+
+
Shares

रेडिटमा नयाँ फिचर: अब कमेन्टमा भिडियो पनि राख्न पाइने

सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले प्रयोगकर्ताहरूका लागि कमेन्ट बक्समा भिडियो समेत राख्न मिल्ने नयाँ फिचर सार्वजनिक गरेको छ ।
  • यस फिचर अन्तर्गत कमेन्टमा राखिएका भिडियोहरू आफैँ प्ले नहुने र प्रयोगकर्ताले क्लिक गरेपछि मात्र चल्ने कम्पनीले जनाएको छ ।
  • सुरक्षा प्रणालीले जाँच गरेपछि मात्र देखिने यो भिडियो फिचर हालका लागि पब्लिक कम्युनिटीहरूमा मात्र उपलब्ध गराइएको छ ।

२९ जेठ, काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

अब रेडिट प्रयोगकर्ताहरूले पोस्टको कमेन्ट (प्रतिक्रिया) बक्समा टेक्स्ट, तस्बिर र गिफसँगै भिडियो पनि राख्न पाउने भएका छन् ।

कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्ताहरूलाई आफ्ना कुराहरू अझ स्पष्ट, रमाइलो र रचनात्मक तरिकाले राख्न मद्दत गर्नेछ । कुनै कुरा लेखेर बुझाउनु भन्दा भिडियो मार्फत देखाउन सजिलो हुने भएकाले यो फिचर ल्याइएको हो ।

रेडिटकी चिफ प्रोडक्ट अफिसर मारिया एन्जेलिडौ-स्मिथले भनेकी छन्, ‘हामी रेडिटलाई अझ बढी रियल र प्रयाेगकर्ता सहजै जोडिन सक्ने प्लेटफर्म बनाउन लागिपरेका छौँ । कमेन्टमा भिडियो राख्न पाउने सुबिधाले प्रयोगकर्ताहरूलाई आफ्ना मनपर्ने कम्युनिटी (सबरेडिट्स) हरूमा कुराकानी गर्न थप सहज बनाउँछ ।’

यो फिचरको प्रारम्भिक परीक्षणका क्रममा गायिका मेल सीले r/popculturechat कम्युनिटीमा भिडियो मार्फत फ्यानहरूसँग कुराकानी गरेकी थिइन् ।

यो फिचर उपलब्ध भएका कम्युनिटीहरूको कमेन्ट बक्समा तस्बिर र गिफसँगै भिडियोको आइकन पनि देखिनेछ । त्यहाँ क्लिक गरेर प्रयोगकर्ताले सिधै भिडियो रेकर्ड गर्न वा मोबाइल/कम्प्युटरमा भएको भिडियो अपलोड गर्न सक्नेछन् ।

तर, कमेन्ट स्क्रोल गर्दा भिडियोहरू आफैँ प्ले हुने भने छैनन् । प्रयोगकर्ताले क्लिक गरेपछि मात्र भिडियो प्ले हुनेछ, जसले गर्दा डाटा र ब्याट्री बचत हुने कम्पनीकाे दाबी छ ।

भिडियाे राख्दा पनि रेडिटको सुरक्षा प्रणालीले यसलाइ जाँच गरेपछि मात्र भिडियो कमेन्टमा देखिनेछ । यो फिचर अहिलेका लागि सबैले हेर्न मिल्ने र पब्लिक कम्युनिटीहरूमा मात्र उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?