+
+
Shares

विराटनगरबाट देउवा-कोइराला पक्षको सन्देश : विवाद टुंग्याऔं, कांग्रेस जोगाऔं

कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह, नियमित महाधिवेशनको अन्योलता र नयाँ नेतृत्वको कार्यशैलीको विरोध गर्दै संस्थापन इतर पक्षले विराटनगरमा शक्ति प्रदर्शन गरेको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ ३१ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक कलह र नयाँ नेतृत्वको कार्यशैलीविरुद्ध मोरङको विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।
  • भेलाका मुख्य वक्ता डा. शेखर कोइरालाले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र निरङ्कुशताको सुरुवात भएको बताए ।
  • कार्यक्रममा सहभागी अन्य नेताहरूले पार्टी नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आपसी विवाद तत्काल समाधान गर्न आग्रह गरे ।

३१ जेठ, विराटनगर । विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई अस्वीकार गर्दै आएको कांग्रेसको देउवा-कोइराला समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।

कांग्रेसभित्रको बढ्दो आन्तरिक कलह, नियमित महाधिवेशनको अन्योलता र नयाँ नेतृत्वको कार्यशैलीको विरोध गर्दै संस्थापन इतर पक्षले विराटनगरमा शक्ति प्रदर्शन गरेको हो ।

कांग्रेस भित्रको शेरबहादुर देउवा समूह, कृष्णप्रसाद सिटौला समूहले शक्ति प्रदर्शन गर्दा डाक्टर शेखर कोइरालालाई नेताको रूपमा प्रस्तुत गरे । शक्ति प्रदर्शन गर्दा मुख्यवक्ता कोइराला नै थिए ।

पार्टीमा लामो समयसम्म शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको संयुक्त समूहसँग शेखर कोइरालाको अन्तरसंघर्ष थियो ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि शेरबहादुर, कृष्णप्रसाद र शेखर समूह एउटै कित्तामा उभिए ।

आइतबारको भेलामा विजय गच्छदारले कोइरालाविरुद्ध गरेको संघर्ष पनि स्मरण गरे । ‘हिजो शेरबहादुरजीले प्रदेशमा शेखर कोइरालालाई रोक्नु पर्‍यो भन्दा कृष्णप्रसाद सिटौलासँग मिलेर लागेको हो, सभापतिमा दुई भोटले उद्धव थापाले  जित्नुभयो,’ कृष्ण सिटौलालाई हेर्दै उनले भने,‘ आज कहाँ हुनुहुन्छ उद्धव थापा ?’ उद्धव थापा भने संस्थापन समूहमा लागिसकेका छन् ।

राजनीतिक योगदान कम भएपनि शेखर कोइरालालाई नेता मानेर अघि बढेको गच्छदारले बताए । अन्य नेताले पनि शेखरलाई नै नेताको रुपमा प्रस्तुत गर्दै पार्टीको विवाद मिलाउने जिम्मेवारी दिए ।

भेलाका मुख्य वक्ता कोइरालाले पार्टीलाई फुट्न नदिने प्रतिबद्धता जनाए । पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको भन्दै उनले वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने कार्य निरङ्कुशताको सुरुवात भएको बताए ।

पार्टी भित्रको विवाद समाधानका लागि सभापति गगन थापालाई ५ बुँदे प्रस्ताव पेश गरेको बताउँदै उनले त्यो प्रस्ताव अघि नबढेको प्रति चिन्ता व्यक्त गरे ।

‘यी प्रस्तावमा सहमति भएको डेढ महिना भइसक्यो, तर आखिर केले रोकिराखेको छ ?’ इतर पक्षको भेलामा सभापतिलाई पेश गरेको प्रस्ताव वाचन गर्दै उनले भने,‘ किन बारम्बार कुरा फेरिरहनु भएको छ ?

कोइरालाले कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र अखण्डता समेत कमजोर हुने बताए । ‘कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न सक्दैन । हामीले सबै शक्तिलाई एकताबद्ध गर्नुपर्छ,’ उनले भने,‘ कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर हुन्छ ।’

सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने,‘म फुट्न दिने पनि छैन । ढुक्क भएर संगठन निर्माणमा लाग्नुहोस् ।’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वलाई अनावश्यक नाटक बन्द गरेर निर्णय लिने साहस देखाउन आग्रह गरे ।

सिटौलाले पार्टीभित्र आफ्नै साथीहरूमाथि हुने अमानवीय व्यवहार निन्दनीय रहेको बताउँदै नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णयमा पुग्न आग्रह गरे ।

सिटौलाले पार्टीको विशेष महाधिवेशन वा नियमित प्रक्रियाका नाममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए ।

‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ। यो साहस तपाईँको हृदयबाट आउनुपर्छ,’ उनले भने,‘लेख्ने र मेटाउने शक्ति तपाईँहरूसँगै छ, अब एकमुष्ट निर्णय गरेर अघि बढ्नुस् ।’

सिटौलाले विगतका ९ औँदेखि १४ औँ महाधिवेशनसम्मका नजिरहरूलाई सम्झाउँदै उनले भने,‘जे निर्णय गर्ने हो, समयमै र एकमुष्ट गर्नुस् ।’

‘हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ’ सिटौलाले भने,‘शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको त्यो व्यवहार निन्दनीय छ ।’

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी अहिले दुई टुक्रा भएको बताउँदै गर्दै एकताका लागि दुवै पक्ष लचिलो हुनुपर्ने बताए ।

‘बीपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो, उनले भने,‘ आज हामीले सोच्नुपर्ने बेला आएको छ—हामी कसका लागि राजनीति गर्दैछौँ ?’

सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न गर्दै उनले भने,‘के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छरु सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो ।’

‘सभापतिभन्दा जेठो छ पार्टीमा योगदान’

इतर समूहको शक्ति प्रदर्शनमा नेताहरू विजयकुमार गच्छदार र बलबहादुर केसीले आफ्नो राजनीतिक योगदानको प्रसंग उठाए ।

सभापति गगन थापाको उमेर भन्दा बढी समय पार्टीमा योगदान गरेको बताउँदै विजयकुमार गच्छदारले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

‘पार्टी विभाजनको पीडा कस्तो हुन्छ मैले त्यो भोगेको छु,’ गच्छदारले भने,‘ सभापतिजीको भन्दा जेठो छ पार्टीमा राजनीतिक योगदान ।’

तर पछिल्लो समय कांग्रेससँग कांग्रेसी नै डराइरहेको उनले बताए । ‘कांग्रेस तर्सिएको र डराएको जस्तो देखिन्छ । हिजो पञ्चायत व्यवस्थामा राजासँग नडराएको कांग्रेस, माओवादी जनयुद्धका बेला ३ हजारभन्दा बढी साथीहरू गुमाउँदा पनि बिचलित नभएको कांग्रेस अहिले को सँग र किन डराएको ?’ उनले भने,‘ यो भूमि विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको कर्मभूमि हो ।’

२००७ सालयताका क्रान्ति विराटनगरबाटै सुरु भएको बताउँदै उनले कांग्रेसलाई फेरि बलियो बनाउनु पर्ने बताए । ‘तपाईं कांग्रेसजनहरू बलियो हुनुहोस्, आत्मविश्वास बढाउनुहोस्,’ गच्छदारले भने,‘ यो पवित्र भूमिलाई अपवित्र बनाउने प्रयासहरू भइरहेका छन्, त्यसका विरुद्ध हामी सबै एकजुट हुनुपर्छ ।’

नेता केसीले आफ्नो ५५ वर्षको राजनीतिक संघर्ष स्मरण गर्दै पार्टीमा इमानदार कार्यकर्ताको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

बीपीको आदर्श भुल्दा पार्टी संकटमा फसेको उनको निष्कर्ष थियो । बीपी कोइरालाको सिद्धान्त र आदर्शलाई शिरोपर गर्दै आफूले साढे पाँच दशकदेखि निस्वार्थ रूपमा काम गरेको बताउँदै केसीले भने, ‘२०३६ सालको विद्यार्थी आन्दोलनमा मलाई कालो मोसो दलेर, बोरा ओढाएर र जुत्ताको माला लगाएर ठेलागाडामा राखेर घुमाइयो। ७ वर्ष जेल जीवन बिताएँ, तर म कांग्रेसको सिद्धान्तबाट विचलित भइनँ।’  नेता केसीले पार्टीको इतिहास र आन्दोलनमा ठूलो बलिदान दिएका कार्यकर्ताहरूले अहिले उचित संरक्षण र सम्मान पाउन नसकेको बताए ।

 नेता मिनेन्द्र रिजालले म भन्ने घमण्ड त्यागेर अघि बढे विवाद समाधान हुने बताए । नेतृत्वका लागि प्रतिस्पर्धा स्वभाविक भए पनि चुनावपछि पार्टी एउटै हुनुपर्ने उनको तर्क थियो । ‘हामी जहाँ छौँ, एक ठाउँमा छैनौँ,’ उनले भने,‘ गएको ४–५ वर्षदेखि कांग्रेसमा एउटै कुरा दोहोरियो–मलाई बनाउनुस्, सबै ठीक हुन्छु । तर, व्यक्ति केन्द्रित यो सोचले कांग्रेस ठीक हुँदैन भन्ने कुरा पटक–पटक प्रमाणित भइसकेको छ ।’

पूर्वमन्त्री मोहनबहादुर बस्नेतले झनै आक्रामक रूपमा प्रस्तुत हुँदै वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर बनाएको आरोप लगाए ।

नेता मीन विश्वकर्माले ८९ सिट भएको कांग्रेसको साख गिरेर रास्वपाले सर्वदलीय बैठक बोलाउनुपर्ने अवस्था आउनु शर्मनाक भएको बताउँदै सार्थक छलफल गर्न नेतृत्वलाई आग्रह गरे ।

‘कांग्रेस अहिले यस्तो अवस्थामा पुग्यो कि सर्वदलीय बैठक समेत रास्वपाले बोलाउनु पर्ने भयो,यो कांग्रेसका लागि अत्यन्तै शर्मनाक अवस्था हो’ कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै उनले भने,‘अहिले कांग्रेसको अवस्था कफी गफ गर्ने बेला हो कि गम्भीर भएर एकताको संवाद गर्ने बेला हो ? टेलिभिजनमा बोल्ने र सार्वजनिक अभिव्यक्ति दिने तर सार्थक छलफल नगर्ने प्रवृत्तिले पार्टी चल्दैन।’

नेता रामहरि खतिवडाले गुटबन्दी अन्त्य नभए आगामी निर्वाचनमा ७७ वटै जिल्लामा कांग्रेसले लज्जास्पद हार व्यहोर्ने चेतावनी दिए ।

नेतृ सरिता प्रसाईंले पार्टी एकजुट बनाउने अभियानमा अवरोध नगर्न उपसभापति विश्वप्रकाश शर्मालाई चेतावनी दिँदै कार्यकर्ता चिढ्याएर चुनाव जित्न असम्भव रहेको बताइन्।  नेताहरू भीम पराजुली, उमेशजंग रायमाझी, केदार कार्कीलगायतले कांग्रेसलाई एकतावद्ध बनाउन बढी जिम्मेवार हुनुपर्ने बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?