News Summary
Generated by OK AI. Editorially reviewed.- कान्स फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘इलिफेन्ट्स इन द फग’ को टोलीलाई पर्यटन र चलचित्र विकास बोर्डले २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेका छन् ।
- सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको विकास र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल र कानून निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
- गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको बताए ।
उनले चलचित्र क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताए । ‘आज यहाँ भएको सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन । यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ’ उनले भने ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताए । कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेटिने उनको भनाइ थियो ।
‘यहाँहरूको जीवन र लगानी जोडिएको यो क्षेत्रलाई उचाल्न विधेयकलाई कस्तो ऐनका रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकारका तर्फबाट म हरसम्भव प्रयास गर्नेछ’, उनले भने, ‘समितिसँग पनि आवश्यक समन्वय र संवाद गरेर अघि बढ्न सकिन्छ ।’

मन्त्री तिमिल्सिनाले विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने विषयमा धेरै बहस हुने गरे पनि लगानी कसरी सिर्जना गर्ने, कसरी उत्पादन गर्ने र कसरी आम्दानी बढाउने भन्ने विषयमा अपेक्षाकृत कम छलफल हुने गरेको उल्लेख गरे । चलचित्र क्षेत्रले देश, समाज र अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान दिने भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको उनको धारणा थियो ।
देशको पहिचान, संस्कृति र आवाज भन्ने गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा सरकारले करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले त्यसको सकारात्मक परिणामका आधारमा आगामी वर्ष थप बजेट वृद्धि गर्न पहल गरिने बताए ।
‘राम्रा चलचित्र, देश बोल्ने चलचित्रलाई राज्यले केही न केही साथ दिनुपर्छ भन्ने सोचका साथ बजेट छुट्याइएको हो’, उनले भने, ‘यसले सकारात्मक नतिजा दियो भने आगामी वर्ष अझ बढी बजेटका लागि आधार तयार हुन्छ ।’
उनले चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न चलचित्र विकास बोर्डलाई थप सक्षम र सबल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै चलचित्र क्षेत्रको उन्नयनका लागि सबै पक्षले हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।
सम्मान समारोहमा कान्स फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘इलिफेन्ट्स इन द फग’को समूहलाई रु दुई लाख ५० हजार राशिसहित सम्मान गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको उल्लेख गर्दै उनले वर्तमान सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएकोमा धन्यवाद व्यक्त गरे ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उनले पर्यटन व्यवसायी तथा चलचित्र निर्माताहरूलाई सिनेमालाई पर्यटन प्रवद्र्धनको दृष्टिकोणबाट समेत हेर्न आग्रह गरे ।
प्रतिक्रिया 4