+
+
Shares

बजेट विनियोजन प्रणालीको पुनरावलोकन गर्न एमाले सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:५४

२ असार, काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अर्थ मन्त्रालयको बजेट विनियोजन र खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि धारणा राख्दै उनले अर्थ मन्त्रालयले बजेट थुपारेर राख्ने तर खर्च गर्न नसक्ने प्रवृत्ति देखाएको भन्दै विनियोजन प्रणालीको पुनरावलोकन गर्न माग पनि गरे ।

सांसद कँडेलले अर्थ मन्त्रालयलाई सुपर मिनिस्ट्रीको संज्ञा दिँदै सबै मन्त्रालयको स्रोत र साधनको साँचो यसैको हातमा भए पनि कार्यसम्पादन भने फितलो रहेको टिप्पणी गरे ।

सांसद कँडेलले अर्थ मन्त्रालयमार्फत खर्च हुने गरी आगामी आर्थिक वर्षका लागि ८ खर्ब ३९ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको तथ्य प्रश्तुत गर्दै विगतका तथ्याङ्कले खर्च गर्ने क्षमता न्युन देखाएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७७ प्रतिशत र २०८२/८३ को चैत मसान्तसम्म ५१ प्रतिशत मात्र खर्च भएको छ ।

विशेषगरी अर्थ विविध शीर्षकमा ९० अर्ब रुपैयाँ विनियोजन गरिनु तर विगतमा उक्त शीर्षकमा विनियोजित ५३ अर्बमध्ये ८ करोड ७७ लाख (०.२ प्रतिशत) मात्र खर्च हुनुले बजेट थुपारेर राख्ने नियत देखिएको उनको जिकिर छ ।

‘देशको अर्थतन्त्रलाई ७ प्रतिशतको आर्थिक वृद्धिमा लैजाने र मुद्रास्फीतिलाई ६ प्रतिशतमा नियन्त्रण गर्ने लक्ष्य राखे पनि अर्थ मन्त्रालयले आफूलाई सोहीअनुसार परिचालन गर्न सकेको छैन,’ उनले भने ।

पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको उल्लेख गर्दै कँडेलले चालू वर्षको अर्धवार्षिक समीक्षासम्म पुँजीगत खर्च १२ प्रतिशत र कूल खर्च ३५ प्रतिशत मात्र हुनुले मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए ।

‘खर्च गर्न नसक्ने भए पैसा किन थुपारेर राख्ने ?’ भन्दै उहाँले विज्ञ अर्थमन्त्री आएपनि विनियोजनको शैलीमा सुधार नदेखिएको गुनासो गरे ।

सांसद कँडेलले विनियोजन विधेयकमा रहेको पुँजीगत बजेटबाट चालु खर्च (सावाँ–ब्याज भुक्तानी) मा रकम लैजान पाउने प्रावधानप्रति पनि आपत्ति जनाए ।

पूर्वाधार विकासका लागि राष्ट्रिय गौरवका आयोजना र रणनीतिक राजमार्गहरूमा न्यून बजेट विनियोजन गरिएकोमा उनले चिन्ता व्यक्त गरे ।

कर्णाली राजमार्गको बजेट अघिल्लो वर्षको तुलनामा २५ करोड घटाएर १ अर्बमा झारिएको, काठमाडौं–तराई फास्ट र्ट्याकका लागि माग गरिएको ५७ अर्बको सट्टा १७ अर्ब मात्र दिइएको र पुष्पलाल मध्यपहाडी राजमार्गमा जम्मा २ अर्ब रुपैयाँ छुट्याइएको भन्दै उनले पूर्वाधार विकासको गति सुस्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?