News Summary
Generated by OK AI. Editorially reviewed.- टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाइल्ड कियर सेन्टरबीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
- ‘सँगै खेलौं’ नामक सो कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई तीन महिनासम्म प्रत्येक शनिबार फुटबल प्रशिक्षण दिइनेछ ।
- खेलकुदमार्फत अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाको सामाजिक अन्तरक्रिया, आत्मविश्वास तथा शारीरिक तन्दुरुस्ती विकास गर्ने लक्ष्य राखिएको छ ।
५ असार, काठमाडौं । ‘फुटबल सबैका लागि हो’ भन्ने नारासहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर (टीएफटीसी) र नियो चाइल्ड कियर सेन्टरबीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित टीएफटीसीले राष्ट्रिय टोलीका पूर्व फिजियोथेरापिस्ट शमेद कटिला श्रेष्ठ र सुरज भुसालद्वारा सञ्चालित नियो चाइल्ड कियर सेन्टरसँगको सहकार्यमा ‘सँगै खेलौं : लेट्स प्ले टुगेदर’ नामक विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नियो चाइल्ड कियर सेन्टरले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), डाउन सिन्ड्रोमलगायत न्युरोडाइभर्स बालबालिकालाई शैक्षिक तथा विशेष सेवा प्रदान गर्दै आएको छ । सोही अनुभवलाई आधार बनाएर दुवै संस्थाले खेलकुदमार्फत उनीहरूका लागि समावेशी वातावरण निर्माण गर्ने लक्ष्य लिएका छन् ।
सम्झौताअनुसार नियो चाइल्ड कियर सेन्टरले इच्छुक बालबालिकाको मूल्याङ्कन गरी प्रशिक्षणका लागि सिफारिस गर्नेछ भने टीएफटीसीले सिफारिस भएका बालबालिकालाई फुटबल प्रशिक्षण प्रदान गर्नेछ ।
कार्यक्रमको पहिलो चरणमा २० जना बालबालिकालाई समेटिनेछ । प्रारम्भिक तीन महिनासम्म प्रत्येक शनिबार मात्र प्रशिक्षण सञ्चालन गरिनेछ । कार्यक्रमको प्रभावकारिता तथा सहभागीको प्रतिक्रियाका आधारमा प्रशिक्षण अवधि थप गर्ने योजना रहेको छ ।
सामान्य बालबालिकाको नियमित ग्रासरुट प्रशिक्षण र न्युरोडाइभर्स बालबालिकाको प्रशिक्षण भने फरक समयमा सञ्चालन गरिने जनाइएको छ।
एएसडी भएका बालबालिकालाई समाजमा घुलमिल हुन, सञ्चार गर्न तथा आफ्ना भावना व्यक्त गर्न कठिनाइ हुने भएकाले उनीहरूका लागि उपयुक्त खेलकुद प्लेटफर्मको आवश्यकता महसुस गर्दै कार्यक्रम ल्याइएको संस्थाहरूले बताएका छन् ।
फुटबलमार्फत उनीहरूको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती तथा समूहमा काम गर्ने सीपको विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ।
दुवै संस्थाले यस कार्यक्रमलाई नेपालमा समावेशी खेलकुद विकासको नमुना परियोजनाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । खेलकुद सबैका लागि हो भन्ने मान्यतालाई आत्मसात गर्दै न्युरोडाइभर्स बालबालिकालाई सुरक्षित, सहयोगी र उत्साहजनक वातावरणमा सिक्ने, रमाउने र आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रम असार महिनादेखि सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसको प्रभावकारिताका आधारमा भविष्यमा फुटबलसँगै अन्य खेलहरू पनि थप गर्दै लैजाने योजना रहेको जनाइएको छ ।


प्रतिक्रिया 4