३० जेठ, विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहको दिएकाे विवादित अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती र अक्षम्य भएको बताएका हुन् ।
शनिबारको प्रदेशसभा बैठकमा नेकपा सांसद गणेश उप्रेतीले प्रधानमन्त्रीको भनाइप्रति सदनबाट खेद प्रस्ताव पारित गर्न माग गरेका हुन् । ‘प्रधानमन्त्रीले जुन हिसाबले राष्ट्रघात गरेका छन् र मुलुकलाई लल्कारेका छन्, त्यसका विरुद्ध यो सदनले तत्काल खेद प्रस्ताव पारित गर्नुपर्छ,’ उप्रेतीले भने, ‘प्रधानमन्त्रीलाई देशको माटोको माया नभएपनि आम नागरिकलाई आफ्नो देश र प्रदेशको माटोको माया छ ।’
सांसद उप्रेतीले सुस्ता क्षेत्रमा भारतीय प्रहरीको प्रवेशले नागरिकमा गम्भीर चिन्ता थपेको बताए । सीमा रक्षाका लागि भारतीय प्रहरीलाई लखेट्ने स्थानीय नागरिकको साहसको प्रशंसा गर्दै उनले ती नागरिकमाथि मुद्दा लगाउन खोजिए त्यो स्वीकार्य नहुने बताए ।
नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अक्षम्य भएको बताए । मुलुकको कार्यकारी प्रमुखले राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्दा तथ्यपरक र गम्भीर हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।
‘कार्यकारी प्रमुखको गैरजिम्मेवार अभिव्यक्तिले जनतामाथि ठूलो विश्वासघात भएको छ,’ मेन्याङ्बोले भन्नुभयो,‘सुस्तामा भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गर्दा समेत सरकारले सामान्य आपत्तिसम्म जनाउन नसक्नु दुःखद छ । वर्तमान सरकारले राष्ट्रियता, सार्वभौम अधिकार र भौगोलिक अखण्डताका पक्षमा स्पष्ट अडान राख्न सकेन ।’ मुलुकको राष्ट्रियतामाथि कालो बादल मडारिएको उनले बताए ।
प्रतिक्रिया 4