News Summary
Generated by OK AI. Editorially reviewed.- गत वैशाखमा आएको हावाहुरीका कारण क्षतिग्रस्त बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन मर्मतपछि ३१ जेठदेखि पुनः सञ्चालनमा आएको छ ।
- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सालको रुख ढलेर टावरमा क्षति पुर्याएपछि २३ वैशाखदेखि उक्त प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध बनेको थियो ।
- प्रसारण लाइन पुनः सञ्चालन भएसँगै सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति र भोल्टेजमा सुधार आउने प्राधिकरणको विश्वास छ ।
१ असार, काठमाडौं । गत वैशाखमा आएको विनाशकारी हावाहुरीका कारण अवरुद्ध कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुन: सञ्चालनमा आएको छ ।
क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि ३१ जेठदेखि लाइन पुन: सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार २३ वैशाख राति आएको हावाहुरीले बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनमा क्षति पुर्याएको थियो।
हावाहुरी क्रममा मार्गाधिकार क्षेत्रभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको रुख ढलेर टावर नम्बर ४४ र ४५ मा ठोक्किँदा टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । त्यसपछि उक्त लाइन मार्फत हुने विद्युत् प्रवाह पूर्णरूपमा अवरुद्ध भएको थियो ।
चौधरीका अनुसार क्षतिग्रस्त संरचना निर्माण तथा मर्मत कार्य सम्पन्न गरी परीक्षणपछि प्रसारण लाइन पुन: सञ्चालनमा ल्याइएको हो । यसअघि २० माघ २०८२ देखि सञ्चालनमा आएको उक्त लाइन हावाहुरीका कारण करिब एक महिना बन्द थियो ।
प्रसारण लाइन अवरुद्ध अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी लाइन मार्फत सुर्खेत सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति व्यवस्थापन गरिएको थियो ।
प्राधिकरणका अनुसार १३२ केभी प्रसारण लाइन पुन: सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु र रुकुम पश्चिम लगायत जिल्लामा विद्युत् आपूर्ति गुणस्तरमा सुधार आउने, भोल्टेज समस्या घट्ने तथा विद्युत् प्रणाली थप विश्वसनीय बन्ने अपेक्षा गरिएको छ ।
त्यस्तै कर्णाली क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध गर्न सहज हुने र बाँके तथा बर्दिया जिल्लाको विद्युत सेवाको गुणस्तरमा समेत सुधार आउने प्राधिकरणको विश्वास छ ।
प्रतिक्रिया 4