+

केरलका एक डाइहार्ट फ्यानलाई लियोनेल मेसीको ‘सरप्राइज रिप्लाइ’

२०८३ असार  १२ गते १६:५२ २०८३ असार १२ गते १६:५२

मेसीले यादिलको उक्त पोस्टमा ‘ग्रासियास यादिल’(धन्यवाद यादिल!) भनी कमेन्ट गरेपछि केरलमा यो विषय भाइरल बनेको छ।

१२ असार, काठमाडौं । केरलका एक फुटबल प्रशंसक (फ्यान) यादिल एम इकबालले फुटबल लिजेन्ड लियोनेल मेसीको जन्मदिनमा एउटा भावुक भिडियो पोस्ट गरेपछि मेसीबाटै इन्स्टाग्राममा सिधा रिप्लाइ पाएका छन्।

मेसीले यादिलको उक्त पोस्टमा ‘ग्रासियास यादिल’(धन्यवाद यादिल!) भनी कमेन्ट गरेपछि केरलमा यो विषय भाइरल बनेको छ।

अर्जेन्टिनी स्टार मेसीका कट्टर प्रशंसक रहेका इकबालले मेसीका बारेमा नियमित रूपमा भिडियो कन्टेन्ट बनाउने गर्छन् । र, उनी मेसीका खेलहरू प्रत्यक्ष हेर्न रंगशालासम्मै यात्रा गर्ने गर्छन्।

उनले जुन २४ मा मेसीको ३९औँ जन्मदिनको अवसर पारेर उक्त भिडियो अपलोड गरेका थिए। भिडियो क्लिपमा इकबाल मेसीको एउटा विशाल भित्तेचित्र अगाडि उभिएर स्पेनिस भाषामा जन्मदिनको शुभकामना दिइरहेको देखिन्छन्।

भिडियोमा उनले भनेका छन्, ‘जन्मदिनको शुभकामना लियो। भारतको केरलबाट तपाईंलाई धेरै धेरै माया। तपाईंको सबैभन्दा ठूलो प्रशंसकमध्ये एक हुनुको नाताले, माराकाना रंगशालामा २०२१ को कोपा अमेरिकामा हाम्रो ऐतिहासिक जितपछि मैले मेरो गृहनगर केरलको कोडुङ्गालुरमा यो भित्तेचित्र बनाएको थिएँ।’

उनले अगाडि भनेका छन्, ‘कतार विश्वकपमा हाम्रो ऐतिहासिक जितपछि मैले तपाईंको एउटा सालिक पनि बनाएको छु। मलाई आशा छ कि एक दिन तपाईंले आफ्नो सम्मानमा मैले बनाएका यी सबै चीजहरू देख्नुहुनेछ। मलाई चिन्नुहुनेछ । र, तपाईंको लागि मैले दिएको यो सम्मान हेर्नुहुनेछ। तपाईंको सबैभन्दा ठूलो फ्यानमध्ये एक भएकाले यो मेरा लागि संसारकै सबैभन्दा ठूलो कुरा हुनेछ।’

इकबालले मेसीलाई ‘संसारकै सम्पूर्ण खुसी’ को कामना गर्दै भिडियोको अन्त्य गरेका छन् । पोस्टको क्याप्सनमा पुनः एकपटक जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।

यस भिडियोले हालसम्म इन्स्टाग्राममा ६० लाख भन्दा बढी भ्यूज पार गरिसकेको छ । प्रशंसकहरूले कमेन्ट सेक्सनमा यस संवादको उत्सव मनाइरहेका छन्।

भिडियो सार्वजनिक भएपछि र मेसी स्वयंले त्यसमा प्रतिक्रिया जनाएपछि सामाजिक सञ्जालमा बधाई र खुसीयालीको बाढी नै आएको छ। एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनीहरू हाँसे, तिमीलाई जिस्क्याए र तिम्रो क्षमतामा शङ्का गरे। तर आज मेसी आफैँले तिम्रो पोस्टमा कमेन्ट गरेका छन्। जब समर्पण र इच्छाशक्ति रोकिँदैन, तब सपनाहरू पक्कै पूरा हुन्छन्। तिम्रो लागि धेरै खुसी लागेको छ भाइ, कस्तो सुनौलो पल!’

अर्का एक प्रशंसकले कमेन्ट गर्दै लेखेका छन्, ‘तिमी जुनसुकै भाषामा बोल, एक अर्जेन्टिनी प्रशंसकले त्यो भावना पक्कै बुझ्नेछ। तिम्रो इच्छा पूरा होस्। यो दृष्य हेरेपछि हामी सम्पूर्ण मलयलीहरूलाई गर्वको अनुभूति भइरहेको छ।’

अन्य थुप्रै प्रयोगकर्ताहरूले मेसीको यो रिप्लाइप्रति आश्चर्य र खुसी व्यक्त गरेका छन् भने धेरैले कमेन्ट बक्समा अर्जेन्टिनाको झण्डा र हर्टको इमोजी राखेर आफ्नो माया दर्साएका छन्।

मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय