भीषण गर्मी (हिटवेभ) का कारण फ्रान्सको राजधानी पेरिसका अस्पतालहरूमा बिरामीहरूको चाप अत्यधिक बढेपछि प्रशासनले सार्वजनिक स्थलहरूमा मदिरा सेवन र यसको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ।
अत्यधिक गर्मीका बेला मदिरा सेवनले स्वास्थ्यमा थप जटिलता ल्याउने र अस्पतालहरूमा चाप बढाउने भन्दै प्रशासनले यो कदम चालेको हो।
प्रशासनले जारी गरेको आदेश अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म र पुनः शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानहरूमा बसेर मदिरा पिउन पाइने छैन।
यसैगरी, पसलबाट किनेर साथमा लैजाने (टेकअवे) मदिराको बिक्रीमा पनि शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ७ बजेसम्म र शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ७ बजेसम्म रोक लगाइएको छ। यद्यपि, अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूभित्र भने यो प्रतिबन्ध लागु हुने छैन।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले भीषण गर्मीलाई ध्यानमा राख्दै देशमा सबैभन्दा उच्च तहको स्वास्थ्य चेतावनी (हेल्थ अलर्ट) जारी गरिएको जानकारी दिएका छन्। यो चेतावनीसँगै अस्पतालहरूमा थप स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्था गरिएको छ ताकि जोखिममा रहेका र संवेदनशील नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्।
विगत केही दिनदेखि स्पेन, बेलायत र फ्रान्सलाई पिरोलिरहेको यो हिटवेभ अब पूर्वी युरोपतर्फ अघि बढेको छ। जर्मनी र चेक गणतन्त्रका मौसम विज्ञान विभागहरूले आ-आफ्नो देशमा अत्यधिक गर्मीको चेतावनी जारी गरेका छन्।
जर्मनीमा शुक्रबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ भने चेक गणतन्त्रका अधिकांश भागहरूमा पनि अहिलेसम्मकै उच्च गर्मीको अलर्ट लागु गरिएको छ।
प्रतिक्रिया 4