१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा खानेतेल आयात उच्च दरले वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष साउनदेखि जेठसम्मको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट समग्रमा १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको झन्डै ९५ करोड ५० लाख लिटर कच्चा तथा प्रशोधित खानेतेल र बोसो आयात गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १ खर्ब ३५ अर्ब रुपैयाँ बढीको खानेतेल र बोसो आयात भएको थियो ।
स्वदेशी उत्पादनले बजारको सानो हिस्सा पनि धान्न नसक्दा खानेतेलमा अर्बौं रुपैयाँ विदेशिने गरेको छ । कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा भटमासको कच्चा तेलले ओगटेको छ ।
तथ्यांक अनुसार यस अवधिमा कुल ७२ करोड ६४ लाख ९९ हजार लिटर कच्चा भटमासको तेल आयात भएको छ, जसको मूल्य १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा यो तेल ९५ अर्ब ७२ करोड रुपैयाँको ६३ करोड ३ लाख ५१ हजार ८ सय ६३ लिटर भित्रिएको थियो ।
भटमासपछि दोस्रोमा कच्चा सूर्यमुखी तेल सर्वाधिक आयात भएको छ । यसको कुल परिमाण ११ करोड ३८ लाख ३१ हजार लिटर रहेको छ भने यसका लागि १९ अर्ब ११ करोड रुपैयाँ बाहिरिएको छ । गत वर्षको यसै अवधिमा १८ करोड २ लाख ९१ हजार ४८३ लिटर आयात हुँदा २६ अर्ब ८७ करोड रुपैयाँ बाहिरिएको थियो ।
तेस्रो स्थानमा पाम तेल रहेको छ । कच्चा पाम तेल मात्रै कुल ८ करोड १६ लाख ४७ हजार लिटर आयात भएको छ । जसको मूल्य १२ अर्ब ९७ करोड रुपैयाँ छ । कच्चा पामबाहेक प्रशोधित पाम तेल र पाम ओलिन पनि ५ अर्ब ४६ करोड रुपैयाँको ३ करोड २१ लाख लिटर भित्रिएको छ ।
गत वर्षको यसै अवधिमा कच्चा पाम आयल ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ करोड ८२ लाख लिटर आयात हुँदा प्रशोधित पाम आयल ४ अर्ब १७ करोड रुपैयाँको २ करोड ७७ लाख लिटर आयात भएको थियो । अन्य प्रशोधित पाम तेल १ अर्ब १३ करोड ४ लाख ४५ हजार रुपैयाँको आयात भएको थियो ।
कुन कुन देशबाट भित्रिन्छ खाने तेल ?
चालु आवको ११ महिनामा कुल १ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको भटमासको तेल आयात हुँदा यसको सबैभन्दा ठूलो हिस्सा दक्षिण अमेरिकी राष्ट्रहरूबाट आएको देखिन्छ ।
अर्जेन्टिनाबाट सबैभन्दा धेरै ५४ करोड ९६ लाख ५७ हजार लिटर भटमास तेल आयात भएको छ, जसको मूल्य ९० अर्ब ११ करोड ५५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी ब्राजिलबाट १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको ९ करोड ३८ लाख ८० हजार लिटर भित्रिएको छ ।
दक्षिण अमेरिकाकै अर्को देश पाराग्वेबाट १ अर्ब ४७ करोड ८८ लाख रुपैयाँको ९८ लाख लिटर भटमास तेल आएको छ । छिमेकी देश चीनबाट ८ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको ५ करोड ११ लाख ३१ हजार लिटर भटमास तेल आयात गरिएको छ ।
यसबाहेक थाइल्यान्डबाट २ अर्ब ३६ करोड रुपैयाँको १ करोड ४३ लाख लिटर र युक्रेनबाट १ अर्ब २५ करोड रुपैयाँको ७७ लाख लिटर कच्चा भटमास तेल भित्रिएको छ ।
सूर्यमुखी तेलको आयातमा पनि अर्जेन्टिना नै पहिलो नम्बरमा देखिएको छ । त्यहाँबाट १४ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ बराबरको ९ करोड २ लाख ७९ हजार लिटर कच्चा सूर्यमुखी तेल आयात भएको छ ।
युद्धको चपेटामा परेको भए पनि युक्रेनबाट ४ अर्ब ३२ करोड १७ लाख रुपैयाँ मूल्यको २ करोड ३५ लाख ५१ हजार लिटर कच्चा सूर्यमुखी तेल भित्रिएको छ ।
प्रशोधित सूर्यमुखी तेल भने मलेसियाबाट १३ करोड ६८ लाख रुपैयाँको साढे ५ लाख लिटर, भारतबाट करिब ३ करोड ८ लाख रुपैयाँको १ लाख २३ हजार लिटर र टर्कीबाट २ करोड ६ लाख रुपैयाँको १ लाख लिटर आयात भएको छ ।
