८ असार, काठमाडौं । रेबिज संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक जनाको मृत्यु भएको छ । शुक्रबार भर्ना भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा टेकु अस्पतालमा शनिबार मृत्यु भएको हो ।
‘संक्रमित उक्त व्यक्ति शुक्रबार भर्ना हुनुभएको थियो,’ अस्पतालको मेडिकल रेकर्डर शाखाका प्रमुख समीर अधिकारीले भने, ‘उपचारको क्रममा शनिबार मृत्यु भयो ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार ती व्यक्तिले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ ।
‘घरको सानो कुकुरले टोकेको भनेर वास्ता नगरी बस्नुभएको रहेछ । उहाँका आफन्तका अनुरा चार महिना अगाडिको घटना रहेछ,’ ती चिकित्सकले भने ।
रेबिज शतप्रतिशत प्राणघातक रोग हो । त्यसैले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ । यो रोग भाइरस (र्ह्याब्दो परिवारको लिसा भाइरस)बाट हुन्छ । सुरुमा जनावरका र्यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिद्दीसम्म पुग्छ ।
चिकित्सकका अनुसार रेबिज भाइरसले घाँटी र सास फेर्ने नलीका मांसपेशीहरू एकदमै कडा हुन्छन् र खुम्चिन्छन् ।
रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा संक्रमण गर्छ । त्यसैले मानिसमा ‘एकपटक सङ्क्रमण भइसकेपछि’ रेबिजका बिरामीलाई बचाउन नसकिने चिकित्सक बताउँछन् । गिद्दीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा, गिद्दीका मसिना स्नायुबाट भाइरस र्यालका ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्छ ।
रेबिज संक्रमण भएपछि शरीरका विभिन्न अंगहरूले काम गर्न छाड्छन्। त्यसपछि मृत्यु हुने चिकित्सक बनाउँछन् ।
प्रतिक्रिया 4