काठमाडौं । फ्रान्सको एभियान शहरमा बुधबार आयोजना हुन गइरहेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन भएको छ । ‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको ‘नो जी–७ गठबन्धन’ले नेतृत्वमा आइतबार दिउँसो प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भई शहरको तोकिएको मार्ग हुँदै बिस्तारै अघि बढेका थिए । तालमा एउटा सेतो डुङ्गा तैरिरहेको देखिन्थ्यो, जसको पालमा ‘नो जी–७’ लेखिएको थियो ।
प्रदर्शनकारीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ जस्ता नारा लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए ।
शुरुमा प्रदर्शन ठूलो मात्रामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढेको भएपनि पछि केही विस्फोटका आवाज सुनिएका थिए । कालो धुवाँ उडिरहेको पनि देखिन्थ्यो । यस क्रममा एउटा टेस्ला कारमा आगो लगाइएको समेत देखिएको थियो ।
जेनेभा क्यान्टनल प्रहरीले प्रदर्शन क्षेत्र नजिकैबाट चक्कु, बञ्चरो, ग्याँसका बट्टा (क्यानिस्टर) र पटाका लगायतका बस्तु बरामद गरिएको जानकारी दिएको छ ।
अधिकारीहरूकाअनुसार यस प्रदर्शनले जेनेभाको सार्वजनिक यातायात सेवामा अवरोध पुर्याएको थियो । जसका कारण दिउँसोदेखि कतिपय ट्रलीबस सेवाहरू निलम्बित गरिएका थियो भने ट्राम नेटवर्क र केही बस रुटहरु परिमार्जन गरिएको थियो ।
फ्रान्सले हालको अस्थिर अन्तर्राष्ट्रिय वातावरणका विषयमा छलफल गर्न बुधबार जी–सेभेन बैठक आह्वान गरेको बताएको छ । यस सम्मेलनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युरोपेली संघका नेताहरू सहभागी हुँदैछन् ।
यसअघि सन् २००३ मा जेनेभाबाट ५० किलोमिटरभन्दा कम दुरीमा रहेको फ्रान्सेली सहर एभियानमा पहिलो पटक जी–७ शिखर सम्मेलन आयोजना हुँदा जेनेभामा ठूला दङ्गाहरू भड्किएका थिए । यस वर्षको शिखर सम्मेलन अगाडि स्विस अधिकारीहरूले करिव ४ हजार सैन्य बल परिचालन गर्नुका साथै फ्रान्ससँगका आफ्ना ३५ वटा सीमा नाकाहरूमध्ये अधिकांश बन्द गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया 4