८ असार, काठमाडौं । काभ्रेपलाञ्चोकका ४० वर्षीय विकास बजगाईं आइतबार रेबिज विरुद्धको खोप (एआरभी) लगाउन करिब ३५ किलोमिटर यात्रा गरी काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे ।
उनलाई शनिबार घर नजिकै कुकुरले टोकेको थियो । उनी सुरुमा नजिकैको शीर मेमोरियल अस्पताल पुगे । तर त्यहाँ खोप उपलब्ध थिएन । त्यसपछि धुलिखेलस्थित सरकारी स्वास्थ्य संस्था हुँदै अन्य सरकारी स्वास्थ्य संस्थामा खोजी गरे । तर कतै पनि खोप पाएनन् ।
विकास बिहान ९ बजे टेकु अस्पतालमा पुगेका थिए । ‘सरकारी स्वास्थ्य संस्थामा खोप कतै रहेन छ । हण्डर मात्रै पाइयो,’ बजगाईंले अनलाइनखबरसँग भने, ‘निजीमा पैसा लाग्ने भएकाले टेकु आउन बाध्य भएँ ।’
रेबिज विरुद्धको खोप २८ दिनभित्र चार डोज लगाउनुपर्ने भएकाले निजी क्षेत्रबाट सबै डोज लगाउँदा करिब चार हजार रुपैयाँ खर्च हुने अवस्था देखिएपछि उनी सरकारी अस्पतालमा निःशुल्क खोपको खोजीमा आएका हुन् ।
देशभर अहिले रेबिज विरुद्धको खोपको अभाव छ । चिकित्सकहरूका अनुसार रेबिज विरुद्धको खोप समयमै लगाए रोगबाट बच्न सकिन्छ । तर संक्रमणका लक्षण देखिन थालेपछि बिरामीको ज्यान जोगाउने सम्भावना अत्यन्त न्यून हुन्छ ।
टेकु अस्पतालमा शनिबार मात्रै रेबिज संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती व्यक्तिले खोप नलगाएको बताए ।
‘परिवारका सदस्यका अनुसार कुकुरले टोकेपछि पनि सामान्य ठानेर खोप लगाइएन भन्ने लक्षण देखिन्छ,’ डा. पुनले अनलाइखबरसँग भने, ‘चार महिनाअघि घरमा पालेकै सानो कुकुरले टोकेको भनेर खोप लगाउन बेवास्ता गर्दा उनले ज्यान नै गुमाउनु पर्यो ।’
नेपालमा अझै पनि सानो घाउ वा सानो कुकुरले टोकेको भन्दै खोप नलगाउने प्रवृत्ति धेरै छ । जसका कारण मानिसको मृत्यु भइरहेको छ ।

रेबिज शतप्रतिशत रोकथाम गर्न सकिने रोग हो । तर खोप नलगाउँदा मृत्यु हुन सक्छ । यस्तो अवस्थामा खोपको पहुँचमा समस्या आउनु दुर्भाग्य हो ।
रेबिज विरुद्धको खोप देशका विभिन्न स्थानमा अभाव भएपछि बिरामीहरू खोप खोज्दै काठमाडौंसम्म धाउन बाध्य छन् । टेकु अस्पतालमा दैनिक ३०० भन्दा बढी व्यक्ति खोप लगाउन आइरहेका छन् । जसमा अधिकांशले स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालमा खोप नपाएको गुनासो गरेका छन् ।
टेकु अस्पतालमा पनि खोपको न्यून मात्रा छ । अस्पतालका एक चिकित्सकका अनुसार भोलिसम्मलाई मात्रै पुग्ने खोप छ।
‘खोपको केही मात्रा हेटौंडाबाट ल्याइएका थियो । अहिलेसम्म मागेर चलाएका छौं,’ ती चिकित्सकले भने, ‘सबैतिर खोप नभएपछि टेकुमा भिड लागेको छ । त्यही पनि भोलिसम्मलाई मात्र पुग्छ ।’
आइतबार मात्रै अस्पतालको बाह्यरोग विभाग (ओपीडी) मा रेबिज खोप लगाउन २७० जना पुगेका छन् ।
पछिल्ला दिनहरूमा सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट समेत बिरामी आउन थालेपछि चाप झन् बढेको छ ।
आर्थिक अभावका कारण निजी क्षेत्रबाट खोप खरिद गर्न नसक्ने र काठमाडौं आउन नसक्ने नागरिकहरू जोखिम मोलेर बस्न बाध्य छन् । ‘खोप अभाव लम्बिँदै गए रेबिजबाट हुने मृत्युदर बढ्न सक्ने खतरा छ,’ डा. पुनले भने, ‘अहिले खोप नपाएका मानिसको मृत्युदुर दुई–तीन महिनापछि देखिन्छ ।’
गम्भीर र प्राणघातक रोगविरुद्ध सरकारले हरेक वर्ष करिब तीन लाख डोज खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो । तर दुई पटक खोप खरिदको टेन्डर रद्द भएको हुँदा देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज खोपको चरम अभाव भएको छ ।

