१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवशेनमा थप दुई दिन लम्बिँदा खाना खर्च मात्रै झण्डै डेढ करोड बढी थपिने भएको छ ।
रास्वपाको पूर्व निर्धारित तालिका अनुसार काम भएको भए हिजो मंगलबार नै महाधिवेशन सकिनुपर्ने थियो । तर, प्रतिनिधी सम्बन्धी विवाद र अन्य व्यवस्थापकीय कार्य ढिला हुँदा महाधिवेशन भोलिसम्म लम्बिने देखिएको छ ।
देशका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डै ४२ सय जना प्रतिनिधी महाधिवेशनमा आएका छन् । आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमले महाविधेशन लम्बिने भएपछि भोजनको खर्च पनि बढ्ने बताए ।
‘हामीले असार ८ गते र ९ गते दुई दिनका लागि मात्रै खाना खुवाउने व्यवस्था गरेका थियौं तर महाविधेशन लम्बिने देखिएपछि पुनः आज र भोलिका लागि भोजन खुवाउने समय थप गरेका छौं’ संयोजक गौतमले भने, ‘महाधिवेशन लम्बिएपछि थप दिनको क्याटरिङ सेवाका लागि होटलसँग सम्झौता गरेका छौं ।’
रास्वपाको महाविधेशनका लागि खाना र खाजाको व्यवस्थापनको जिम्मा दियालो फूडल्याण्ड क्षेत्रपुर नारायणगढले लिएको छ । रास्वपाले दिएको जानकारी अनुसार सोमबार र मंगलबार झण्डै ६ हजारले खाना खाएका छन् । बुधबार भने ५ हजारले मात्रै खाना खाए ।
महाविधेशन प्रतिनिधी, अन्य अतिथि र सुरक्षाकर्मीसहितले दैनिक खाना खाँदा दिनमा ७५ लाख रकम खर्च हुने संयोजक गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधीहरूलाई बिहान खाजा खाना, दिउँसो चिया र बेलुकाको खानाको व्यवस्था गरिएको छ ।
प्रतिनिधीहरुलाई दैनिक बिहान ७ क्विन्टल खसीको मासु खुवाउने गरिएको छ । महाविधेशनको समय थप भए पनि खसीको मासु भने यथावत नै राखिएको छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था छ ।
दियालो फुडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म ब्रेक फास्ट, विहान १० बजेदेखि २ बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका यथावत राखिएको जानकारी दिए ।
खाना तथा खाजाको व्यवस्थापनका लागि दियालो फुडल्याण्डका मात्रै झण्डै २ सय जना कर्मचारी तथा कामदार परिचालन गरिएको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । महाविधेशनस्थलमा नै खाना पकाउने र खुवाउने व्यवस्था गरिएको छ ।
खाना र खाजाका लागि १५ वटा टेबल स्टल लगाइएका छन् । दुवैतिरबाट खाना लिन मिल्ने बनाइएको छ । जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दही लगायतका परिकार राखिनेछन् ।
हरेक प्रतिनिधीसँग ५ हजार रुपैयाँ अधिवेशन शूल्क उठाएको रास्वपाले पार्टी सभापति रवि लामिछानेले प्रतिनिधीले चाहेमा सो रकम फिर्ता लैजान सक्ने बताएपछि रकम फिर्ता माग्नेहरु पनि छन् ।
बन्दसत्रमा सभापति लामिछानेले प्रतिनिधीहरूले होटल बासको खर्च आफैंले बेहोर्नुपर्ने हुँदा व्ययभार बढेकोले प्रतिनिधी शुल्क फिर्ता लैजान सक्ने बताएका थिए ।
प्रतिक्रिया 4