News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९६० को दशकमा बेलायतको लिभरपुलबाट उदाएको द बिटल्स ब्यान्डले रक एन्ड रोल संगीत र फेसनमार्फत विश्वभरका युवा पुस्तामाझ नयाँ लहर सिर्जना गरेको थियो ।
- २१औं शताब्दीमा दक्षिण कोरियाबाट उदाएको बीटीएस सांगीतिक समूहले कोरियन भाषाको पप संगीतलाई विश्वव्यापी बनाउँदै संगीत बजारमा अंग्रेजी भाषाको वर्चस्वलाई तोडेको छ ।
इतिहासमा कयौं गायक, गायिका र ब्यान्डहरू आउँछन् । जसले आफ्नो समयलाई पक्कै सुमधुर बनाउँछन् । सँगै पुरै पुस्ताको जीवनशैली, सोच र वैश्विक संस्कृतिलाई नै नयाँ मोड दिन्छन् । तर, यस्तो दुर्लभ मौका सबैलाई मिल्दैन ।
१९६० को दशकमा बेलायतको लिभरपुलबाट उदाएको द बिटल्स र २१औं शताब्दीको दोस्रो दशकमा दक्षिण कोरियाको सियोलबाट उदाएको बीटीएस त्यस्तै सांगीतिक समूह हुन् । यी दुवैको सांगीतिक पराकम्पले संसारलाई साँच्चै बदलेको अवस्था छ ।
यी समूहबीच आधा शताब्दीभन्दा बढीको अन्तर छ । तर उनीहरूको प्रभाव, लोकप्रियता र युगान्तकारी भूमिका एकै ठाउँमा आएर जोडिन्छ । उनीहरूले आफ्नो समयको युवा पुस्तालाई आवाज दिए । संस्कृति परिवर्तन गरे । र, संगीतलाई सामाजिक शक्तिमा रूपान्तरण गरे ।
बिटल्स : रक एन्ड रोलको क्रान्ति
१९६० को दशकको सुरुवातमा बेलायतको लिभरपुलमा जोन लेनन, पल म्याककार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टारले बिटल्स सुरु गरेका थिए ।
त्यसबेला उनीहरूको संगीतमा रक एन्ड रोल, स्किफल र पपको मिश्रण थियो । उनीहरू प्रेमका गीतहरू बढी गाउँथे । लभ मी डू, प्लिज प्लिज मी । त्यसका उदाहरण हुन् ।
त्यसबेला विश्व एउटा ठूलो वैचारिक र राजनीतिक संक्रमणबाट गुज्रिरहेको थियो । शीतयुद्धको त्रास, भियतनाम युद्धको तनाव र परम्परागत सामाजिक मूल्यमान्यताहरू विरुद्ध युवा पुस्ताको एक प्रकारको विद्रोह जताततै थियो ।
त्यो कालखण्डमा उदाएको यो ब्यान्डले छोटो समयमा आफूलाई परिमार्जन गर्यो । विशेष गरी उनीहरू पश्चिमा पप संगीतमा मात्र सीमित रहेनन् । पूर्वीय शास्त्रीय बाजा (विशेषगरी जर्ज ह्यारिसनले प्रयोग गरेको सितार), साइकेडेलिक संगीत र स्टुडियोमै पनि नयाँ नयाँ ध्वनिमा खेलिरहे ।

सन् १९६७ मा रिलिज भएको उनीहरूको एल्बम ‘सर्जेन्ट पेपर्स लोन्ली हार्ट्स क्लब ब्यान्ड’ संगीत इतिहासकै सबैभन्दा क्रान्तिकारी एल्बम बन्न पुग्यो । किनकि यो एल्बमले पप संगीतको सम्भावनालाई नै पुनःपरिभाषित गरेको बताइन्छ ।
