+
+
Shares

एलियनले पठाएका सन्देशहरू पृथ्वीले फेला पार्न नसक्नुको पछिको कारण अध्ययनले पत्ता लगायो

ब्रह्माण्डमा रहेका एलियनहरूले पठाएका रेडियो सन्देशहरू उनीहरूकै ताराका कारण पृथ्वीसम्म आइपुग्न नसकेको एक नयाँ अध्ययनले देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:५१

२ असार, काठमाडौं । ब्रह्माण्डमा रहेका एलियनहरूले पठाएका रेडियो सन्देशहरू उनीहरूकै ताराका कारण पृथ्वीसम्म आइपुग्न नसकेको एक नयाँ अध्ययनले देखाएको छ।

‘सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स’ इन्स्टिच्युटका वैज्ञानिकहरूका अनुसार अन्तरिक्षका ताराहरूबाट निस्कने शक्तिशाली आँधी र तातो ग्यास (प्लाज्मा) ले ती सन्देशहरूलाई मार्गमै अवरोध गरिदिन्छन्।

एलियनले आफ्नो ग्रहबाट पठाएको रेडियो सङ्केत ताराको वायुमण्डलमा ठोक्किएपछि चारैतिर छरपष्ट हुन्छ। यसरी छरिएका सङ्केतहरू पृथ्वीसम्म आइपुग्दा निकै कमजोर र धमिलो बन्ने भएकाले हाम्रा उपकरणहरूले तिनलाई पहिचान गर्न सक्दैनन्।

विगत लामो समयदेखि वैज्ञानिकहरूले अन्तरिक्षमा एलियनको खोजी गर्दा अत्यन्तै तीखा र स्पष्ट रेडियो तरङ्गहरू मात्रै खोजिरहेका छन्। तर यो नयाँ अध्ययनले त्यस्ता तीखा सङ्केतहरू पनि सौर्य आँधीका कारण फैलने र तिनको तीव्रता घट्ने कुरा पुष्टि गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, यो समस्या हाम्रो आकाशगङ्गामा सबैभन्दा धेरै पाइने ‘एम-ड्वार्फ’ भनिने रातो पुड्के ताराहरूको क्षेत्रमा झन् बढी हुन्छ। यी ताराहरूको वरिपरि जीवनको सम्भावना बढी भए पनि त्यहाँको अन्तरिक्ष मौसम अत्यन्तै खराब हुने गर्दछ।

वैज्ञानिकहरूले यस प्रभावको अध्ययन गर्न हाम्रै सौर्यमण्डलमा रहेका भूउपग्रहहरूले पठाउने रेडियो सङ्केतहरूको प्रयोग गरेका थिए। सूर्यको हावा र ग्यास पार गर्दा ती सङ्केतहरू कसरी बिग्रिन्छन् भन्ने तथ्याङ्कका आधारमा यो नयाँ नियम पत्ता लागेको हो।

यो खोजपछि वैज्ञानिकहरूले अब एलियनका तीखा सन्देश मात्र नभएर ताराहरूका कारण बिग्रेका र फैलिएका कमजोर तरङ्गहरू पनि समात्न सक्ने गरी आफ्ना उपकरण र प्रविधिलाई परिमार्जन गर्नुपर्ने देखिएको छ। (साइन्स डेलीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?