+
+
Shares

कतारको रास लाफान विस्फोटमा घाइते ५ नेपालीमध्ये ३ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:२९

११ असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विस्फोटमा घाइते भएका पाँचै नेपालीलाई सामान्य चोट लागेको थियो । तीमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी दुई जना उपचाररत छन् । उनीहरूको अवस्था पनि खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली दूतावासले घाइते नेपालीहरूसँग नियमित सम्पर्क र समन्वय गरिरहेको जानकारी दिए । उनका अनुसार उपचाररत दुई नेपालीको स्वास्थ्य अवस्था सामान्य छ ।

‘५ जनालाई सामान्य चोट लागेको थियो । उपचारपछि ३ जना डिस्चार्ज भइसके । २ जना उपचाररत हुनुहुन्छ । उहाँहरू पनि खतरामुक्त हुनुहुन्छ । नेपाली दूतावासको नियमित सम्पर्कमा हुनुहुन्छ,’ उनले भने ।

उक्त घटनामा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू घाइते भएका थिए ।

कतारका ऊर्जा मन्त्री साद अल–काबीले सोमबार घटनाबारे जानकारी दिँदै विस्फोट कुनै आक्रमण वा तोडफोडको परिणाम नभई औद्योगिक दुर्घटना भएको बताएका थिए ।

इरान र इजरायल–अमेरिकाबीचको तनावका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामाथि आक्रमण गरेपछि रास लाफान क्षेत्र पनि प्रभावित भएको थियो । त्यसपछि कतारले केही समयका लागि ग्यास उत्पादन स्थगित गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार घटनास्थल आसपासका क्षेत्रमा कार्यरत अन्य नेपाली श्रमिकहरू सुरक्षित रहेका छन् । हालसम्म पाँच जना नेपाली सामान्य घाइते भएको बाहेक थप नेपाली प्रभावित भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?