News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन गर्ने भएको छ ।
- बढीमा दुई विषयमा 'नन् ग्रेडेड' प्राप्त गरेका वा अनुपस्थित परीक्षार्थी मात्र पूरक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
- सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४७१ जना विद्यार्थी भने ननग्रेड भएका छन् ।
५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने भएको छ ।
बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ । नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चलान हुने बोर्डले जनाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको नतिजामा १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन् ।
नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । नियमितमा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् ।
आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् ।
समग्रमा नियमति र आंशिक गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ ।
नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
परीक्षा २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया 4