काठमाडौं । संगीत रोयल्टी संकलन समाजले संगीतकर्मीलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम बाँडेको हो ।
स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले प्रज्ञा-प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको थियो । संस्थाको सदस्यता लिनेलाई मात्र रोयल्टी वितरण गर्ने गरिएको छ ।
समाजमा दर्ता नभएका गीत तथा स्रष्टाको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टीबाट वञ्चित हुने गरेका छन् । यस विषयलाई केन्द्रमा राख्दै सीइओ सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्तिका प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो ।
सो अवसरमा संस्थाको वेब पोर्टल पनि सार्वजनिक गरियो । संगीतकर्मीले पोर्टलमार्फत कति रकम जम्मा भयो भन्ने जानकारी पनि पाउने भएका छन् ।
जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार आफूले चाहेको समयमा सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था पनि गर्न लागेको समाजले जनाएको छ ।
सीइओ पाण्डेका अनुसार, अहिले बैंक खातामा रकम पठाउने बारेको प्राविधिक प्रक्रियाको काम भैरहेको छ । डेटा संकलन र बैंकिङ ट्रान्जिक्सनको काम सकिन ३ देखि ६ महिना लाग्ने र त्यसपछि रोयल्टी रकम स्रष्टाको खातामा पुग्ने उनले बताए ।
उनका अनुसार, अहिले २ हजार ३४ जना संगीतकर्मी संस्थामा आबद्ध छन् ।
प्रतिक्रिया 4