News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नदीमा आएको बाढीले बगाउँदा ५५ वर्षीया महेश्वरी धमलाको मृत्यु भएको छ भने ४० वर्षीया कल्पना साउद बेपत्ता भएकी छन् ।
- वनमा च्याउ टिप्न गएका उनीहरूलाई शुक्रबार बिहान नदीमा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार नदी किनारमा धमलाको शव फेला परेको छ भने बेपत्ता साउदको खोजी भइरहेको छ ।
२९ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् ।
शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो ।
धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बाढीमा बगेकी कल्पनाको अवस्था अज्ञात छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली घटनास्थलतर्फ खटिएको थियो ।
दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4