पाम तेलको आयातमा दक्षिणपूर्वी एसियाली देशहरू इन्डोनेसिया र मलेसियाको दबदबा रहेको छ । कच्चा पाम तेलको सबैभन्दा ठूलो स्रोत इन्डोनेसियाबाट ८ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ बराबरको ५ करोड ५३ लाख ८९ हजार लिटर भित्रिएको छ भने थप १ अर्ब ३३ करोड रुपैयाँको ८० लाख लिटर प्रशोधित पाम ओलिन पनि इन्डोनेसियाबाटै आएको छ ।
यसैगरी मलेसियाबाट २ अर्ब २२ करोड ७६ लाख रुपैयाँको १ करोड ३० लाख १४ हजार लिटर कच्चा पाम तेल भित्रिएको छ । प्रशोधित पाम ओलिन भने मलेसियाबाट धेरै अर्थात् २ अर्ब ७२ करोड १४ लाख रुपैयाँ मूल्यको १ करोड ६० लाख लिटर भित्रिएको छ ।
यसबाहेक थाइल्यान्डबाट १ अर्ब ८५ करोड ४८ लाख रुपैयाँको १ करोड १६ लाख लिटर कच्चा पाम तेल भित्रिएको तथ्यांकमा उल्लेख छ ।
नेपाली भान्सामा परम्परागत रूपमा धेरै रुचाइने तोरी (मस्टर्ड तथा रेपसिड) को तेलको आयात भने धेरैजसो भारतबाटै भएको छ । भारतबाट कुल ७१ हजार ६ सय ९८ लिटर तोरी र रेपसिडको तेल आयात भएको छ, जसको मूल्य करिब १ करोड ३५ लाख रुपैयाँ परेको छ । यस बाहेक चीनबाट ३ सय लिटर मात्रै तोरीको तेल भित्रिएको छ ।
यी प्रमुख तेलहरूका अतिरिक्त अन्य विभिन्न प्रकारका तेल र औद्योगिक बोसोको आयात पनि उल्लेख्य मात्रामा भएको छ । औद्योगिक प्रयोगमा आउने वनस्पति बोसो मलेसियाबाट २९ करोड २४ लाख रुपैयाँको ९ लाख ३ हजार लिटर र भारतबाट १३ करोड १९ लाख रुपैयाँको ४ लाख १२ हजार लिटर भित्रिएको छ ।
यसैगरी नरिवलको तेल (कच्चा र प्रशोधित दुवै गरी) भारतबाट १२ करोड ६६ लाख रुपैयाँ बराबरको २ लाख ९ हजार लिटर र इन्डोनेसियाबाट १ करोड ८६ लाख रुपैयाँको ५० हजार लिटर भित्रिएको छ ।
कपासको गेडाको तेल पूर्णरूपमा भारतबाट मात्र आयात भएको छ, जसमा प्रशोधित र कच्चा गरी करिब ८ करोड रुपैयाँ मूल्यको साढे ३ लाख लिटर भित्रिएको छ ।
प्रिमियम मानिने ओलिभ आयल स्पेनबाट सबैभन्दा धेरै ५ करोड २६ लाख रुपैयाँ बराबरको ६६ हजार लिटर आयात भएको छ भने इटाली र टर्कीबाट पनि यसको आयात भएको छ । यस्तै, तिलको तेल चीनबाट १ करोड ६८ लाख रुपैयाँको ३५ हजार लिटर र भारतबाट ८३ लाख रुपैयाँको ३० हजार लिटर भित्रिएको तथ्यांकले देखाएको छ ।
कति उठ्यो राजस्व ?
यस ११ महिनाको अवधिमा खानेतेल र बोसोजन्य पदार्थको आयातबाट सरकारले कुल ११ अर्ब ३८ करोड २७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कच्चा र प्रशोधित भटमासको तेल आयातबाट सरकारले सबैभन्दा धेरै अर्थात् ५ अर्ब २४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यसमा कच्चा भटमास तेलको मात्रै ५ अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ ।
यस्तै कच्चा र प्रशोधित सूर्यमुखी तेल आयातबाट सरकारले कुल ३ अर्ब १५ करोड २२ लाख रुपैयाँ राजस्व उठाएको छ । जसमध्ये कच्चा सूर्यमुखी तेलको मात्रै ३ अर्ब ९ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।
पाम तेल (कच्चा, प्रशोधित पाम ओलिन, पाम स्टिरिन आदि ) आयातबाट सरकारले कुल २ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
वनस्पति बोसो ओलिभ आयल, नरिवलको तेल, तोरीको तेल लगायत अन्य सबै प्रकारका तेल तथा बोसो आयातबाट सरकारले करिब ३० करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
आयातित तेल प्रशोधन गरेपछि भारत निर्यात
११ महिना नेपालले विभिन्न प्रकारका प्रशोधित खानेतेल र वनस्पति बोसो निर्यात गरेर कुल १ खर्ब ३१ अर्ब ६ करोड २० लाख ३२ हजार रुपैयाँ बराबर रकम भित्र्याएको छ ।
परिमाणको आधारमा हेर्दा यस अवधिमा नेपालले ५३ करोड ८ लाख लिटरभन्दा बढी प्रशोधित भटमासको तेल र करिब ११ करोड ७५ लाख लिटर अन्य विभिन्न प्रकारका तेल तथा बोसो निर्यात गरेको छ । नेपालको यो सम्पूर्ण तेल निर्यातको ९९.९ प्रतिशत बजार हिस्सा छिमेकी देश भारतले ओगटेको छ ।
