३ असार, काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित भिभान्तामा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई समेटिएको कम्पनीले जनाएको छ।
नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ ।
नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टप लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन् ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै इसेन्सियल सिरिजले नेपाली उपभोक्ताका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम अपलायन्स सोलुसन प्रडक्ट डाइरेक्टर चाङ्हो हानले नेपाली उपभोक्ताबाट प्राप्त सुझाव तथा अध्ययनका आधारमा इसेन्सियल सिरिज विकास गरिएको जानकारी दिए। उनले आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजन रहेको यो श्रृंखलाले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज, सुविधाजनक र समृद्ध बनाउने बताए ।
एलजी इसेन्सियल सिरिज डबल–डोर रेफ्रिजेरेटर फ्रस्ट–फ्री प्रविधियुक्त छ । रेफ्रिजेरेटरले बरफ हटाउन पटक–पटक हातैले सफा गर्नुपर्ने झन्झट हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यानको स्तर नियन्त्रण गर्छ। साथै, अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता भएकाले नेपाली परिवारको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ।
त्यस्तै एलजी इसेन्सियल सिरिज पूर्ण अटोमेटेड टप लोड वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बीएमसी आवरण तथा आईपीएक्स ४ प्रमाणित वाटर रेसिस्टेन्स कन्ट्रोल प्यानल जस्ता सुविधा समावेश छन् ।
एलजी इसेन्सियल सिरिज रुम एयर कन्डिसनरले प्रभावकारी रूपमा कुलिङ तथा हिटिङ दुवै सुविधा प्रदान गर्छ । परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै, न्यून ध्वनिमा सञ्चालन हुने भएकाले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजमा प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ।
प्रतिक्रिया 4