+
+
Shares

पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १२:५८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका छन् ।
  • सडक अनुगमनका क्रममा मन्त्री लम्सालले "फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन" भनी विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
  • नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई सो सडकखण्डमा रहेका ७४ वटा बिजुलीका पोल सार्ने जिम्मा दिएको थियो ।

१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् ।

आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् ।

मन्त्री लम्सालको सो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले भनेका छन् ।

उनी आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका थिए । त्यसक्रममा उनले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा सो अभिव्यक्ति दिएका हुन् ।

सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।

पोल सार्ने जिम्मा पाएको छ सोहन कन्स्ट्रक्सनले

पूर्वी खण्डमा बिजुलीका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।

पूर्वी खण्ड सडक आयोजनाका एक कर्मचारीका अनुसार आदमघाटदेखि मलेखुसम्म बिजुलीका ७४ वटा पोल छन् । कतै नयाँ पोल गाडे पनि पुरानो पोलमा तार यथावत छन् । ‘धेरैजसो पोल सारिएका छैनन् । ती पोलमा करेन्ट प्रवाह भइरहेकाले दुर्घटनाको जोखिम छ, यो कुरा थाहा पाएपछि मन्त्रीज्यू पनि आवेशमा आएर अभिव्यक्ति दिएजस्तो लाग्यो,’ ती कर्मचारीले भने ।

नागढुंगादेखि मुग्लिनसम्मको खण्डमा बिजुलीका पोल सार्न मात्रै १२ करोड रुपैयाँ भन्दा बढी खर्च हुने इस्टिमेट गरिएको छ । पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान छ । त्यसमध्ये ५ करोड रुपैयाँ पूर्वी खण्ड आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरिसकेको छ ।

‘बिजुलीका पोल सार्न लाग्ने खर्चको अब अन्तिम किस्ता मात्र बुझाउन बाँकी छ,’ एक कर्मचारीले भने, ‘विद्युत् प्राधिकरणबाट कागजपत्र आउनासाथ त्यो पनि भुक्तानी हुन्छ । तर पोल नसारिँदा काम गर्न गाह्रो भएको छ ।’

सडक अनुगमनपछि मन्त्री लम्सालले भनेका छन्, ‘यिनीहरुले चाँडै भन्दा चाँडै पोल सार्नु परो । यहाँको पब्लिकले धेरै दु:ख पाए । त्यो भएर काम गराउनु परो राम्रोसँग । यो बिजुलीको पोलको भयो । अनि अर्को मेटेरियलको लागि पनि सहजीकरण गर्न सकिन्छ…’ सार्वजनिक भएको भिडियोमा सुनिन्छ ।

आइतबार नै प्रधानमन्त्री बालेन शाहले ‘देश बनाउने टोली’ लेखेर पूर्वाधार विकास मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङलाई दायाँ–वायाँ राखेको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?