यसरी बिटल्सले सिर्जना गरेको लहरलाई बिटल्मेनिया भनियो । यो लहरका कारण युवाहरूले बिटल्सका सदस्यहरूले जस्तै लामो कपाल पाल्न थालेका थिए । उनीहरूजस्तै लुगा लगाउन थालेका थिए । एक प्रकारले फेसनमा पूरै हलचल ल्याइदिएको थियो । त्यस्तै बिटल्सको कन्सर्टमा कतिपय युवतीहरू चिच्याउँदै बेहोस् समेत हुने गरेका थिए ।
अर्कोतिर बिटल्सका गीतहरूले तत्कालीन पुस्ताको राजनीतिक चेतनालाई पनि झक्झक्यायो । ब्यान्डका मुख्य गायक जोन लेनिनको लेखनमा रहेको दार्शनिकता र पछि उनीहरूले उठाएको शान्तिको नाराले भियतनाम युद्ध विरोधी आन्दोलनलाई ठूलो बल दिएको थियो ।
उनीहरूको गीतको शब्द पनि उस्तै प्रकारका हुन्थे । मावनतावादी हुन्थे । शान्ति, प्रेम र अस्तित्वको खोजीका हुन्थे । यसो हुँदा उनीहरूको संगीतले तत्कालीन अनुदारवादी समाजलाई भत्काएर आधुनिक उदारवादी र विद्रोही युवा संस्कृतिको जग बसाल्न ठूलो भूमिका खेल्यो ।
बिटल्सलाई द फ्याब फोर भनेर समेत चिनिन्थ्यो । यो ब्यान्डले गरेको अर्को महत्त्वपूर्ण काम भनेको गीत लेखको भूमिकालाई कलाकारको रूपमा स्थापित गर्ने हो । पहिले गायक र गीत लेखकको अलग हुन्थे । तर बिटल्समा जोन लेनन दुवै एक्लै थिए । यो बाहेक बिटल्सको प्रभावमा प्रोगेसिभ रक, साइकेडेलिक रक, पपरक जस्ता अन्य उपविधाहरू पनि जन्मिएका थिए ।

त्यस्तै बिटल्सको अप्रत्यक्ष प्रभाव नेपालको वामपन्थी सांस्कृतिक आन्दोलन राल्फासँग पनि जोडिन्छ । राल्फाका मुख्य सदस्यहरू (रामेश, रायन, मञ्जुल, अरिम) चार जना थिए ।
उनीहरूले बिटल्सको चार सदस्यीय फर्म्याटलाई नक्कल गरेका थिए । गितार बोक्थे । हाफ पाइन्ट लगाउँथे । कपाल लामो पार्थे । राजकुमार बानियाँले ‘रामेशका राल्फा यादहरू’ शीर्षकमा नेपाल म्यागजिन (२०७५)मा यो कुरा उल्लेख गरेका छन् । सोही लेखमा राजा महेन्द्रले अमेरिकामा बिटल्स सुनेको सन्दर्भ पनि उल्लेख छ ।
त्यो बेलादेखि अहिलेसम्म पनि बिटल्सको प्रभाव नेपालमामा पनि उस्तै देखिन्छ ।
अहिले नेपालमा नवयुवा पुस्ताहरू जापानी लेखक हारुकी मुराकामीको नर्वेजियन वुड उपन्यासका कारण बिटल्सको सोही शीर्षकको गीत सुन्नेहरू पनि उत्तिकै छन् । हेइ ज्युड, लेट इट बीदेखि हियरकम द सन सुन्नेसम्म उत्तिकै छन् ।
बीटीएस : जब अंग्रेजी बाहिरको पपले विश्वको ध्यान खिच्यो
बिटल्सले २०औँ शताब्दीको मध्यतिर पप संगीतलाई नयाँ अर्थ दिएजस्तै बीटीएसले पनि २१औँ शताब्दीमा अर्को प्रकारको क्रान्ति गर्यो – विश्वव्यापी सफलताको भाषाको पुनर्लेखन।
आरएम, जिन, सुगा, जे होप, जिमिन, भी र जङकुक सम्मिलित बीटीएसको उदय पश्चिमी संगीत केन्द्रबाट भएको थिएन । उनीहरू दक्षिण कोरियाबाट आएका हुन् । कोरियन भाषामा गाएका हुन् । अत्यन्तै प्रतिस्पर्धा भएको आइडल प्रणालीबाट आएका हुन् ।
