेका बिचौलिया तथा फाराम भर्ने नाममा रकम असुल्ने गतिविधि नियन्त्रण गरिएको आचार्यको भनाइ छ ।

यद्यपि पुराना उजुरी फछ्र्यौटमा भने अझै चुनौती देखिन्छ । विगतका फाइलहरू अव्यवस्थित रहेकाले तिनलाई व्यवस्थित गर्न विशेष टोली खटाइएको विभागले जनाएको छ । असार मसान्तभित्र उजुरी व्यवस्थापनसम्बन्धी सफ्टवेयर सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ ।

आचार्यका अनुसार पछिल्लो समय संस्थागतभन्दा व्यक्तिगत रूपमा हुने ठगी बढ्दो क्रममा छ । सामाजिक सञ्जाल, नक्कली आईडी र विदेशमा बसेर सञ्चालन हुने नेटवर्कमार्फत धेरै नेपाली ठगिने गरेका छन् ।

‘म्यानपावर कम्पनीबाट हुने ठगी अहिले न्यून छ । तर व्यक्तिगत रूपमा पैसा उठाएर ठग्ने प्रवृत्ति बढेको छ,’ उनले भनिन्, ‘धेरैजसो कारोबार प्रमाणबिनै हुने भएकाले पीडितलाई न्याय दिलाउन कठिन भइरहेको छ ।’

विभागका अनुसार उजुरी परेपछि पक्राउ पूर्जी जारी भए पनि आरोपित विदेशमा रहेको अवस्थामा अनुसन्धान प्रक्रिया लम्बिने गरेको छ । यसले पनि पीडितलाई छिटो न्याय दिलाउन समस्या सिर्जना गरेको छ ।

विभागले वैदेशिक रोजगारीका अवसरबारे सूचना प्रवाहलाई पनि तीव्र बनाएको जनाएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवामैत्री बनाउने दाबी गरिरहँदा विभाग परिसरमा भेटिने श्रमिकहरूको पीडा भने अझै उस्तै छ । कसैको जापान जाने सपना अधुरो छ, कसैको रोमानिया पुग्ने आशा । विभागले सुधारका प्रयास भइरहेको दाबी गरिरहेको छ, तर ठगीमा परेकाहरूका लागि सबैभन्दा ठूलो प्रश्न अझै उही छ,– न्याय कहिले पाइन्छ ?

सबै तस्विर र भिडियो  : चन्द्र आले/अनलाइनखबर 

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?