News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि युवा अधिकारकर्मी राहुल केसीले लुम्बिनी प्रदेश भूगोल कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
- उनले पार्टीलाई संस्थागत, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको चुनावी माहोल थप सक्रिय बनेको छ। यसैबीच युवा तथा मानवअधिकारकर्मी राहुल केसीले लुम्बिनी प्रदेश (भूगोल) कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै केसीले पार्टीलाई संस्थागत, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने उद्देश्यसहित आफू केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
उनी लामो समयदेखि युवा सशक्तीकरण, मानवअधिकार, सामाजिक न्याय तथा नागरिक सहभागिताका क्षेत्रमा सक्रिय छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियान, नेतृत्व विकास कार्यक्रम, संवाद तथा अधिकारमुखी पहलमार्फत युवाको नेतृत्व विकास र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।
अधिकारमा आधारित विकास, सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका केसीले रास्वपाभित्र पनि नीति, संगठन र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाको महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै विभिन्न पदका आकांक्षीहरू मैदानमा उत्रिन थालेका छन्। यस क्रममा राहुल केसीको उम्मेदवारीलाई युवा पुस्ता, नागरिक अधिकार र सुशासनको एजेन्डासँग जोडेर हेरिएको छ।
आगामी महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले पार्टीको भावी दिशा निर्धारण गर्ने भएकाले यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया 4