दुई पटक टेन्डर रद्द
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. अनुज भट्टचनले यस वर्ष रेबिज खोप खरिद प्रक्रिया समयमै टुंगिन नसक्दा आपूर्ति प्रभावित भएको बताए ।
उनले खरिद प्रक्रिया दुई पटक अगाडि बढ्न नसकेको स्वीकार गर्दै अहिले तेस्रो प्रयासअन्तर्गत प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
‘खरिद प्रक्रिया अगाडि बढेको छ । हाम्रो टोली यसलाई सफल बनाउन पूर्ण रूपमा लागिरहेको छ र अहिले अन्तिम चरणमा पुगेको अवस्था छ,’ डा. भट्टचनले अनलाइनखबरसँग भने ।
खरिद प्रक्रिया किन रोकियो भन्ने प्रश्नमा उनले त्यसका प्राविधिक तथा प्रक्रियागत पक्ष रहेको उल्लेख गरे । ‘दुई पटक प्रक्रिया अगाडि बढ्न सकेन । त्यसका आफ्नै कारण र प्रक्रिया छन्,’ उनले भने ।
खोप अभावलाई व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको उनको भनाइ छ । केन्द्र सरकारले खोप नपाएपछि अहिले कतिपय प्रदेशले आफ्नै स्रोतबाट खोप खरिद गरेर व्यवस्थापन गरिरहेका छन् ।
महाशाखाले हाल उपलब्ध मौज्दातको मूल्यांकन गर्दै आवश्यक स्थानमा खोप स्थानान्तरण गर्ने तयारीसमेत गरेको छ । ‘जहाँ खोप बढी छ र तत्काल आवश्यकता कम छ । त्यहाँबाट अभाव भएका क्षेत्रमा पठाउने गरी रिभर्स लजिस्टिक्सको अभ्यास पनि गरिरहेका छौं,’ डा. भट्टचनले भने ।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड ९८ लाख रुपैयाँ बराबरको रेबिज विरुद्धको खोप आपूर्तिका लागि ठेक्का भइसकेको छ ।
एक एमएलको २ लाख ३४ हजार भाइल र ०.५ एमएलको एक लाख ९० हजार भाइल एन्टी रेबिज भ्याक्सिन आपूर्तिका लागि टेन्डर भएको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख चेतननिधि वाग्लेले बताए ।

‘खोप नै एक मात्र उपाय’
रेबिज संक्रमित जनावर, विशेषगरी कुकुर र स्यालको र्यालबाट सर्ने घातक रोग हो । नेपालमा हुने अधिकांश रेबिज रोगमा कुकुरको टोकाइ नै कारक देखिएको छ । नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिज उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
वर्षेनी ५० हजारभन्दा बढी मानिसले कुकुरको टोकाइको उपचार गराउने स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । प्रत्येक वर्ष १०० भन्दा बढी व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको छ ।
रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिन केही दिनदेखि महिनौंसम्म पनि लाग्न सक्ने चिकित्सक बताउँछन् । रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर संक्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो हुन्छ । रेबिज लागेर गम्भीर अवस्थामा पुगिसकेपछि मृत्युबाहेक विकल्प छैन ।
‘संक्रमित कुकुर वा अन्य जनावरले टोकेको ९ दिनदेखि तीन महिनासम्ममा लक्षण देखिन्छ,’ डा. पुनले भने, ‘कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन । कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन् ।’
खोप अभाव लम्बिँदै गए कतिपय मानिस आर्थिक, भौगोलिक वा समयको अभावका कारण खोप लगाउन नआउने र त्यसले रेबिज संक्रमणको जोखिम बढाउने उनको भनाइ छ ।
‘जोखिममा परेका सबै व्यक्ति काठमाडौं आउन सक्दैनन् । कतिपयले जानाजान ढिलाइ गर्न सक्छन्, जुन मृत्युको कारण बन्छ,’ डा. पुन भन्छन्, ‘यति गम्भीर विषय सरकारले छिटो समधान गर्नुपर्छ ।’
रेबिज प्राणघातक रोग हो । त्यसैले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ । यो रोग भाइरस (ह्र्याब्दो परिवारको लिसा भाइरस)बाट हुन्छ । सुरुमा जनावरको र्यालमा रहेका भाइरस टोकाइको घाउबाट शरीरभित्र पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेसी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।
रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा संक्रमण गर्छ । त्यसैले मानिसमा ‘एक पटक सङ्क्रमण भइसकेपछि बिरामीलाई बचाउन नसकिने चिकित्सक बताउँछन् । गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छ । अन्त्यमा, गिदीका मसिना स्नायुबाट भाइरस र्यालका ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्छ । विभिन्न अंग फेल भएर मानिसको मृत्यु नै हुन्छ ।
चिकित्सकका अनुसार रेबिज विरुद्धको खोप जति छिटो खोप लगाउँदा त्यति नै बढी सुरक्षा हुन्छ ।
रेबिजको इन्क्युबेसन अवधि सामान्यतया एकदेखि तीन महिनासम्म हुन सक्छ । तर टोकेको स्थान, घाउको गहिराइ र जनावर संक्रमित थियो वा थिएन भन्ने आधारमा लक्षण देखिने समय फरक पर्न सक्छ । विशेषगरी टाउको, घाँटी वा औंलाको टुप्पो जस्ता भागमा टोकेको अवस्थामा संक्रमण छिटो फैलिन सक्छ ।
डा. पुनका अनुसार कुकुर (वा जनावर)ले टोकेर घाउ सानो देखिँदा केही हुँदैन भनेर खोप नलगाउँदा मृत्यु भएका धेरै उदाहरण छन् ।
रेबिज नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको भ्याक्सिन दिनुपर्छ । सबैभन्दा पहिले त मानिसलाई रोगबारे चेतना हुनु आवश्यक छ । जनावरले टोकेको थाहा पाउनासाथ जतिसक्दो छिटो खोप लगाउन आवश्यक छ ।
‘रेबिजको संक्रमण मांसपेसी हुँदै नसामा फैलियो भने यसको कुनै उपचार छैन । त्यसैले खोप नै रेबिज लाग्नबाट बचाउने एक मात्र उपाय हो,’ डा. पुन भन्छन् ।
प्रतिक्रिया 4