सुरुमा उनीहरू विश्व संगीत ‘मुख्यधारा’ बाहिरका कलाकार थिए । तर केही वर्षमै उनीहरूले विश्वकै शक्तिशाली पप बजारलाई आफ्नो उपस्थितिसँग जुध्न बाध्य बनाए ।

यो अर्थमा बीटीएसको संगीतलाई केवल के-पप भनेर सीमित गर्नु उनीहरूको प्रभावको आधा मात्रै हुन आउँछ । अवश्य पनि उनीहरूको प्रस्तुतिमा के-पप उद्योगको अनुशासन, कोरियोग्राफी, दृश्य सौन्दर्य, फ्यानबेस, मल्टिमिडिया आदि पनि सँगै जोडिएर आउँछ । तर, उनीहरूको विशेषता त्योभन्दा अझ गहिरो छ ।
उनीहरूले हिपहप, पप, आरएन्डबी, ईडीएम, रक, ब्यालेड र कन्फेसनल लेखनलाई मिसाएर पृथक धुनहरू बनाए । जसमा एकातिर ऊर्जावान छ भने भने अर्कोतिर युवाहरूको एक्लोपन, मानसिक दबाब, आत्मसम्मान, असफलता र खोज जस्ता कुरा छन् ।
यही कारण बीटीएस आर्मी (बीटीएसका फ्यान जो बिल्टमेनिया समान नै छन्)हरू बीटीएसका सिर्जनालाई आफ्नै जीवनबारे सोच्न बाध्य पार्ने पप दस्तावेज मान्ने गर्छन् । नो मोर ड्रिम, एनओ, ब्लड स्विट एन्ड टियर्स, डीएनए, लभ योर सेल्फ तिनै उदारण हुन् ।
बीटीएसको सबैभन्दा ठूलो योगदान भनेको ग्लोबल कनेक्टिभी हो । धेरै जना संगीतज्ञहरू यो कुरामा सहमत जनाउँछन् । किनकि उनीहरूले सामाजिक सञ्जालालई भरपूरप्रयोग गर्दा उनीहरूको वर्चस्व विश्वमा हुन गयो । आज उनीहरूले बिलबोर्ड चार्टहरूमा अङ्ग्रेजी बाहेकहरूलाई मुख्य धारामा ल्याएका छन् ।
त्यसबाहेक उनीहरूको कारण कोरियन भाषा, संस्कृति, खाना, फेसन विश्वभर फैलिएको छ । आज उनीहरूसँग पाश्चात्य जगतका ठूला र नामी सर्जकहरूले समेत सहकार्य गरिरहेका छन् । अर्कोतर्फ बाँकी विश्वका लाखौं युवाहरूले कोरियन भाषा सिकेका छन् । कोरिया घुम्न गएका छन् । एक हिसाबले उनीहरू पूर्व र पश्चिमबीचको सांस्कृतिक पुल बनेका छन् ।

नेपालको सन्दर्भमा पनि बीटीएस आर्मीहरू राम्रै संख्यामा छन् । सामाजिक सञ्जालबाट एक ठाउँमा आउनेबाहेक उनीहरूले विभिन्न सामाजिक कामहरू पनि गर्दै आइरहेका छन् ।
यसरी समय फरक भएता पनि लिभरपुलको साँघुरो गल्लीबाट निस्किएको बिटल्सको गिटारको धुन र सियोलको सानो स्टुडियोबाट निस्किएको बीटीएसको आधुनिक बिट्सले एउटै कुराको पैरवी गरिरहेको छ – संगीतको ।
पक्कै समय फेरिएको छ । आज ६० को दशकको जस्तो ग्रामोफोन रेकर्ड र क्यासेट प्लेयरको जमाना छैन, आज स्पोटिफाइ र युट्युबको डिजिटल स्ट्रिमिङको युग छ । तर, प्रविधि जतिसुकै फेरिए पनि यी दुई युगान्तकारी सांगीतिक समूह – बिटल्स र बीटीएस – का सिर्जनाहरू मानवताको पक्षमा लागि नै रहनेछन् ।
प्रतिक्रिया 4