+
+
Shares

शेख हसिनाको घोषणा – यसै वर्ष बंगलादेश फर्किन्छु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मृत्युदण्डको सजाय पाएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सबै षड्यन्त्र पार गर्दै यसै वर्ष आफू स्वदेश फर्किने घोषणा गरेकी छन् ।
  • भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ, जसलाई दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधारको रूपमा लिइएको छ ।
  • सन् २०२४ को आन्दोलनपछि भारतमा रहेकी हसिनाले आफूविरुद्धको फैसला राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताएकी छन् ।

१५ असार, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् ।

मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश सरकारले ‘फरार’ घोषित गरेकी ७८ वर्षीया हसिना सन् २०२४ को अगस्टको आन्दोलनपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । त्यतिबेला विद्यार्थी नेतृत्वको जनआन्दोलनले उनको १५ वर्ष लामो शासनको अन्त्य गरेको थियो ।

देश छाडेपछि उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् । यस वर्ष जनवरीमा नयाँदिल्लीस्थित प्रेस क्लबबाट प्रसारण गरिएको एक सम्बोधनबाहेक उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताइन् । उनले आफ्नो विरुद्धको फैसला गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन् ।

उनले भनिन्, ‘मेरो विरुद्ध धेरै षड्यन्त्र रचिए । तर हरेक षड्यन्त्रलाई पराजित गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको अभूतपूर्व विकासका लागि काम गरेँ ।’

‘मृत्युदण्डबाट डर छैन’

मृत्युदण्डको सजाय हुँदाहुँदै पनि बंगलादेश फर्किने वा नफर्किने भन्ने प्रश्नमा हसिनाले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किनेछु ।’

गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हसिनालाई हिंसामा उक्साएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

यसबीच उनको दल अवामी लिग माथि पनि प्रतिबन्ध लगाइएको छ । एक समय बंगलादेशको सबैभन्दा लोकप्रिय राजनीतिक दलमध्ये गनिने अवामी लिग अहिले कानुनी प्रतिबन्धको सामना गरिरहेको छ ।

भारत–बंगलादेश सम्बन्धमा सुधार

पछिल्ला दुई वर्षमा भारत र बंगलादेशबीचको सम्बन्धमा उल्लेखनीय उतारचढाव आएको छ । विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्युत भई भारत पुगेपछि दुई देशबीच तनाव बढेको थियो । त्यसयता बंगलादेशले पटक–पटक हसिनाको प्रत्यर्पणको माग गर्दै आएको छ ।

तर सन् २०२६ को फेब्रुअरीमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमानको दलले स्पष्ट बहुमत हासिल गरेपछि दुई देशबीचको सम्बन्धमा सुधार देखिएको छ ।

नयाँ सरकार गठनसँगै द्विपक्षीय संवादले गति लिएको छ । यसै महिनादेखि भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा पुन: जारी गर्ने निर्णय गरेको छ ।

ढाकास्थित भारतका नयाँ उच्चायुक्त दिनेश त्रिवेदीले जुन २५ मा पर्यटक भिसा प्रक्रिया जुन २८ देखि पुन: सुरु हुने जानकारी दिएका थिए । उनले भने, ‘यसबाट हाम्रा दुई सार्वभौम देशका नागरिकबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरेका छौं ।’

यसअघि भारतले उपचारका लागि भिसा जारी गर्न पनि पुन: सुरु गरिसकेको थियो ।

सीमा र आप्रवासनका विषय अझै संवेदनशील

भारत र बंगलादेशबीच करिब ४ हजार ९६ किलोमिटर लामो स्थल सीमा रहेको छ । दुई देशबीच ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहे पनि केही विषयमा मतभेद कायम छन् ।

विशेषगरी सीमा पार हुने अवैध आप्रवासनको विषय दुई देशबीचको प्रमुख विवादका रूपमा रहेको छ । भारतले अवैध आप्रवासी ठहर गरेका व्यक्तिहरूलाई बंगलादेश फर्काउने गरेको छ, जसले बेला–बेलामा दुई देशबीच तनाव सिर्जना गर्ने गरेको छ ।

यस्तो अवस्थामा शेख हसिनाले सार्वजनिक रूपमा स्वदेश फर्किने घोषणा गर्नु र भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा पुन: सञ्चालन गर्ने निर्णयलाई दक्षिण एसियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धका दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?