+
+
Shares

नृसिंह धामको संरक्षण र प्रवर्द्धन गर्न सांसद थपलियाले गराइन् सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद सीता थपलियाले धादिङस्थित नृसिंह धामको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।
  • बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको धामलाई 'अन्डर वाटर टेम्पल' अवधारणाअनुसार विकास गर्न सकिने उनले प्रतिनिधिसभामा बताइन् ।
  • राज्यको प्रत्यक्ष लगानीविना १६ करोडको पूर्वाधार बनेको धामस्थित गुरुकुलका लागि सरकारी दरबन्दी उपलब्ध गराउन उनले आग्रह गरिन् ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले धादिङस्थित नृसिंह धामको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।

नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’ अवधारणाअन्तर्गत संरक्षण तथा विकास गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको भन्दै उनले त्यसका लागि विशेष योजना ल्याउन माग गरेकी हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘श्री नृसिंह धामलाई राष्ट्रिय धार्मिक–सांस्कृतिक सम्पदाका रूपमा घोषणा गरी यसको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरियोस् ।’

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा अवस्थित नृसिंह धाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित भइसकेको उनले बताइन् ।

धाममा नेपालकै एकमात्र सामवेदीय समावेशी गुरुकुल सञ्चालनमा रहेको उल्लेख गर्दै वैदिक शिक्षा, संस्कृत भाषा तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गुरुकुलले महत्वपूर्ण योगदान पुर्‍याइरहेको जानकारी पनि गराइन् ।

सांसद थपलियाले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण अझ महत्वपूर्ण बनेको उल्लेख गरिन् ।

उनका अनुसार पुरुषोत्तम महिनामा आयोजित पुरुषोत्तम महामहोत्सवमा २८ दिनको अवधिमा मात्रै करिब २६ लाखभन्दा बढी भक्तजनले स्नान तथा दर्शन गरेका थिए । उक्त महोत्सवमा सभामुख, प्रमुख राजनीतिक दलका नेता, मुख्यमन्त्री तथा मन्त्रीहरू समेत सहभागी भएको भन्दै उनले धामको धार्मिक महत्व थप पुष्टि भएको बताइन् ।

सांसद थपलियाले धामका पीठाधीश डा. श्रीवास कृष्ण दास ब्रह्मचारीको नेतृत्वमा राज्यको प्रत्यक्ष लगानीबिनै करिब १६ करोड रुपैयाँ बराबरका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको उल्लेख गर्दै यसलाई धार्मिक पर्यटन र सामुदायिक सहभागितामार्फत विकासको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

उनले सरकारसमक्ष नृसिंह धामलाई राष्ट्रिय धार्मिक–सांस्कृतिक सम्पदाका रूपमा घोषणा गरी संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न, सामवेदीय समावेशी गुरुकुलका लागि आवश्यक सरकारी दरबन्दी तथा शैक्षिक–संस्थागत सहयोग उपलब्ध गराउन र बुढीगण्डकी जलविद्युत् परियोजनासँग समन्वय गरी धामको दीर्घकालीन संरक्षण तथा अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने विशेष योजना अघि बढाउन माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?