६ असार, धनगढी । प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सुदूरपश्चिमबाट सरुवा भएर जाने बेला गरेका काज सरुवा सम्बन्धीको निर्णय बदर गरिएको छ ।
डीआईजी रानाले आफ्नो सरुवा भएपछि प्रदेशमा ४४४ जना प्रहरी जवानदेखि वरिष्ठ सईसम्मका कर्मचारीको काज सरुवा गरेको पाइएको थियो । त्यो काज सरुवा अस्वभाविक देखिएपछि बदर गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले रानाले अस्वभाविक रूपमा काम सरुवा गरेको पाइएपछि प्रदेश प्रहरी कार्यालयलाई कार्यान्वयन नगर्न निर्देशन दिइएको जानकारी दिए । त्यो विषयमा आन्तरिक रूपमा छानबिन हुने पनि उनले बताए ।
‘सरुवा भइसकेपछि उहाँ(राना)ले अस्वभाविक रूपमा काज सरुवा गरेको पाइएको छ । त्यसपछि त्यो निर्णयलाई कार्यान्वयन नगर्न प्रदेश प्रहरीलाई निर्देशन दिइएको छ,’ डीआईजी काफ्लेले भने ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रहरीको कमान्ड सम्हालेका डीआईजी सानुराम भट्टराईले काज सरुवाको निर्णय बदर गरेका हुन् ।
भट्टराईले शुक्रबार प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई डीआईजी रानाले आफू सरुवा भएपछि गरेका काज सरुवा कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छन् ।
२९ जेठपछि काज सरुवा भएका कुनै पनि प्रहरी कर्मचारीलाई रमाना नदिन निर्देशन आफूबाट भइसकेको उनले जानकारी दिए ।
‘अस्वभाविक रूपमा गरिएको काज सरुवा कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई आदेश भइसकेको छ,’ डीआईजी भट्टराईले भने ।
डीआईजी राना २७ असोज २०८१ मा सुदूरपश्चिम प्रदेशको प्रमुख भएर आएका थिए । रानामाथि धनगढीका विचौलिया र प्रदेशका घुुमुवा प्रहरीमार्फत आर्थिक असुली गर्दै काज सरुवा गरिएको आरोप छ ।
उनले नियमित सरुवा गरेका प्रहरीहरुको समेत आर्थिक असुली गरेर काज सरुवामार्फत थमौती गराउने काम गरेको दाबी गरिन्छ ।
आठ महिनाको कार्यकालमा रानाले झन्डै १३ सय प्रहरीको काज सरुवा गरेका थिए ।
प्रतिक्रिया 4