नेपालबाट निर्यात हुने तेलमध्ये सबैभन्दा ठूलो हिस्सा प्रशोधित भटमासको तेलले ओगटेको छ । तथ्यांक अनुसार यस ११ महिनाको अवधिमा मात्रै नेपालले कुल ५३ करोड ८ लाख २८ हजार ९ सय ३८ लिटर प्रशोधित भटमासको तेल निर्यात गरेको छ । यसबाट मात्रै मुलुकले १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ ।
यो कुल निर्यात रकमको झण्डै ८६ प्रतिशत हिस्सा हो । १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्पूर्ण प्रशोधित भटमासको तेल छिमेकी देश भारतमा मात्रै निर्यात भएको छ ।
भटमासपछि नेपालबाट सबैभन्दा धेरै निर्यात हुने दोस्रो तेलमा प्रशोधित सूर्यमुखी तेल पर्दछ । यस अवधिमा कुल ६ करोड ५१ लाख ६४ हजार २ सय ५९ लिटर प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ, जसको कुल मूल्य ७ अर्ब ९९ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
करिब ८ अर्ब रुपैयाँ बराबरको सूर्यमुखी तेल पनि शतप्रतिशत भारतमा नै निर्यात भएको तथ्यांकले देखाएको छ । निर्यातको तेस्रो ठूलो हिस्सा पाम तेलले ओगटेको छ । नेपालले कच्चा पाम ल्याएर प्रशोधित पाम तेल, पाम ओलिन र पाम स्टिरिन बनाएर निर्यात गर्ने गरेको छ ।
तथ्यांक अनुसार यस अवधिमा ३ करोड २ लाख ५ हजार लिटर पाम ओलिन निर्यात गरेर ६ अर्ब १४ करोड २ लाख रुपैयाँ र ६२ लाख ७० हजार लिटर प्रशोधित पाम तेल निर्यात गरेर १ अर्ब १६ करोड ९० लाख रुपैयाँ आर्जन भएको छ ।
यसबाहेक २५ हजार लिटर पाम स्टिरिन र अन्य पाम तेलसमेत गरी कुल ३ करोड ६५ लाख १ हजार लिटरभन्दा बढी पामजन्य तेल निर्यात भएको छ । यसबाट नेपालले कुल ७ अर्ब ३१ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यो पाम तेल पनि शतप्रतिशत भारत नै गएको छ ।
यसका अतिरिक्त तोरी, क्यानोला र रेपसिड लगायत विभिन्न तेलहरूको निर्यात पनि उल्लेख्य मात्रामा भएको छ । यी तेलहरू कुल ७७ लाख ८ हजार ९ सय ३० लिटर निर्यात भएका छन्, जसको मूल्य १ अर्ब ५४ करोड २५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
यो तेल भने भारत बाहेकका केही देशमा पनि पुगेको छ । यसमध्ये सबैभन्दा धेरै भारतमै गएको छ भने बंगलादेशमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको ३९ हजार ६ सय ७६ लिटर निर्यात भएको छ ।
निकै थोरै मात्रामा (नमुनाका रूपमा) अष्ट्रेलियामा ३ सय १२ लिटर, अमेरिकामा ५ सय ३८ लिटर र बेलायतमा २०० लिटर तोरी/क्यानोला प्रजातिको तेल निर्यात भएको छ ।
औद्योगिक प्रयोजनमा आउने हाइड्रोजनेटेड वनस्पति बोसोको निर्यातबाट पनि नेपालले राम्रो रकम भित्र्याएको छ । कुल ३० लाख १३ हजार ८ सय ५९ लिटर यस्तो बोसो निर्यात हुँदा ९३ करोड ९६ लाख ७५ हजार रुपैयाँ आर्जन भएको छ ।
यो बोसोमध्ये २५ लिटर बेलायत गएको छ भने बाँकी सम्पूर्ण ३० लाख लिटरभन्दा बढी परिमाण भारत नै निर्यात भएको छ । यसबाहेक अन्य फिक्स्ड भेजिटेबल फ्याटबाट करिब ७ करोड ४९ लाख र अन्य तेलजन्य उत्पादनबाट करिब १ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
नेपालले दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियाबाट कच्चा तेल ल्याएर स्वदेशमा प्रशोधन गरी भारत निर्यात गर्ने उद्योग फस्टाएको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको खाने तेल निर्यात भएको थियो ।
यसमध्ये ९३ अर्ब ५२ करोड रुपैयाँ बढीको प्रशोधित भटमासको तेल, १ अर्ब ९९ करोड बराबरको पाम तेल, ११ अर्ब ३३ करोड रुपैयाँको सनफ्लावर तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै ८३ करोड बराबरको अन्य तेल निर्यात भएको थियो ।
प्रतिक्रिया 4